Comments Add Comment

सामसुङलाई ऐतिहासिक आर्थिक संकट, स्मार्टफोन बजार धरासायी हुने डर

Samsung--downकुनैबेला एप्पललाई पछारेर संसारकै सवैभन्दा ठूलो मोबाइल कम्पनी बनेको सामसुङ यतिबेला निरन्तर ओराला लाग्ने नियती भोगिरहेको छ ।

सस्तो मूल्यका स्मार्टफोनको बजार छाड्दै एप्पलले आधिपत्य जमाएको पि्रमियम बजारमा केन्दि्रत हुन खोजेको सामसुङ यतिबेला न त पि्रमियम बजारमा स्थापित हुन सकेको छ न त आफ्नो पुरानो आधार बजार अर्थात् सस्तो मूल्यका स्मार्टफोनमै जम्न सकेको छ ।

ग्यालेक्सी एस सिक्स सेरिजको असफलता तथा हालै नोट सेभेनमा पडकिने समस्याले गर्दा सामसुङले उपभोक्ताको बिश्वास त गुमाउँदै गएको छ नै, अर्बौं डलरको ऐतिहासिक संकटसमेत झेलिरहेको छ । जसका कारण सामसुङले बिभिन्न कम्पनीमा रहेको आफ्नो सेयर बिक्रि गर्न थालेको छ ।

आखिर किन र कसरी सामसुङ डरलाग्दो संकटमा होमिन पुग्यो ? बिभिन्न समाचार एजेन्सीले तयार पारेको रिपोर्टमा आधारित यो भावानुवादः

सामसुङले गत अगष्टमा सार्वजनिक गरेको पछिल्लो त्रैमासिक रिपोर्टले लगातार पाचौँ त्रैमासिकमा पनि कम्पनीको मुनाफामा गिरावट आएको देखाएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्षको दोश्रो त्रैमासिकको मुनाफामा ८ प्रतिशतले गिरावट आएको रिपोर्टले देखाउँछ । सामसुङमा सबैभन्दा धेरै गिरावट व्यहोर्नेमा कम्पनीको मोबाइल फोन डिभिजन रह्यो । जसको मुनाफामा ३७.६ प्रतिशतले गिरावट आयो ।

यद्यपि खुसीको कुरा के छ भने मोबाइल व्यवसाय अझैपनि नाफामै छ र यसमा नयाँनयाँ खेलाडीहरुले उपभोक्ताको मन जितेर आफुलाई अब्बल सावित गरिरहेका छन् । सामसुङ भने निरन्तर ओह्रालोतिर अग्रसर छ अनि तेश्रो त्रैमासिकमा मुनाफा अझै घट्ने देखिन्छ ।

पोहोर सालको गिरावटको मुख्य कारकको रुपमा ग्यालेक्सी एस सिक्स एजको आपूर्तिमा देखिएको कठिनाइका साथै आधुनिक स्मार्टफोनको बजार माग पूर्ति गर्न नसकिनु र बजारीकरणको बढ्दो खर्च नै देखिए । मानिसहरु एस सिक्स एजको स्टक सकिँदासमेत बजारमा एस सिक्स खरीद गर्नतर्फ मन गरेनन् । त्यसको साटो उपभोक्ताहरु पर्खिए वा अरु कम्पनीका स्मार्टफोन समेत किने ।

वास्तवमा आधुनिक स्मार्टफोन व्यवसाय संचालन हुने प्रष्ट दुइखाले क्षेत्रहरु म्ाात्र छन् । पहिलो, ठूलो परिमाणमा सस्तो मूल्यका स्मार्टफोन बेच्ने । यसमा लागत र प्रतिफलबीचको अन्तर अर्थात् मुनाफा निकै कम हुन्छ र कम्पनीहरुले स्मार्टफोनको बिक्रिभन्दा पनि अन्य क्षेत्रहरुबाट नाफा आर्जन गर्नु आवश्यक हुन्छ ।

यस्तो सस्तो बजारमा वन प्लस र साओमी मुख्य खेलाडिको रुपमा रहेका छन् । यद्यपि धेरैजसो स्मार्टफोन उत्पादकहरु यहीँ बजार हिस्सामा आफ्नो उपस्थिति जनाइरहेका छन् । हुनत सामसुङसँग पनि यो क्षेत्रलाई सुहाउने विभिन्न थरीका स्मार्टफोन छन् । तथापि उसले पि्रमियम स्मार्टफोन मार्केटमै आफ्नो ध्यान केन्दि्रत गर्ने ध्येय रहेको बताउने गरेको छ ।

यस्तो उच्च मूल्यको पि्रमियम बजारमा उच्च बिक्रि मात्र होइन उच्च मुनाफा पनि रहन्छ । एप्पल यस्तो बजारको सबैभन्दा अग्रस्थानमा छ । सामसुङ पनि त्यहाँ नउक्लिएको होइन तर बजारमा छोटो प्रतिस्थापन चक्र, उपभोक्ताको हातमा पछिल्लो ह्याण्डसेट पेलिहाल्नका लागि प्रत्यक्ष सम्बन्धको अभाव हुनु जस्ता कारणले गर्दा सामसुङलाई खतरनाक कुनामा धकेलेको छ । फलस्वरुप सामसुङले बजार हिस्सा ओगट्ने नाममा सस्तो मूल्यका स्मार्टफोन उत्पादन र बजारीकरणमा लागेर आफ्नो मुनाफाको मूल्य चुकाउनु परेको छ ।

इन्टरनेशनल डाटा कर्पोरेसनको पछिल्लो तथ्यांक अनुसार विश्वको स्मार्टफोन बजारमा बजार हिस्साको हिसाबले सामसुङ पहिलो नम्बरमा कायमै छ । विश्व स्मार्टफोन बजारमा सामसुङको हिस्सा २२ प्रतिशत छ भने एप्पलको १२ प्रतिशत । सन् २०१६ को दोश्रो त्रैमासिकमा ग्यालेक्सी एस सेभेन र सेभेन एजले राम्रो व्यापार गर्न सफल भए । त्यस्तै कम्पनीका जे सिरिजका स्मार्टफोनले पनि राम्रो व्यापार गरे ।

तथापि सामसुङको ठूलो बजारको रुपमा रहेको चीनमा भने यसको हिस्सा खस्किँदो छ । सामसुङका स्मार्टफोनले चिनिया बजारमा स्वेदशी सस्तो मूल्यका स्मार्टफोनहरुसँग तिव्र प्रतिस्पर्धामा पछाडि धकेलिनु परेको छ । यो वर्षको दोश्रो त्रैमासिकको रिपोर्ट अनुसार चिनिया बजारमा सबैभन्दा धेरै बिक्रि हुने टप फाइभ स्मार्टफोन ब्राण्डबाट समेत सामसुङ बाहिरिएको छ । चीनमा दक्षिण कोरियाबाट सामसुङका स्मार्टफोनको निर्यातमा पछिल्लो समयमा उच्च गिरावट आएको छ । एसियाली बजारमा चिनिया सुपथ मूल्यका स्मार्टफोनहरुको बिगबिगीले सामसुङमाथि ठूलो चुनौति थपेको छ र उसलाई बजारमा टिकिराख्न हम्मे हम्मे पारिरहेको छ ।

नोट सेभेनको नयाँ संकट

बजारमा ल्याएको केही दिनमै ब्याट्रीमा समस्या आएर एकाएक ग्यालेक्सी नोट सेभेन पडि्कन थालेसँगै सामसुङले विभिन्न १० देशमा पठाइसकेका २५ लाख बढि स्मार्टफोन फिर्ता लिने घोषणा गर्यो र उपभोक्ताहरुलाई नोट सेभेन प्रयोग नगर्न अपिल गर्यो । यी स्मार्टफोनको मूल्य २ अर्ब डलर बराबर थियो । सामसुङले ग्यालेक्सी नोट सेभेन सार्वजनिक गर्ने दिन सबैभन्दा उच्च विन्दुमा पुगेको कम्पनीको शेयर मूल्यमा ग्यालेक्सी नोट सेभेनको समस्या कालो बादलको रुपमा खडा भयो ।

कम्पनीको यस्तो अपिलसँगै दुइ दिनमै सामसुङ कम्पनीको शेयर मूल्य यस्तो डरलाग्दोगरी घट्यो की यसको कूल बजार मूल्यमा २२ अर्ब डलरले गिरावट आयो । पहिलो दिनमै सामसुङको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट सँगै १३१८ डलरमा झरेको थियो जुन यो वर्षकै उच्च गिरावट हो । समग्रमा १३ प्रतिशतको शेयर गिरावटबाट कम्पनीले १६ टि्रलियन वन घाटा बेहोर्नुपर्यो । सामसुङको शेयर मूल्यमा आएको गिरावटसँगै बेहोरेको यो घाटा सन् २००८ यताकै सबैभन्दा भयानक हो । नोट सेभेनको यो संकटका कारण सामसुङको लगातारको असफलता तथा एप्पलसँगको लडाइँमा ठूलो धक्का लागेको र यसले कम्पनीको यो वर्षको मुनाफामा समेत ठूलो असर पार्ने देखिएको छ ।

samsung-galaxy-note-7ग्यालेक्सी नोट सेभेनमा विस्फोटका घटनासँगै यसलाई विश्वका विभिन्न वायुयान कम्पनीहरुले उडानको बेला यात्रुलाई नोट सेभेन प्रयोग गर्न प्रतिबन्ध लगाइसकेका छन् । अमेरिकामा त न्युजर्सीको स्टोक्टन विश्वविद्यालयले आफ्ना सबै विद्यार्थीहरुलाई इमेल गरेर ग्यालेक्सी नोट सेभेन प्रयोग नगर्न अनुरोध गरिसकेको छ । अमेरिकामा सामसुङको बेइज्जती यत्तिमा मात्र सिमित छैन । न्युयोर्क महानगर यातायात प्राधिकरणले त आफ्ना रेल तथा बसमा यात्रा गर्दा नोट सेभेन चार्ज नगर्न तथा प्रयोग नै नगर्न यात्रुहरुलाई अनुरोध गर्‍यो ।

यस्ता स्क्याण्डलले सामसुङलाई प्रत्यक्ष व्यापारिक घाटा त लागेकै छ यसले कम्पनीलाई दीर्घकालीन रुपमै पिरोल्ने देखिन्छ । सामसुङप्रतिको उपभोक्ताको विश्वास गुम्ने खतरा यसले उब्जाएको छ । सामसुङको यो संकटको फाइदा प्रतिस्पर्धी कम्पनी एप्पलले उठाउने दाउमा छ ।

समस्याग्रस्त नोट सेभेन मर्मत तथा सुधार गरी बजारमा पठाउन सामसुङलाई अझै समय लाग्नेछ र त्यसको फाइदा उठाउँदै एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन सेभेनको अर्डरलाई तिब्र बनाएको छ । एप्पल तथा उसका समर्थकहरुले अहिले सामसुङ विरुद्धको प्रचारबाजीलाई निकै तिब्र बनाएका छन् । नोट सेभेनमा आगो लागेको भन्दै अमेरिकाका विभिन्न ठाउँमा मानिसहरुले सामसुङ विरुद्ध क्षतिपूर्तिको मुद्दा समेत हालिरहेका छन् ।

तथापि सामसुङले अमेरिकामा यसअघि पठाइउका समस्याग्रस्त नोट सेभेन लिनका लागि ५ लाख नयाँ नोट सेभेन अमेरिकी बिक्रेताहरुकहाँ पठाएको जनाएको छ । पूराना समस्याग्रस्त नोट सेभेनका खरीदकर्ताले आफुले सामान किनेको स्टोरमा गएर नयाँ नोट सेेभेन साट्न पाउनेछन् ।

उता अमेरिकी उपभोक्ता उत्पादन सुरक्षा आयोग सिपिएससीले औपचारिक रुपमा ग्यालेक्सी नोट सेभेनको फिर्ती आदेश जारी गरेको छ । सामसुङ कम्पनी आफैले घोषणा गरेको समस्याग्रस्त स्मार्टफोन फिर्ता लिने घोषणा प्रभावकारी नभएको र सबै समस्याग्रस्त स्मार्टफोन फिर्ता लिन नसकेको कारण देखाउँदै उसले औपचारिक रुपमा यस्तो आदेश दिएको छ ।

जस अनुसार अब समस्याग्रस्त तथा जोखिमपूर्ण नोट सेभेनका अमेरिकी खरीदकर्ताले कम्पनीसँग रकम फिर्ता माग्न वा पूरानोको साटो नयाँ नोट सेभेनको माग गर्न सक्नेछन् । यो एकप्रकारको प्रतिबन्ध जस्तै हो । जस अनुसार प्रयोगकर्ताहरुले समस्याग्रस्त नोट सेभेन प्रयोग गर्न पाउँदैनन् । उनीहरुसँग प्रयोग नै नगरी थन्क्याउने, पैसा फिर्ता लिने वा अर्को स्मार्टफोन साट्ने भन्ने मात्र विकल्प रहन्छ ।

उता चिनियाँ बजारमा परीक्षणका लागि पठाइएका नोट सेभेन नपडि्कने विश्वास गरिएको थियो । किनकी चिनियाँ बजारमा पठाइएका नोट सेभेनमा अर्कै कम्पनीको ब्याट्री हालिएको थियो । तर यस्तो अपेक्षा विपरित चीनमा पनि नोट सेभेन विस्फोट भएका घटना सार्वजनिक भएका छन् । यद्यपि सामसुङले चीनमा आधिकारिक रुपमा नोट सेभेन बिक्रि सुरु भने गरेको थिएन ।

सुरु भएकै हो त सामसुङको आर्थिक संकट ?

एकातर्फ बजारमा पठाइसकेका लाखौँ स्मार्टफोन फिर्ता लिँदा झण्डै १ अर्ब डलर नोक्सान हुनु र अर्कोतर्फ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आउँदा सामसुङले एकसाथ ठूलो आर्थिक क्षतिको सामना गर्नुपरेको छ ।

कतिपयले सामसुङले आर्थिक रुपमा निकै अप्ठेरोमा परेको बताएका छन् । यसैबीच सामसुङले विभिन्न चारवटा कम्पनीमा रहेको आफ्नो आंशिक शेयर बेचेको छ । सिगेट कम्पनीबाट ४.२ प्रतिशत, सार्प कम्पनीबाट ०.७ प्रतिशत तथा राम्बस कम्पनीबाट ४.५ प्रतिशत शेयर उसले बिक्रि गरेको छ । त्यस्तै डच कम्पनी एएसएमएलमा रहेको आफ्नो आधा शेयर पनि उसले बेचेको छ । यसरी शेयर बेच्नुको खास कारणबारे सामसुङले बताएको छैन तथापि यसलाई सामसुङको आर्थिक संकटसँग जोडिएको छ । स्मरण रहोस केही दिनअघि मात्र सामसुङले आफ्नो पि्रन्टर व्यवसाय एचपीलाई बेचेको थियो ।

अब के गर्ला सामसुङले ?

नोट सेभेनबाट खाएको धक्कालाई पूर्ति गर्नका लागि सामसुङले ग्यालेक्सी ८ स्मार्टफोन यो वर्ष निर्धारित समयभन्दा अगाडि नै बजारमा ल्याउने अपेक्षा गरिएको छ । पूराना समस्याग्रस्त नोट सेभेनलाई फिर्ता लिने घोषणा गरेको सामसुङले सेप्टेम्बरको अन्त्यबाट नयाँ ग्यालेक्सी नोट सेभेन बजारमा पठाउन सुरु गर्नेछ ।

बजारको ठूलो सम्भावना रहेको भारततर्फ अलिक बढि ध्यान दिने सोच सामसुङले बनाएको देखिन्छ । जस अनुसार उसले भारतीय उपभोक्ताको मनमा रहेको डर हटाउन तथा विश्वास आर्जन गर्न भारतमा अभियान नै संचालन गर्ने योजना बनाएको छ । भारतमा भने अक्टोबर महिनादेखि मात्र नोट सेभेनको बिक्रि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment