Comments Add Comment

नेपाली च्याम्पियन थ्रीस्टार बार्डोलोर्इ ट्रफी फुटबलको सेमिफाइनलमा

3-star

१० असोज, काठमाडौं । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले यसअघि एक जित र एक बराबरीका साथ सेमिफाइनल पक्का गरेको थियो । समूह ‘ए’को अन्तिम निर्णायक खेलमा ल्याएको बराबरीको नतिजाले थ्रीस्टारलाई समूह विजेता बनाएको हो ।

उक्त खेल बराबरीले सिलोङ लाजोङलाई पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुर्‍याएको छ ।

एक गोलले पछि परेको अवस्थामा मिडफिल्डर सुनिल बलको फ्रिकिकमा निराजन खड्काले हेड गोल गर्दै थ्रीस्टारलाई समूह बिजेता बनाए । खेलको ७५ औँ मिनेटमा उनले गोल गरेका हुन् ।

खेलमा अग्रता भने २७ औँ मिनेटमा सिलोङ लाजोङले मिलन बासुमातरीको गोलबाट लिएको थियो । रिवाउन्ड भएको बल सरोज दाहालले क्लियर गर्न नसकेपछि सिलोङले खेलमा अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ३३ आैं मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने थ्रीस्टारले अवसर पाएको थियो । तर विमल घर्तीमगर गोल गर्न चुकेपछि थ्रीस्टार पहिलो हाफमै बराबरी गर्नबाट चुकेको थियो ।

थ्रीस्टारले सेमिफाइनलको खेल आगामी बुधबार खेल्नेछ । प्रतिद्वन्द्वीको टुङ्गो आज हुने समूह ‘बी’अन्तर्गतको लिग चरणको अन्तिम खेलले लगाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment