Comments Add Comment

लिड म्यानको अथक अभियान

venkateshडा. वेनकटेश थुप्पिल हुनलाई चिकित्सा क्षेत्रमै समर्पित छन् । उनी भारतका गिनेचुनेका चिकित्सक मानिन्छन् । तर, उनी बिरामीको नाडी छामेर बस्ने चिकित्सकमा पर्दैनन् । दिनको १५/२० जना बिरामीलाई जाँच्ने कामभन्दा उनको बढ्दा समय बहुसंख्यक मानिसलाई घातक रसायनबाट कसरी जोगाउने भन्ने चिन्तन-मननमै बित्छ ।

दुई दशकयता उनी मानव स्वास्थ्यको लागि हानिकारक मानिने रसायन लिड विरुद्धको अभियानमा जुटिरहेका छन् । यही अभियानबाट उनको परिचय नै बनेको छ, ‘लिड म्यान अफ इन्डिया’ ।

लिड विरुद्ध थुप्पिलले थालेको अभियानको कुरा गर्दा सन् १९९५ तिर फर्कनुपर्ने हुन्छ । जतिबेला भारतमा लिडबारे जानकारी त थियो, तर सिंगो देशलाई लिडरहित बनाउन कसरी काम थाल्ने भन्ने कुनै स्रोत-साधन थिएन ।

एउटा सम्मेलनका क्रममा काठमाडौं आएका बेला भेटिएका उनै लिड म्यान आफ्नो अभियानको थालनीबारे हामीलाई बताउँदै थिए ।

‘कुनै उपाय नभएको बेला हामीले एउटा संस्थाबाट लिड मापनको लागि आवश्यक सामान पायौं,’ थुप्पिलले बताए, ‘त्यसैबाट हामीले काम अघि बढायौं ।’

त्यसबेला डा. थुप्पिल सेन्ट जर्ज मेडिकल कलेजमा वायो केमेस्ट्री डिपार्टमेन्टको हेड तथा प्रोफेसर थिए । अमेरिकामा पिएचडी गरेर उतै सफ्टवेयर कम्पनी सञ्चालन गरिरहेका भारतीय मूलका एब्राहिम जर्ज नामक व्यक्तिले उनीसँगको भेटमा लिडको बारेमा सोधेका रहेछन् ।

भारतको शहरी क्षेत्रमा बसोबास गर्ने मानिसको रगतमा लिडको मात्रा र खासगरी बालबालिकामा यसको असरबारे कहीँ अध्ययन भए-नभएको उनको जिज्ञासा थियो । जर्जले भारतमा धेरै थरीका पेट्रोल पाइन्छन्, जसमा ‘लिडेड’ पेट्रोलको मात्रा अधिक पाइनेबारे अहिलेसम्म कतै अध्ययन भएको छ कि छैन भनेर पनि सोधे ।

थुप्पिलले प्रतिप्रश्न गरे, ‘किन सोधेको ?’

जर्जले बताए, ‘रगतमा लिडको मात्रा बढी भएमा त्यसले बालबालिकाको मस्तिष्कमा असर गर्दै बौद्धिक क्षमता घटाउँदै लैजान्छ ।’

थुप्पिललाई लिड र त्यसले पार्ने गहिरो असरबारे पूरै जानकारी त थियो । तर, उपकरणको अभावमा अध्ययन हुन नसकेकोले उनले त्यसबेला जर्जले खोजेको कुनै तथ्यांक दिन सकेनन् । बरु आफ्नो कुरा राखे, कसैले सहयोग गर्छ भने म यसबारे विस्तृत अध्ययन गर्छु ।

त्यही मेसोमा जर्जले ‘द जर्ज फाउण्डेशन’ मार्फत रकमको व्यवस्था गर्दै लिड जाँचको लागि आवश्यक सामानको व्यवस्था मिलाइदिएका थिए ।

000

लिडको असरबारे डा. थुप्पिलले भारतमा सन् १९९८ मा विस्तृत अध्ययन सुरु गरे । उनको समूहले मुम्बई, दिल्ली, कोलकाता, चेन्नई, बैंगलोर लगायत सात मेट्रो एरियाहरुमा सबै मानिसको रगतमा लिडको मात्रा मापन गर्न थाल्यो ।

लिडको कारण बालबालिकाको बौद्धिक क्षमता घट्दै गएको छ

एक वर्षसम्म अध्ययन जारी रहँदा त्यसलाई गोप्य नै राखियो । उनले सम्झिए, ‘तर, जब हामीले यसको नतिजा हेर्‍यौं, म छक्क परेँ । १२ वर्षमुनिका बालबालिकामध्ये ५३ प्रतिशतको रगतमा लिडको मात्रा अत्यधिक पाइयो ।’

भारत सरकारले त्यतिबेलासम्म लिड र यसले पार्ने घातक प्रभावबारे खासै चासो दिएको थिएन । तर, त्यो तथ्यांक देखेपछि सरकारी अधिकारीहरु समेत अब के गर्ने भन्ने सोच्न बाध्य भए । त्यही बेलादेखि थुप्पिलको ‘लिड’ अभियानले व्यापकता लियो ।

000

लिडको अध्ययन गरिरहेकै समयमा भएको एउटा घटनाले थुप्पिललाई निकै मर्माहत बनायो । त्यसले लिडको अभियानमा मरिमेटेर लागिरहन उनलाई प्रेरणा पनि दियो ।

त्यो घटना उनको मगजमा चित्र जसरी छापिएर बसेको छ ।

एक दिन एक दम्पती आफ्नी तीन महिने छोरी लिएर उनको कार्यालयमा आए । छोरी बिरामी थिइन् । हेर्दा निकै आकर्षक र प्यारी ती बालिकाको रगतमा लिडको विषादी रहेको उनका कर्मचारीले आशंका गरेका थिए ।

उनले बाबु-आमासँग सोधपुछ गरे । त्यस क्रममा थाहा भयो, बाबु चाहिँ दिनभर ब्याट्री सम्बन्धी फ्याक्ट्रीमा काम गर्नुका साथै बाथरुमको लागि पाइप जडान समेत गर्दा रहेछन् ।

त्यही कामबाट केही पैसा जोहो गरेर उनले बिहे गरेका थिए । केही समयपछि उनकी पत्नी  गर्भवती भइन् । उनी घरकै एउटा कुनामा ब्याट्री तोड्ने काम गर्थे भने अर्को कुनामा गर्भवती पत्नी खाना पकाइरहेकी हुन्थिन् । त्यही क्रममा पत्नीले श्वासमार्फत ग्रहण गरिरहेको लिड शरीरभरि फैलिएछ ।

थुप्पिल भन्छन्, ‘लिडलाई केही कुराले पनि छेकबार लगाउँदैन । रगतको माध्यमबाट पाठेघरको भ्रुण होस् या दिमाग, जता पनि पुग्न सक्छ ।’

गर्भावस्थामै बालिकाको शरीर र दिमागमा लिड फैलिसकेको थियो ।

छोरी बिरामी भएपछि अस्पताल पुगेका दम्पती त्यहाँ केही उपाय नचलेपछि थुप्पिलको शरणमा पुगेका रहेछन् । उनीहरु यति गरिब देखिन्थे, उनीहरुको गोडामा एकजोर चप्पल समेत थिएन ।

डा. थुप्पिलले बालिकालाई हातमा लिए । एक कर्मचारीले उनको रगत ताने । मुस्कुराइरहेकी बालिका रगत तान्दा चुइँक्क समेत गरिनन् ।

ती दम्पती जाँच्नको लागि कति समय लाग्छ भनेर सोधिरहेका थिए ।

उनले जवाफ दिए, ‘पाँच मिनेट ।’ रगतको रिपोर्ट आउँदै थियो ।   तर, त्यति नै बेला उनको हातमा भूकम्पको झट्का जस्तो महसुस भयो ।

‘एकैछिन चलमलाएर बालिका मुढा जस्तै शान्त भइन् । बच्चा जिउँदै छ भन्नेमा शंका लागेपछि मैले चिकित्सक र नर्सलाई बोलाएँ । उनीहरुले बालिका मरिसकेको जानकारी दिए ।’

हातमै प्राण त्यागिसकेको बालिका बोकेरका उनले आँसु थाम्नै सकेनन् । बालिकाको रिपोर्ट आयो । सय मिलिमिटर रगतमा लिडको मात्रा झण्डै १६ माइक्रो ग्राम देखियो । त्यसबेला रगतमा लिडको मात्रा प्रति डेसिलिटर दश माइक्रोग्राम हुनुपर्छ भन्ने मान्यता थियो । त्योभन्दा माथिको संख्याले बालबालिकाको बौद्धिक क्षमता ६ देखि ८ युनिटसम्म घटाउँदै लगेको थियो ।

बालिकाका बाबु अझै पनि उनीसँग सोध्दै थिए, ‘अब त रिपोर्ट पनि आयो । मेरो छोरीलाई ठीक छ होइन ?’

बोल्न गाह्रो भएका उनले सकीनसकी यति मात्र जवाफ दिए, ‘अब यो बच्चीलाई कुनै समस्या हुने छैन, किनकि ऊ अब यो संसारमा छैन ।’

उनले बालिकाको शव अभिभावकलाई दिन पनि सकेनन्,  न त तल टेबलमै राख्न सके ।

त्यो समय सम्झँदै डा. थुप्पिल भन्छन्, ‘त्यो निकै मुश्किलको घडी थियो । असाध्यै !’

एकछिनमा अभिभावकहरु त्यहीँ रोइकराइ गर्न थाले ।

त्यतिबेला उनलाई बिझायो, बाबु ब्याट्री फ्याक्ट्रीका मजदुर हुनु र उनीहरुको कोखबाट जन्म लिनु नै त्यो बालिकाको गल्ती थियो त ?

त्यो रात उनले खाना खान सकेनन् । आफ्नै आँखाअघि आफ्नै हातमा एउटी अबोध बालिकाले प्राण त्यागेको क्षणले उनको मथिङ्गल बिथोलिरह्यो ।

‘अहिले विश्वका करोडौं मानिस लिडको चपेटामा परिरहेका छन् । त्यो उनीहरुको आफ्नो कारणले होइन,’ उनी बताउँछन्, ‘किनकि अझै पनि मानिसहरुलाई लिड के हो र यसले कस्तो असर पुर्‍याउँछ भनेर थाहा छैन ।’

000

लिडको कारण बालबालिकाको बौद्धिक क्षमता घट्दै गएकोमा उनी निकै चिन्तित छन् । भारत जस्तो तीव्र गतिमा विकास भइरहेका देशमा बालबालिकाको बौद्धिक क्षमता घट्दै जाँदा यो चिन्ताजनक स्थितिलाई उनले सबैसामु उजागर गर्ने सोचे ।

बैगलौरमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा एउटा स्लाइडमार्फत यो चित्र उनको समूहले प्रस्तुत गरेको थियो । जुन देखेर विश्व नै चकित बन्यो ।

लिडको दुष्प्रभाव देखेर दुनियाँले जिब्रो टोके पनि भारत सरकार अझै पनि गम्भीर बनेको थिएन । चिन्ताजनक तथ्यांक देखेपछि सरकारी अधिकारीहरुमा तातो लाग्यो ।

उनीहरुले के गर्ने भनेपछि थुप्पिलको समूहले यो मौकालाई सदुपयोग गर्दै अब लिडरहित पेट्रोल प्रयोगमा ल्याउन आग्रह गर्‍यो । युरोप, अमेरिका लगायत देशहरुले लिडरहित पेट्रोल पहिले नै प्रयोगमा ल्याउन थालिसकेका थिए ।

तर विडम्बनाको कुरा, त्यति भन्दा पनि सरकारका मान्छेहरुले कुनै अग्रसरता देखाएनन् ।

‘त्यसपछि हामी विश्व बैंक गयौं र भारत, बंगलादेश, नेपाल जस्ता दक्षिण एसियाली मुलुकहरुलाई सन् २००३ सम्ममा लिडरहित पेट्रोल आयात नगरे त्यस्ता देशलाई अनुदान नदिने भन्दै पत्र लेख्न आग्रह गर्‍यौं ।’

अन्तत: त्यो कदमले काम गर्‍यो ।

लगत्तै सन् २००० मार्चदेखि भारतका सबै शहरका पेट्रोलपम्पहरुमा लिडरहित पेट्रोल राखिन थाल्यो । भारतमा ‘लिड’ विरुद्धको अभियानले सार्थकता पाएको त्यो उल्लेखनीय काम थियो ।

लिड म्यानले लिडको रोकथामका लागि अरु पनि धेरै कार्यक्रम गर्दै आएको छ । तर, समस्या अझै पनि हटेको थिएन ।

यस्तो अवस्थामा समाधानको के उपाय हुन सक्छ ?

डा. थुप्पिल बताउँछन्, ‘मुख्य कुरा जनचेतना नै हो । यो पूरै रोकथाम गर्न सकिने समस्या भएकोले मानिसहरुलाई लिड भएको सामान प्रयोग नगर्न सचेत गराउँदै अघि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment