Comments Add Comment

खोक्रो बनेको दिल्ली दूतावासमा दिनहुँ भइँचालो !

नेपाली दूतावासमाथि भारतको सौतेनी व्यवहार

nepali embassy delhi_810

१० असोज, नयाँदिल्ली । बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा भर्खरै पुगेका एक कर्मचारी कार्यालयको पछिल्तिरको भवनमा बसिरहेका थिए, एक्कासी घर थर्कियो । झ्यालका सिसाहरु बज्न थाले । उनी जुरुक्क उठेर भाग्नै लागेका थिए, तर सम्झिए- घर हल्लिए पनि यो त भुइँचालो होइन !

कर्मचारीहरुका अनुसार दिल्लीमा दूतावास भवन हल्लिनु सामान्य नियमजस्तै हो । यो भवनमा बस्दा दिनमा कैयौंपटक करिब ३ रेक्टरस्केलको भूइँचालोको सामना गरिरहनुपर्छ । पहिलोपटक पुग्नेहरु भूकम्प आएको ठानेर भाग्न खोजे पनि पुराना कर्मचारीहरु चाँहि अभ्यस्त बनिसकेका छन् ।

किन थर्किन्छ दूतावास ?

दिल्लीमा रहेको राजदूत निवास दिनहुँ थर्किनुको कारण के हो भने भवन मुनिको जमिन भारत सरकारले खनेर खोक्रो बनाइदिएको छ । र, भवनकै मुनिबाट छिन-छिनमा मेट्रो रेल दौडने गरेको छ । र, मेट्रो आएपिच्छे भवन थर्किने गरेको छ ।

Nepali embassy delhi (16)

मेट्रोले थर्काएकै कारण दूतावास भवनको गाह्रो जतात्यतै चर्किन थालेको छ । यस्तै स्थिति रहिरहने हो भने कुनै दिन भवन नै ढल्ने हो कि भन्ने त्रास बढेको बताउँछन् दूतावासका कर्मचारी ।

नेपाली दूतावास रहेको भवन र जग्गा नेपाल सरकारको सम्पत्ति हो । नेपालको अधिकार रहेको जमिनमुनि भारतले नेपाल सरकारको अनुमतिविना खोतल्न वा सुरुङ बनाउन पाउँदैन । जमीनमा जसको स्वामित्व हुन्छ, सो जमिनले चर्चेको आकाश र माटोमुनिको भागमा पनि उसैको स्वामित्व हुन्छ ।

तर, कोबाट अनुमति लिएर भारतले त्यहाँ मेट्रो स्टेशन बनायो भन्नेबारे सोधखोज गर्दा दूतावासका कर्मचारीले अनभिज्ञता प्रकट गरे ।

भारतीय दूतावास लामो समय राजदूतविहीन बनेको र परराष्ट्र मन्त्रालयबाटै त्यहाँ सुरुङ बनाउने अनुमति दिइएको हुन सक्ने कर्मचारीको अनुमान छ । उनीहरुका अनुसार त्यहाँ मेट्रो चल्न थालेको ५/६ वर्ष जति भएको छ ।

भारतीय दूतावासमा रुक्मसमशेर राणापछि लामो समय राजदूत थिएनन् । गत साल अप्रिलमा दीपकुमार उपाध्यायलाई राजदूत बनाएर पठाइए पनि ओली सरकारले उनलाई फिर्ता बोलाएपछि अहिले पनि दूतावासमा राजदूत छैनन् ।

भारतले क्षतिपूर्ति नदिने

यसैवीच नेपाली दूतावासले आफ्नो जमिनमुनि मेट्रो चलाएको र यसबाट भवन चर्किएर क्षति पुगेको भन्दै त्यहाँको रेल विभागसँग क्षतिपूर्ति माग गरेको छ ।

Nepali embassy delhi (11)

नेपालको मागअनुसार भारतीय प्राविधिक टोलीले स्थलगत जाँच गरी एकतर्फी रिपोर्ट लिएको दूतावासका एक कर्मचारीले अनलाइनखबरलाई बताए । उनले भने ‘उनीहरुको टोली आएर हेर्‍यो र भवन हल्लिएको नभई सामान्य थर्किने गरेको रिपोर्ट बनाएर फर्कियो । हामीले क्षतिपूर्ति माग्दा दिल्लीमा यसैगरी घर मुनिबाट मेट्रो चल्ने गरेको र अरु कसैले पनि गुनासो नगरेको भन्दै क्षतिपूर्ति दिन नसकिने जवाफ आयो ।’

अलपत्र पर्‍यो मास्टर प्लान

बाह्रखम्बामा रहेको नेपाली दूतावासको पुनर्निर्माण गर्ने र ठूलो भवन बनाउने मास्टर प्लान दीपकुमार उपाध्यायका पालामा बनेको छ । तर, एक कर्मचारीले अनलाइनखबरसँग भने- ‘यो मास्टर प्लान अनुसार अब यहाँ भवन बनाउनै मिल्दैन, भित्र खोक्रो बनाइएको छ र मेट्रो दौडिइरहेको छ, यहाँ अब अर्को भवन बनाउनै मिल्दैन ।’

Nepali embassy delhi (3)

धेरै पुरानो दूतावास भएकाले नेपाली दूतावासले ओगटेको जमिन निकै फराकिलो छ । तर, अगाडि मुख्य सडक भएकाले सुरक्षाको दृष्टिले यो ठाउँ निकै सम्वेदनशील छ । यतिसम्म कि दूतावासको वाइफाइबाट नेट चलाउनेहरु अगाडि बाटोमा भेला हुने गरेको कर्मचारीको गुनासो छ ।

दूतावासको मुख्य कार्यालय पछाडि रहेका एक तले भवनमा कर्मचारीहरुको आवास रहेको छ । ती भवनहरुलाई भत्काएर एउटा ठूलो भवन बनाउने र दूतावासलाई व्यवस्थित गर्ने गरी ‘मास्टर प्लान’ अघि सारिएको कर्मचारीहरु बताउँछन् । तर, दूतावासको जमिनमा भारतीय हस्तक्षेप भएपछि यो मास्टर प्लान गर्भकै तुहिएको कर्मचारीले अनलाइनखबरलाई बताए ।

 

Nepali embassy delhi (2)

दिल्लीस्थित नेपाल दूतावासमा राजदूत बाहेक करिब ५० को हाराहारीमा कर्मचारी र तिनका परिवारजन रहन्छन् । स्थानीय २२ स्टाफ बाहेकका कर्मचारीका परिवारजनको आवास पनि दूतावासभित्रै हुन्छ ।

दूतावासमा परराष्ट्र र अर्थ मन्त्रालयका सहसचिव र उपसचिव स्तरका कर्मचारीका साथै सेनाका सहायक रथी, जनपथ प्रहरीका एसएसपी, राष्ट्रिय अनुसन्धानका एसएसपीका साथै सुब्बा तहका ४ जना कर्मचारी छन् ।

नेपाललाई सौतेनी व्यवहार

‘छिमेकी पहिलो’ भन्ने भारत सरकारले नेपाली दूतावासका सम्बन्धमा गरेको व्यवहारलाई हेर्दा उसको भनाइ र गराइमा कति फरक छ भन्ने स्पष्ट हुन्छ । दिल्लीमा नेपाल मात्रै त्यसको दूतावास हो, जो अरु देशका दूतावासहरुले पाएको सुविधाबाट वञ्चित रहँदै आएको छ ।

Delhi-dutabas

भारतले आफ्नो देशमा रहेका सुडानदेखि अमेरिकासम्मका सबै देशहरुका लागि चाणक्यपुरीको डिप्लोम्याटिक एरियामा जग्गा उपलब्ध गराएको छ । युरोपदेखि भुटानसम्मका सबै दूतावास चाणक्यपुरीमा राखिएका छन् । तर, नेपाललाई भने त्यहाँ राखिएको छैन । भारतको डिप्लोम्याटिक एरियामा बस्न नपाउने नेपाल एकमात्र देश हो ।

नेपाली दूतावासका एक कर्मचारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार असुरक्षित एवं खोक्रो अवस्थामा रहेको दूतावास सुरक्षित ठाउँमा सार्न पाउँ भनेर आग्रह गर्दा भारत सरकारले दिल्लीभन्दा बाहिर टाढाको जमिन देखाउने गरेको छ । तर, अन्य देशका दूतावासहरु राखिएको चाणक्यपुरीमा उसले नेपाली दूतावास सार्न दिएको छैन ।

यो दूतावास हो कि कवाडीखाना ?

Nepali embassy delhi (8)

उसैपनि मोटर साइकलको ग्यारेज राख्नेजस्तो सडकसँगै जोडिएर रहेको ठाउँमा नेपाली दूतावास छ । कम्पाउण्डको पछाडि पर्खाल लगाइएको छैन । व्यक्तिका पसल र थोत्रे घरका झ्यालहरु देख्न सकिन्छ । सुरक्षाको दृष्टिले नेपाली दूतावास अत्यन्तै कमजोर देखिन्छ ।

दूतावासभित्र बिग्रिएका गाडी, बर्षौं पुरानो मोटर साइकलको कंकालका साथै पुराना दराज र कवाडी सामानहरु यत्रतत्र छरिएको देख्न पाइन्छ । दूतावासको अगाडि सिसाको एक तले भवनमा सुरक्षाकर्मीहरु सुत्ने गरेका छन् ।

त्यहाँ निर्माणाधीन भवनमा उद्धार गरिएका नेपाली चेलीहरुलाई बास बसाउने तथा भिजिटरहरुको वेटिङ रुम बनाउने योजना रहेको एक कर्मचारीले बताए ।

 

Nepali embassy delhi (7)

अझै रोचक त के छ भने भारतीय विद्युत प्राधिकरणको मिटर बक्स समेत नेपाली दूतावासभित्रै छ । र, त्यहाँ दिनहुँ भारतीय प्राधिकरणका कर्मचारी छिर्ने गरेका छन् ।

दूतावासका थप तस्वीरहरू

Nepali embassy delhi (6)

Nepali embassy delhi (13)

Nepali embassy delhi (12)

Nepali embassy delhi (14)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment