Comments Add Comment

वेपत्ता घिमिरेको खोजीमा गण्डक ब्यारेजसम्म परिचालित हुन प्रधानमन्त्रीको निर्देशन

'बंगलादेशबाट गोताखोर ल्याउन कुटनीतिक पहल गर्छु'

prachanda (6)

१० असोज, काठमाडौं । त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा गण्डक ब्यारेज (भैसालोटन बाँध)सम्म टोली परिचालन गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।

घिमिरेको खोजीकार्यको अवस्थाबारे बुझ्न सोमबार चितवनको घोप्टेभिर पुगेका यातायातमन्त्री रमेश लेखकसँग टेलिफोनमा कुराकानी गर्दै प्रचण्डले सो निर्देशन दिएका हुन् ।

त्रिशुली नदी नारायणी नदीमा मिसिएर नवलपरासीको गण्डक ब्यारेज हुँदै भारतमा पुग्छ । नवलपरासीको त्रिवेणी र भारत बिहारको भैसालोटन जोड्ने भएकाले गण्डक ब्यारेजलाई भैसालोटन बाँध पनि भनिन्छ ।

दुर्घटनास्थलको अवलोकन गरेपछि मन्त्री लेखकले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी बस्तुगत अवस्था र खोजीकार्यबारे जानकारी गराएका थिए । सोक्रममा लेखकले २५ मिटरभन्दा गहिराईमा खोज्ने उपकरण र जनशक्ति नभएकाले खोजीकार्यमा समस्या भएको भनेर सुरक्षा अधिकारीहरुको ब्रिफिङ प्रचण्डलाई सुनाएका थिए ।

त्यसपछि प्रचण्डले बंगलादेशमा पानीभित्र हराइरहेका मानिस र गाडी पत्ता लगाउने गोताखोर भएको आफूले सुनेको बताउँदै तिनीहरुलाई झिकाउन कुटनीतिक पहल गर्ने बताएको मन्त्री लेखकले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले अन्य स्रोतसाधनका विषयमा उच्च सुरक्षा निकायसँग तत्काल बुझ्ने पनि बताएको मन्त्री लेखकले जानकारी गराए ।

त्यसअघि मन्त्री लेखकलाई चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नदीको २५ मिटरभन्दा पनि गहिराईसम्म खोज्ने जनशक्ति र प्रविधि नभएको बताएका थिए ।

सिंहका अनुसार तीनवटा डुंगा र एउटा र्‍याफ्टिङ प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खोजी कार्यमा जुटिरहेका छन् । तर, मध्यान्ह १२ बजेसम्म पनि वेपत्ता घिमिरे र उनका दुई भाइको अवस्था पत्ता लागेको छैन ।

मन्त्री लेखकले दुर्घटनास्थलमा रहेका प्रजिअ सिंह र सुरक्षा अधिकारीहरुलाई सडक किनारमा भाँचिएका रेलिङ तत्काल मर्मत गर्न, बिग्रिएर सडकमा रोकिएका गाडीहरु हटाउन र जोखिम क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन निर्देशनसमेत दिएका थिए ।

पूर्वगृहमन्त्री माधव घिमिरे र उनका परिवारका सदस्य सवार बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ चितवनको दाह्रेचोक-३ घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घिमिरे र उनका दुई भाइ वेपत्ता छन् भने आमासहित तीन जनाको शव आइतबार नै फेला परेको थियो ।

यो पनि पढ्नुहोस् 

बंगलादेशबाट गोताखोर मगाएर भएपनि घिमिरेलाई खोज्छौं: मन्त्री लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment