Comments Add Comment

कार्यालयमा ताला लगाएर जिविसका कर्मचारी गोष्ठीमा !

Jibisa-Rupandehi-Banda

१० असोज, भैरहवा । जिल्ला विकास समिति रुपन्देहीका कर्मचारीहरु कार्यालय नै बन्द गरेर गोष्ठिमा हिँडेपछि सेवाग्राही मर्कामा परेका छन् ।

समाचार संकलनका लागि अनलाइनखबरकर्मी सोमबार जिविसमा पुग्दा कार्यालय समयमा स्थानीय विकास अधिकारी (एलडिओ) युवराज सुवेदी अनुपस्थित थिए भने सूचना अधिकृत टोपलाल शर्मा लगायतका अरु कर्मचारीहरु पनि हतार-हतार कार्यालयबाट बाहिरिँदै थिए ।

सूचना अधिकृत शर्माको कार्यकक्षमा पुग्दा उनी प्रोजेक्टर बोकेर अन्य कर्मचारीहरुलाई भन्दै थिए, ‘छिटो-छिटो गर, गोष्ठिमा जान ढिला भइसक्यो ।’

सूचना अधिकृत शर्मासँग प्रतिक्रिया लिन खोज्दा उनले ठाडो जवाफ फर्काए- अहिले कुरा गर्ने फुर्सद छैन ।

अन्ततः उनी कार्यकक्षबाट बाहिर निस्किए र अन्य कर्मचारीहरुलाई पनि सँगै लिएर गाडीमा गोष्ठीतिर हुइँकिए ।

Jibisa-Rupandehi-Karmachari

सेवाग्राही मर्कामा

कर्मचारीहरु कार्यालयमा ताल्चा नै लगाएर गोष्ठीतिर हिँडेपछि सेवाग्राहीहरु भने मर्कामा परेका छन् ।

विगत चार महिनादेखि एक योजनाको फर्छ्यौट गराउनका लागि रुपन्देहीको मर्चवारदेखि जिविस धाइरहेका गोनाहा ४ का रामप्रकाश मल्लाहले गुनासो गरे, ‘एलडिओ सा’ब कार्यालयमा हुनुहुन्न खै कता गोष्ठीतिर जानु भएको छ रे । कर्मचारीहरुले अब भोलि आउनुस् भनेका छन् ।’

त्यस्तै आम नागरिक सरोकार मञ्च रुपन्देहीका संयोजक आनन्दप्रसाद गुप्ता पनि एलडिओलाई कार्यालयमा नभेटेको सुनाउँदै थिए । एक योजनाको गुणस्तरहीन काम भइरहेको विषयमा छलफल गर्न जिविसमा आए पनि एलडिओलाई भेट्न नसकेको बताउँदै उनले भने, ‘जहिले भेट्न आएपनि एलडिओ मिटिङमा । तल ताल्चा लगाइएको छ । यहाँ एलडिओ सा’ब हुनुहुन्न । आमजनताले उहाँलाई भेट्न पनि निकै कठिन भइरहेको छ ।’

उनले थपे, ‘बरु एलडिओ कतिदेखि कति समयसम्म कार्यालयमा बस्ने हो लेखेर झुन्डाइदिए हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment