Comments Add Comment

देउवालाई पौडेल पक्षको प्रश्न- संविधान संशोधनमा पार्टीको धारणा के हो ?

तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग

Sher Bahadur Deuba and Ramchandra Paudel 2

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ ।

संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनबारे पार्टीको आधिकारिक धारणा तय गर्न भन्दै पौडेल पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको हो ।

आइतबार अनामनगरमा पौडेल पक्षका नेताहरुको छुट्टै बैठक बसेको थियो । बैठकमा सहभागी केही पदाधिकारी र केन्द्रीय सदस्यहरुले संविधान संशोधनको बहस चलिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा मौन बसेको भन्दै असन्तुष्टि जनाएका थिए ।

बैठकमा सहभागी नेता जीबन परियारले संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताए ।
यसैगरी नेता बलबहादुर केसीले संविधान संशोधनबारे पार्टीलाई आधिकारिक कुनै जानकारी नभएकाले त्यसबारे पार्टीको धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निष्कर्ष निकालेको बताए ।

स्थानीय निकायको पुनःसंरचनाबारे शीर्ष नेताहरुको धारणा नै फरक-फरक आउँदा कार्यकर्ताहरुमा अन्यौल सिर्जना भएकाले पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने धारणा राखेका थिए ।

बैठकमा नेता पौडेलसहित, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष एवम् शान्ति मन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. रामशरण महत, पूर्वप्रवक्ता दीलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुंगाना, डा. मीनेन्द्र रिजाल, महेश आचार्य लगायत नेताहरुको उपस्थित थियो ।

बैठकमा आसन्न तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने राज्यमन्त्रीको छनोटलगायत विषयमा समेत छलफल भएको थियो । बैठकमा सहभागी अधिकांशले तरुण दलको महाधिवेशनको एक हप्ताअघि नै सबै प्रतिनिधि टुंगो लगाएरमात्र गर्नुपर्ने धारणा राखेका थिए । अन्यथा नेविसंघ र नेपाल महिला संघको महाधिवेशनमा जस्तै विवाद हुने उनीहरुको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment