Comments Add Comment

वैदेशिक रोजगारीमा अफगानिस्तान र इराक जान लागेको प्रतिबन्ध हटाउने तयारी

फ्रि भिसाको नाममा पैसा लिए कारबाही: श्रममन्त्री गुरुङ

Suryaman-gurung

१० असोज, काठमाडौं । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले अफगानिस्तान र इराकमा निश्चित क्षेत्रको बैदेशिक रोजगारीमा जान लगाइएको प्रतिबन्ध हटाउन लागेको बताएका छन् । यसबारे आगामी मन्त्रिपरिषदबाट निर्णय लिने सम्भावना रहेको उनले जानकारी दिए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री गुरुङले भने, ‘दुवै देशमा कामदार पठाउने अत्यधिक दबाव आएको छ, सरकारले सम्भवतः अबको क्याविनेटबाट यसबारे निर्णय गर्छ, प्रधानमन्त्री स्वयमले प्रस्ताव पेश गर्न भन्नुभएको छ ।’

अमेरिकी, बेलायत लगायतका देशका राजदूतहरुले भेटेर नै अफगानिस्तान र ईराकस्थित आफ्नो दूतावासहरुमा नेपाली कामदार पठाउन प्रधानमन्त्रीलाई दबाव दिएको मन्त्री गुरुङले दाबी गरे । उनले भने, ‘नेपाली कामदारहरुको सुुरक्षाको प्रत्याभुति गर्छौं भन्नुभएको छ, त्यसैले सरकारले प्रतिबन्ध फुकुवा गरेर कामदार पठाउँछ ।’

रेड जोनबाट ग्रिनजोनसम्म पुर्‍याउनको लागि उनीहरुले बुलेटप्रुफ साधनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

‘फ्रि भिसाको नाममा पैसा लिए कारबाही’

श्रममन्त्री गुरुङले म्यानपावर व्यावसायमा देखिएको विकृति हटाउन आफू लागेको बताएका छन् । उनले भने, ‘यो क्षेत्रलाई सुधार गर्न र सक्षम बनाउन नयाँ कार्यक्रम ल्याउँछु ।’

मन्त्री गुरुङले फ्रि भिसा फ्रि टिकटको नाममा कसैले मोटो रकम लिएको थाहापाए कारवाही गर्ने चेतावनी दिए । उनले भने, ‘फ्रि भिसा, फ्रि टिकट भन्ने अनि १० हजारको रसिद बनाउने, तर, भित्रभित्रै २ लाखसम्म लिने गरेको कुरा बाहिर आएको छ, त्यस्तो गरिएको थाहा पाए म कुनै हालतमा छोड्दिन, कारवाही गर्छु ।’

आफू फ्रि भिसा, फ्रि टिकटको विरुद्धमा नभएको जिकिर गरे । गुरुङले अघि थपे, ‘मलाई प्रलोभनमा पार्ने कुनै प्रस्ताव आयो वा पैसाको विटो ल्यायो भने पत्रकारहरलाई खबर गर्छु ।’

उनले असन्तुष्टहरुको माग सम्बोधन गर्नको लागि संविधान संशोधनको विकल्पनभएको स्पष्ट पारे । गुरुङले भने, ‘संविधान संशोधनप्रक्रिया छिट्टै अघि बढ्छ, संशोधनको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment