Comments Add Comment

कविताः लोडसेडिङ लाइन नम्बर एक

 

Milan-Kanchha                      

बाध्यताको चिसो बतासले

म जन्मिएको बस्तीबाट उडाएर

कंक्रिटको जंगलभित्र

मलाई पछारेको दिन पनि निकै घर्किएछ

थाहा छैन मलाई

यो सहरमा कसिंगर भएर

कतिन्जेल चोकचोकमा ठोक्किनुपर्छ !

 

खुशीको यो झिलीमिली बजारमा

खर्चको सवा मिटर चढिरहन्छ

आम्दानीको एमसीबी झरिरहन्छ

आज पनि झ्याप्पै लोडसेडिङ भो

एकोहोरो टोलाइरहेछु साँघुरो बरण्डामा

जीवनको रङ उडेको उदास बटुवा झैं

पर चौर माथिको डाँडामा

नाचिरहेका ताराहरु बेठेगान हेरिरहेछु

हराइरहेछु

कंक्रिटको कालो जंगलभित्र,

म हराइरहेको ठाउँ

लोडसेडिङ लाइन नम्बर एक हो ।

 

कति बस्नु अभावको अँध्यारोभित्र !

प्रश्नै-प्रश्नको चाङ लाग्छ दिमागको दराजभरि

सरकार,

प्रविधि, पैसा, पानी अथवा के नभएर

सधैं लोडसेडिङ हुन्छ यसरी !

 

मलाई थाहा छैन,

कुन प्रविधि र पैसाले बत्ती बल्छ

कुन तार जोडिँदा दिमाग चल्छ

कुन तार चुडिँदा हृदय जल्छ !

अहा म नजान्ने मान्छे

तर, सरकार !

यदि पानीको अभावले

यति लामो लोडसेडिङ भएको हो भने

मलाई थाहा छ,

मेरो आँखाको ठ्याक्कै डिलमुनि इन्टेक बनाउनू !

गहभरि खनेर पेनस्टोक लगाउनू

चलाउनू डोजर मेरो छातीमाथि

पहरो फोरेर बनाउनू पावरहाउस मेरो मुटुमाथि

जलाउनू बत्ती सारा देश नै उज्यालो हुनेगरी

हटाउनू लोडसेडिङ सबैको जिन्दगीभरि !

 

किनकि,

मलाई थाहा छ सरकार !

यसको लाइसेन्स कसैको झोलामा छैन

र,

प्रोजेक्ट सफल हुन नदिने

ब्रिफकेस त्यहाँसम्म आइपुगिसकेको छैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment