Comments Add Comment

अनसनको कार्यक्रम यथावत छ, सरकारलाई भोलि चार बजेसम्म कुर्छुः डा. केसी

'संसदीय समितिबाट ऐन पारित हुन्छ के ग्यारेन्टी छ ?'

govinda kc (3)

९ असोज, काठमाडौं । डा. गोविन्द केसीले अनसन बस्ने आफ्नो पूर्वनिर्धारित कार्यक्रममा कुनै परिवर्तन नभएको बताएका छन् । सोमबार अपरान्ह चार बजेसम्म पनि सरकारबाट चित्तबुझ्दो जवाफ नआए अनसन सुरु गर्ने केसीले बताए ।

‘अहिलेसम्म सरकारले मसँग औपचारिक छलफल गरेको छैन र मेरो अनसन बस्ने योजना फेरिएको पनि छैन,’ डा. केसीले अनलाइनखबरसँग भने, ‘भोलि चार बजेसम्म कुर्छु ।’

अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने सहितका आफ्ना माग पूरा गर्न डा. केसीले सरकारलाई असोज १० गतेसम्म अल्टिमेटम दिएका थिए । उनले असोज ३ गते नै अनसन बस्ने बताएपनि सरकारले सहमति कार्यान्वयनको चरणमा रहेको भन्दै पत्र लेखेपछि १० गतेसम्म स्थगित भएको थियो ।

के गर्दैछ सरकार ?

डा. केसीले माग गर्दै आएको चिकित्सा शिक्षा ऐनलाई व्यवस्थापिका संसदमा सैद्धान्तिक सहमति दिएको छ र अब सम्वन्धित समितिमा जानेछ ।

यस्तै मेडिकल कलेजहरुको शुल्क निर्धारणका लागि डा. शिवकुमार राईको नेतृत्वमा बनेको समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । समितिले शनिबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

डा. केसीले भने यसबारे आफूलाई औपचारिक जानकारी नभएको बताए । ‘यस्तो कुरा मलाई थाहा छैन । दिनभरि ओटी (अपरेशन)मा थिएँ । साथीहरुसँग साँझ छलफल गर्छु,’ उनले अनलाइनखबरसँग प्रतिप्रश्न गरे, ‘संसदीय समितिबाट ऐनको मस्यौदा पारित हुने के ग्यारेन्टी छ ?’

स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले भने डा. केसीका मागलाई लिएर मन्त्रालय सकारात्मक रहेको बताए । वरिष्ठताका आधारमा आइओएममा डिन नियुक्ति गर्नेबारे स्वास्थ्य मन्त्रीले शिक्षा मन्त्री तथा आईओएमका उपकुलपतिसँग छलफल गरेको र छिट्टै प्रक्रिया सुरु हुने मन्त्रालयले स्रोतले जनाएको छ ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीबारे सर्वोच्च अदालतले मुद्दा व्यूँताएको भन्दै सरकारले यसबारे केही गर्न नसक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment