Comments Add Comment

घुँडा खिइने समस्याः यी हुन् कारण र उपचार विधि

Knee-Pain

काठमाडौं । घुँडा मानव शरीरको अत्यन्त महत्वपूर्ण जोर्नी हो । हिँडडुल गर्दा, दौड्दा, फुटबल-भलिबल लगायतका खेल खेल्दा, पलेटी मारेर भुइँमा बस्दा, दिसापिसाब गर्न बस्दा घुँडा नै बढी चल्दछ । त्यसैले यदि घुँडामा कुनै समस्या आयो वा दुख्यो भने हाम्रो दैनिकी नै प्रभावित हुन्छ ।

शरीरका अरु चल्ने जोर्नीहरूमा जस्तै घुँडाको जोर्नीभित्र पनि एक प्रकारको नरम चिप्लो पदार्थ हुन्छ । यसलाई ‘कार्टिलेज’ भनिन्छ । त्यस्तै जोर्नीभित्र निश्चित मात्रामा एक प्रकारको तरल पदार्थ पनि हुन्छ, जसलाई ‘साइनोभियल फ्लुड’ भनिन्छ । ‘कार्टिलेज’ र ‘साइनोभियल फ्लुड’को मद्दतले घुँडालाई हिँडडुल गर्ने बेलामा घर्षण हुनबाट बचाउनुका साथै राम्रोसँग घुँडा चलाउन मद्दत गर्छ । कुनै पनि कारणले घुँडाको ‘कार्टिलेज’ रगडिएर पातलो हुने अवस्थालाई हामी सरलरुपमा बुझ्न घुँडा खिइएको भन्छौं ।

किन खिइन्छ घुँडा ?

घुँडा खिइनु एउटा प्राकृतिक प्रक्रिया हो । जुन विभिन्न कारणले गर्दा तिब्र हुन्छ । घुँडा खिइनुमा उमेर प्रमुख कारण भए पनि युवावस्थाका मानिसहरु पनि यो समस्याबाट पीडित भएको पाइन्छ ।

घुँडा खिइनु कसैकसैमा वशांणुगत समस्या हुन्छ । यसैगरी चोटपटक लाग्यो भने, धेरै शारिरीक परिश्रम गर्‍यो भने र शरीरको तौल अत्यधिक बढ्यो भने पनि घुँडा खिइने गर्दछ ।

प्रायः यो रोग ४५ वर्ष उमेर कटेपछि देखिन्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा यो रोग बढी देखिने गर्छ ।

लक्षणहरु

अव्यवस्थित खानपान, पोषणयुक्त खानाको कमी, चोटपटक लाग्नु वा हड्डी भाँचिनु र हड्डी सम्बन्धी रोगले पनि घुँडा खिइन्छ ।

घुँडा खिइँदा असाध्यै दुख्छ । घुँडाको दुखाई नै यसको प्रमुख लक्षण हो । साथै घुँडा बांगो देखिनु, खुट्टा सुन्निनु, जोर्नी कडा हुनु, घुँडा चलाउँदा दुख्नु, बसेपछि उठ्न नसक्नु, भर्‍याङ उक्लिँदा-ओर्लिंदा समस्या हुनु, टुक्रुक्क बस्दा, पलेटी कसेर बस्दा र ओरालो झर्दा कठीन हुनु यसका लक्षण हुन् ।

रोगको पहिचान

घुँडा दुख्नासाथ धेरै मानिसहरुले युरिक एसिड बढ्यो कि भनेर सोध्ने गर्छन् । हो, युरिक एसिड बढ्यो भने पनि घुँडा लगायतका जोर्नी दुख्ने गर्दछ । त्यसैले घुँडा दुख्नासाथ वास्तविक कारण पत्ता लगाउन विशेषज्ञ चिकित्सकलाई जँचाउनु नै उपयुक्त हुन्छ ।

घुँडा खिइए वा नखिइएको पत्ता लगाउन एक्स-रे गरेर हेर्न सकिन्छ । एक्सरेमा जोर्नीको भाग कम भएको देख्न सकिन्छ र ओस्टोफाइट विकास भएको पनि देख्न सकिन्छ ।

उपचार विधि

धेरै दुख्यो भने एक-दुई हप्तासम्म एन्टी इन्फ्लामेटरी औषधि सेवन गर्न सकिन्छ । तर, लगातार यस्तो औषधि सेवन गर्दा शरीरलाई उल्टो हानी पुग्छ । चिकित्सकको सल्लाहविना लामो समय यस्तो औषधि खाँदा मिर्गौला फेल हुने र ग्यास्ट्रिक बढ्ने लगायतका समस्या हुन्छ ।

यसको उपचार खास गरी फिजियोथेरापी, औषधि सेवन र शल्यक्रिया गरी तीन प्रकारले गर्न सकिन्छ ।

यदि शल्यक्रिया नै गर्नुपरेमा-आर्थोस्कोपी, ओस्टियोटोमी र घुँडाको मर्मत, जसलाई आर्थोप्लाष्टी भनिन्छ, पनि गर्न सकिन्छ । अस्पतालहरूमा घुँडाको प्रत्यारोपण पनि हुन्छ ।

यी कुरा पनि ख्याल गर्नुस्

घुँडाको दुखाई छ भने आराम गर्नुपर्दछ । शरीरको तौल बढ्नाले घुँडा दुख्ने समस्या हुने भएकाले तौल घटाउनु पर्दछ । त्यसबाहेक नियमित व्यायाम गर्नुपर्दछ । व्यायामले घुँडाको वरिपरिको मांसपेशीलाई बलियो बनाउने र दुखाई कम गराउँछ ।

यसका साथै कमोड ट्वाइलेटको प्रयोग गर्ने । साथै चिसोबाट बँच्न घुँडाको क्याप र घुँडाको ब्रेसेसहरु लगाउनुपर्दछ ।

(भुसाल एभरेष्ट अस्पतालका फिजियो थेरापिष्ट हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment