Comments Add Comment

प्रचण्डलाई म्यानमार हुँदै बैंकक पुर्‍याउन चाहन्थेंः माधव नेपाल

madhav kumar nepal_

बाह्रबुँदे समझदारी जुन दिल्लीमा भयो, त्यहाँ भारत सरकारको संस्थापन पक्षको वा कसैको पनि संलग्नताको मलाई जानकारी छैन । त्यसको एउटा महत्वपूर्ण पात्र भएको हुनाले र नेकपा एमालेका तर्फबाट मैले प्रतिनिधित्व गर्ने भएको हुनाले आफ्नो कुरा भन्न सकिन्छ । दुई पक्ष (नेपाली कांग्रेस र माओवादी)का बारेमा म भन्न सक्दिनँ । माओवादीका निम्ति प्रचण्ड बाबुरामजीले भन्नुहोला । कांग्रेसका निम्ति गिरिजापछि कृष्णप्रसाद सिटौलाजीले भन्नुहोला । एमालेका बारेमा म भन्छु ।

वामदेवलाई रोल्पा जानोस् भनें

दिल्लीको बैठकको आयोजना गर्नका निम्ति पहल गर्ने व्यक्ति मै हुँ ।

त्यतिबेला भारत सरकारले हामीलाई भारत भ्रमणको निम्तो दिएको थियो । भारत भ्रमणको निम्तामा म, केपी ओली र अमृत बोहोरा तीनजना जाने भएका थियौं । त्यही मौकामा ठ्याक्कै (प्रचण्डसँग) कुरा गर्नुपर्छ भनेर हामी लाग्यौं ।

त्यसभन्दा अघि माओवादीको केन्द्रीय कमिटीको बैठक रोल्पामा चल्दै थियो । उहाँ(प्रचण्ड)ले रोल्पामै वार्ता गर्न मलाई बोलाउनुभयो । मैले भनें, म रोल्पामा वार्तामा जान सक्दिनँ । बरु त्यस्तै हुञ्छ भने म नेपालगञ्जको छेउछाउको गाउँलाई हेर्छु । तर, त्यो पनि जोखिमपूर्ण छ । भूमिगत कुरा छ, ज्ञानेन्द्रको शासन छ । पुलिस छ्यापछ्याप्ती छन् । जासुस घुमिरहेका हुन्छन् । मेरो साथमा सधैंभरि मेरो सेक्युरिटी गार्ड छ । त्यो अवस्थामा नेपालगञ्जमा पनि गाह्रो पर्छ । रोल्पामा त झन गाह्रो छ । सम्भव छैन ।

Bamdev-Gautam-and-Prachanda

प्रचण्डले त्यसोभए कसैलाई पठाइदिनोस् भन्नुभयो । पठाउने भइसकेपछि मैले हाम्रा नेताहरुमध्ये धेरैजनासँग कुराकानी गरें । र, लास्टमा वामदेव कामरेडलाई भनें । वामदेव कामरेड तयार हुनुभयो र भन्नुभयो र म रोल्पा जान्छु । कसरी जाने भन्ने कुराको सन्दर्भमा त्यतिबेला रोल्पामा एमालेको तर्फबाट एउटा आमसभाको तयारी भइरहेको थियो । युवराज ज्ञवाली त्यहाँ रोल्पाको होलेरीमा प्रमुख अतिथि भएर जाने हुनुभएको थियो ।

मैले ज्ञवालीजीलाई फोन गरें र बताएँ कि प्रचण्डहरु, माओवादीसँग वार्ता गर्नुछ । तपाई त्यहाँ होलेरीमा हुनुहुन्छ । वामदेव कामरेडलाई पठाउँछु । वहाँलाई पनि प्रमुख वक्ताका रुपमा राख्नोस् । र, तपाईहरु दुबैजना त्यहाँबाट वार्ता गर्न जानोस् । कसरी वार्ता गर्ने भन्ने बारेमा ठ्याक्कै आमसभा भएको ठाउँमा माओवादीका फलाना नेता, बूढा (सन्तोष बूढा ?) आउनुहुन्छ । ठ्याक्क तपाईहरुलाई पिकअप गर्नुहुन्छ । पिकअप गरेर तपाईहरुलाई गाउँमा लिएर जानुहुन्छ र तपाईहरु त्यहाँ कुराकानी गरेर र्फकनोस् ।

वहाँलाई यसो भनेर पठाइएको थियो । पछि हामी दिल्ली जाने कुरा भइसकेपछि हाम्रोवीचमा कुरा गर्नु महत्वपूर्ण लाग्यो हामीलाई । त्यसपछि मैले प्रचण्डलाई फोन गरें कि अब दिल्लीमै गरौं ।

प्रचण्डलाई म्यानमार हुँदै थाइल्याण्ड लैजाने प्रयास

Madhav-Nepal-and-Prachanda

प्रचण्ड र उहाँको पार्टीसँग कुरा गर्नका लागि मैले धेरै ठाउँमा कोशिश गरें । मैले थाइल्याण्डका उपप्रधानमन्त्रीसँग कुरा गरें । फिलिपिन्सका स्पिकरसँग कुरा गरें । हुँदाहुँदा मैले नर्वेका मन्त्रीसँग कुरा गरें । युरोपका विभिन्न ठाउँका सम्भावनाहरुको खोजी गरें । हुँदाहुँदा यहाँबाट भारतको बाटो हुँदै म्यानमार गएर बैंकक पुग्ने, बैंककमा पिकअप गर्ने र त्यहाँबाट कतै गएर कुरा गर्ने कोसिस गरें । कतै पार लाग्ने भएन । किनभने उहाँहरुलाई एयरपोर्टबाट प्लेनमा जान समस्या । म्यानमारबाट जाने कहाँ हो कहाँ ? मलाई पनि बाटो थाहै थिएन । यो अवस्थामा भारतमा गर्ने भन्ने भयो ।

केरलामा डुंगा चढेर वार्ता गर्ने प्रस्ताव

मैले सीपीआइएमका नेता सीताराम यचुरीलाई फोन गरें । म केरला घुमेको थिएँ । मैले उहाँलाई भनें कि केरलामा समुद्रभित्र पसेको छ । त्यहाँ बोट चल्छ । बोटमा रातभरि यात्रा गर्ने अनि बोटभित्रै कुराकानी गरेको कसैलाई थाहै हुँदैन ।

मैले बोटमै कुराकानी गर्ने भनेपछि सीतारामले ठीक छ भन्नुभयो । पहिले पनि हामीले सीपीआएएमको सहयोगबाट दुईचोटि कुराकानी भएको थियो । त्यही हुनाले यसपटक सीपीआइएमको सहयोग लिऔं र वार्ता गरौं भनेर तयारी गरें ।

तर, प्रचण्डले भन्नुभयो, केरला कहाँ जानु, त्यति टाढा ? त्यसपछि दिल्लीमै वार्ता गर्ने भन्ने भयो । ल दिल्ली आउनोस् न त भन्दाखेरि उहाँ दिल्ली आउन मान्नुभएन । हाम्रो केन्द्रीय कमिटीको बैठक चलिरहेको छ । मैले विज्ञप्ति जारी गर्नुपर्ने छ । ‘अपानि’ जारी गर्नुपर्ने छ । म अहिले आउन भ्याउँदिन । उहाँले यसो भन्नुभयो ।

कांग्रेसलाई पनि साथ लिनुपर्थ्यो

हाम्रो पार्टी एमालेले आन्दोलनको घोषणा गरिसकेको थियो । बुटवलमा मंसिर ४ गते आमसभाको आयोजना छ । त्यहाँ मैले बम पड्काउनुपर्ने छ । बम ब्लाष्ट गर्नुपर्ने छ । त्यो भन्दा अगाडि विभिन्न पक्षसँग कुरा गरेर सबै चिज त तयार गर्नुपर्‍यो नि ।

त्यतिखेर हामी कसैको सहारामा हैन, एमाले एक्लै अगाडि बढ्छ भन्ने संकल्प गरेको थिएँ । कांग्रेस पनि अगाडि बढ्ने अवस्थामा थिएन । कांग्रेसलाई पनि आन्दोलनमा लतार्नुपर्छ भन्ने हाम्रो सोच थियो । यो सबैका लागि माओवादीसँग पहिले नै वार्ता गर्ने सोच राखेको हुनाले मैले पहल लिएँ ।

नारायणकाजी प्रकाशजीसँग पनि मेरो कुराकानी हुन्थ्यो । उहाँले भन्दा पनि (प्रचण्ड) दिल्ली जान तयार हुनुभएन । त्यसपछि उहाँले म आफैं जान्छु, गएर लिएर आउँछु भनेर उहाँ जान तयार हुनुभो ।

 

त्यसपछि हामीसँग खबर आयो कि आउँदैहुनुहुन्छ तपाईहरुसँग कुरा गर्न । यसरी उहाँले मिलाएर, फकाएर बल्लबल्ल प्रचण्डहरुलाई दिल्लीमा ल्याउनुभयो ।

girija-psd-koirala

यति भइसकेपछि हुन्छ त प्रचण्डले भन्नुभयो । तर प्रचण्डमात्रै दिल्ली आएर पुग्दैनथ्यो । गिरिजाबाबु पनि जानुपर्ने । गिरिजाबाबुलाई पनि मैले फोन गरें । दिल्लीमा यस्तो यस्तो कुरा भएको छ । उहाँहरुको पनि अलग-अलग कुरा भरहेको थियो, मेरो पनि कुरा भइरहेको थियो । तर, गिरिजाबाबुले आलटाल आलटाल गर्नुभयो । तर, कांग्रेस, एमाले र माओवादी तीन पक्ष नबसेसम्म यो देशमा गणतन्त्रको आन्दोलन सफल पनि हुन सक्दैनथ्यो । यो सोचेर मैले गिरिजाबाबुलाई भनें । उहाँले ठीक छ, हुन्छ भन्नुभयो । र, हामी दिल्ली गयौं ।

माओवादीलाई पर्खँदा दिल्लीमा कन्तबिजोग

दिल्लीमा गयौं, भारतका सबै नेताहरुसँग वार्ता सकियो । प्रचण्डहरुको अझै अत्तोपत्तो छैन, आउनुहुन्न । अब के गरेर बस्ने होला ? फाइभ स्टार होटलमा राख्या छ । दुई दिन बढी बस्छौं भन्न पनि भएन । पैसा हामीले तिर्न सक्ने कुरा भएन ।

अब के गर्ने त ? हामीलाई आन्ध्रप्रदेश घुम्न मन छ भन्यौं । त्यसपछि हामी हैदारावाद पुग्यौं । त्यहाँको फिल्म सीटी सबै घुम्यौं । घुमफिर गरेर समय बिताइयो, अझै पनि प्रचण्डहरु आउने सुरसार छैन । त्यसपछि कहाँ जाने ? म जयपुर गएँ । जयपुरमा गएर घुमें । सबै गरेर दिल्लीमा आउँछु त उहाँहरु अझै आउनुभएको छैन । हामीलाई त अर्को ७ दिन लाग्छ भन्ने आयो । अब ७ दिनसम्म बस्ने कहाँ दिल्लीमा ?

हामीले भारतीय विदेश मन्त्रालयलाई भनियो, भैगो हामीलाई होटलमा बस्नु छैन । अनि उहाँ(माओवादी)हरुले हामीलाई खबर गर्नुभयो कि हामीले व्यवस्था गरेको होटलमा तपाईहरु बस्नोस्, खर्च हामी व्यहोर्छौं । साहरा सुटकेस बोकेर गइयो त्यो होटलमा । तर, हाम्रो केपी कामरेडलाई त्यो होटल मनै परेन । उहाँ यो कवाडीमा बस्ने काम छैन भनेर सुटकेस लिएर बाहिर निस्कनुभयो । अब अर्को ठाउँमा होटल खोज्दै कहाँ जाने ?

‘मैले त्यहीँबाट सीताराम येचुरीलाई फोन गरें, सीतारामजी हाम्रो त बेहाल भो ।’

‘मैले त्यहीँबाट सीताराम येचुरीलाई फोन गरें । सीतारामजी हाम्रो त बेहाल भो ।’ अब तपाईको बङलभवनमा हामीलाई कोठाको व्यवस्था गरिदिनोस् । त्यसपछि बङ्लभवनमा तुरुन्तै हामीलाई कोठा बुक भयो । पैसा तिरेर हामी त्यहाँ तीन दिनसम्म बस्नुपर्‍यो । तीन दिन भइसक्यो, फेरि पनि प्रचण्डहरु आउँदैनन् । कहाँ जाने त अब ? त्यहीँबाट हामी फेरि सामान लिएर बाहिर निस्कियौं ।

हामी पर्खेर बस्दाबस्दा बल्ल बल्ल उहाँ(प्रचण्ड)हरु आइपुग्नुभयो । र, नोयडाको एउटा कोठामा गएर मजाले खाना खाएको मसँग फोटो छ अहिले पनि । लञ्च गरेपछि त्यहाँ हाम्रो सहमति भयो । त्यहाँ नारायणकाजी कामरेडले पेन्सिलले लेखेर एउटा ड्राफ्ट मस्यौदा पठाउनुभयो । हामीले हेर्‍यौं । त्यसमा हामीलाई चित्त बुझेन । हामीले आफैं तयार गर्‍यौं र टाइप गर्‍यौं । गिरिजाबाबु बल्ल आइपुग्नुभयो । उहाँ एउटा नयाँ खुलेको होटलमा बस्नुभएको थियो, हामी त्यहाँ गयौं । एकप्रति उहाँहरुलाई पठायौं । एकप्रति गिरिजाबाबुलाई दिइयो । गिरिजाबाबुले कृष्ण सिटौलालाई दिनु भो । यहाँ त प्रत्येकलाई आ-आफ्नो ड्राफ्ट चाहिन्छ । सिटौलाले अर्को ड्राफ्ट गर्नुभयो ।

यी सबै ड्राफ्टहरु राखेर हामीले बल्ल बाह्रबुँदे सहमति तयार गरेको हो । प्रवासी नेपालीको कोठामा । त्यो पनि एपोलो हस्पिटलमा बोलाएर बाटोमा हिँडाएको हिँडाएकै यो गल्ली उ गल्ली चाहर्दा चाहार्दा दुई तला भएको कोठामा गइयो । गिरिजाबाबु माथि चढ्न नसक्ने, उहाँलाई भुइँतलाको कोठा चाहिने । फेरि भुइँतला भएको कोठामा खोजेर, त्यहाँ बसेर यी सबै गरेको हो ।

त्यो गरिसकेपछि त्यहाँ छलफलमात्रै गरिएको थियो । त्योभन्दा पहिले ३० गते कात्तिकमा हाम्रो पार्टीको बैठक थियो । तुरुन्तै हामी काठमाडौं आउनुपर्ने । कार्यकर्ता भेटघाट थियो । मैले सम्बोधन गरें । सम्वोधन गरिसकेपछि फेरि हामीले एउटा बाहाना बनायौं । त्यसबेला दिल्ली जान त गाह्रो थियो, राजाको शासन थियो । हामीले के बाहना बनायौं भने हामी उपचारका लागि दिल्ली गएका थियौं, होल बडी चेकअप गराएका थियौं, डाक्टरले त्यसबारे हामीलाई परामर्श गर्न बोलाएको छ भनेर पत्रकारलाई भनेर हामी फेरि दिल्ली गयौं ।

त्यसपछि त्यहाँ बसेर फाइनल ड्राफ्ट तयार गरियो । र के सहमति भयो भने त्यो कागज लिएर काठमाडौं जाने अनि सात दलको बैठकमा सात दलमा सही गराउने अनि त्यही बेला उहाँ(प्रचण्ड)ले दिल्लीमा पनि सही गर्ने । त्यो लिएर यहाँ आएर अनि बल्ल बाह्रबुँदे भयो । त्यहीवीचमा मंसिर ४ मा बुटवलमा हाम्रो आमसभा थियो । ७ गते यहाँ(काठमाडौंमा) बसियो ।

म भन्छु, सम्झौता पछि भएको हो, एमालेको आमसभा पहिले भएको हो । त्यो साउन महिनामै तय गरिसकिएको थियो ।

भारतले ड्राफ्ट गरेको होइन

यी सबै भएको सन्दर्भमा बाह्रबुँदे गर्दा भारत सरकारसँग हामीलाई जोडिएको, यस्तो उस्तो…. यो किन भइरहेको छ, मैले बुझेको छैन ।

कसै कसैले त अझै अगाडि बढेर बाह्रबुँदे मस्यौदा अंग्रेजीमा गरिएको थियो भनेका छन् । बाह्रबुँदे मस्यौदा हिन्दीमा गरिएको थियो, त्यहाँ बस्ने नेताले नेपालीमा अनुवादमात्रै गरेका हुन्…. हाम्रो नारायणमान बिजुक्छेजी भनेको भन्यै हुनुहुन्छ । उहाँको जासुसी सुत्रले त्यो भन्दोरहेछ ।

###

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment