Comments Add Comment

थ्रीस्टार बोर्डोलोई ट्रफीको दोस्रो चरणमा

८ असोज, काठमाडौं । भारतीय टोली आयल इन्डिया फुटबल क्लबसँग बराबरी खेल्दै थ्रीस्टार क्लब बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ ।

भारतको गुवाहाटीमा जारी प्रतियोगितामा नेपाली राष्ट्रिय लिग विजेता थ्रीटारले लिग चरणको दोस्रो खेलमा घरेलु क्लबसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

थ्रीस्टारका लागि विजय गुरुङले खेलको अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । उनले खेल सकिनै लाग्दा सुनिलको पासमा गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अन्त्यतिर दोहोरो पहेँलो कार्ड खाँदै डिफेन्डर विजय धिमाल मैदान बाहिरिएपछि थ्रीस्टारले बाँकी खेल १० खेलाडीमा सीमित भएर खेलेको थियो ।

दोस्रो हाफमा विमल घर्ती मगरको स्थानमा मैदान छिरेका विजयले थ्रीस्टारका लागि गोल गर्न सफल भए र टोलीलाई हारबाट जोगाए । खेलमा अग्रता भने आयल इन्डियाले सुरुमै सातौँ मिनेटमा नै नवीन राभाको गोलबाट लिएको थियो ।

बराबरीपछि थ्रीस्टार दुई खेलबाट चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा स्पष्ट जित निकाल्न सफल भएको थ्रीस्टारले तीन अङ्क जोडेको थियो भने यो बराबरीले चार अङ्क भएको हो ।

समान अङ्क भए पनि सिलोङ लाजोङ गोल अन्तरका आधारमा समूह ‘ए’को शीर्षस्थानमा छ । आइतबार हुने थ्रीस्टार र सिलोङ लाजोङबीचको अन्तिम खेलले समूह विजेता टोली टुङ्गो लगाउने छ । आयल इन्डिया २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment