Comments Add Comment

‘बिना सालिकका नायकहरु’ लिएर प्रदीप ज्ञवाली

Pradeep Gynawali book  (2)

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले साहित्यिक तथा सांस्कृतिक लेखनमा विगत ३० वर्षदेखि शीतविन्दु नामबाट कलम चलाउँदै आएका थिए । सोमबार भने उनी साहित्यिक लेखनमा समेत आफ्नो मूल चिनारी सहित नै देखा परे ।

ज्ञवालीको कविताकृति ‘बिना सालिकका नायकहरु’ को नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित कार्यक्रममा लोकार्पण गरियो । कृतिको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गरे ।

ज्ञवालीले तीस वर्षदेखिको आफ्नो साहित्यिक नाम शीतविन्दुलाई यसै कृतिदेखि बिदा गरेको घोषणा गरे । श्रमजीवी, सीमान्तकृत र दबिएका मान्छेहरुलाई पात्र बनाएर आफूले कविता लेख्ने गरेको बताउँदै उनले समाजका असली नायकहरु सधैं छायामा परेको टिप्पणी गरे । ‘हाम्रो समाजका कति नायकहरु होलान्, जसको सालिक बन्नु त परको कुरा, अभिलेख सम्म पनि छैन,’ ज्ञवालीले संग्रहभित्रको शीर्ष कविताको रचनागर्भ खुलाउँदै बताए, ‘ती गन्ती नहुने पात्रहरुको बारेमा कविहरुले लेख्नुपर्छ ।’ उनले कुनै परिवेश र सन्दर्भले नघोचेसम्म आफूले कविता लेख्न नसक्ने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले आफू कवि नभए पनि कविमन भएको मान्छेको संज्ञा दिए । उनले ज्ञवालीको बहुआयामिक व्यक्तित्व भएको भन्दै प्रशंसा गरे, ‘प्रतिकूल अवस्थामा पनि सुमधुर कविता अनवरत रुपमा रच्न सक्नु उहाँको असाधारण विशेषता नै हो ।’ तर, कतिपय ठाउँमा कवि बहकिएको भन्दै बहकिनु कविहरुको स्वभाव भएको उनले टिप्पणी गरे ।

समाजका असली नायकहरुको सालिक नबनेको कवि ज्ञवालीको चिन्ताबारे सम्बोधन गर्दै ओलीले सबै नायकहरुको सालिक बन्न सम्भव नहुने बताए । उनले भने, ‘समाजका नायकहरुको सालिक विरलै बने पनि असली नायक देख्दा नक्कली नायकहरु तर्सिने गर्छन् ।’

कवितामाथि टिप्पणी गर्दै मार्क्सवादी समालोचक निनु चापागाईंले ज्ञवाली स्वस्फूर्त भावको पछि कुदेकोले उनका कवितालाई अति प्रशंसा गर्नु उचित नहुने बताए । ‘उहाँका कविताहरु सरदर कविताभन्दा माथिका छन्,’ उनले भने, ‘तर कविताहरुमा सचेतन प्रयत्न देखिँदैन ।’ साहित्यले समाज रुपान्तरणमा भूमिका खेल्नुपर्ने भए पनि ज्ञवालीले प्रश्न मात्र सोधेर जवाफ नदिई पन्छिएको उनले टिप्पणी गरे ।

कवि विप्लव ढकाल र डा. विन्दु शर्माले ज्ञवालीका कविताले शक्तिहीन र सीमान्तकृत मान्छेलाई कविताको विषय बनाउँदै वर्गीय, क्षेत्रीय, जातीय र लैंगिक विभेदलाई केन्द्रमा राखेको चर्चा गरे । कवि तुलसी दिवसले कविताको शक्ति र प्रभाव अन्य साहित्यिक विधाभन्दा कम नहुने भन्दै कविताको महत्ताबारे कवितात्मक मन्तव्य दिएका थिए ।

Pradeep Gynawali book  (1)

कार्यक्रममा द्वन्द्वकालमा बेपत्ता भएकाहरुको परिवारको पीडा समेटिएको संग्रहभित्रको कविता ‘बिना अनुहारको रात’ लाई शिल्पी थिएटरका नाट्यकर्मीहरुले मञ्चमा प्रस्तुत गरेका थिए । कविताकृतिलाई सिमल बुक पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । यो कृति ज्ञवालीको एघारौं कृति हो भने तेस्रो कवितासंग्रह हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment