Comments Add Comment

कमल ज्ञवालीः जसरी उदाए, उसैगरी अस्ताए

kamal grawali_810

१० असोज, काठमाडौं । साढे ३ वर्षअघिसम्म बैंकिङ क्षेत्रका राजकुमार नै मानिन्थे कमल ज्ञवाली । कसैले सफल बैंकरको उदाहरण दिनुपर्‍यो भने उनकै नाम लिन्थे ।

ज्ञवालीको अवधारणा र नेतृत्वमा ०५९ सालमा ‘पावर टु सक्सिड’ नारा राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना भयो । त्यसलाई स्तरोन्नति गरी ०६६ मा किष्ट बैंक बनाइयो । किष्टलाई उनले सबैभन्दा बढी शाखा (५१ वटा) भएको बैंक बनाए । २८/३० वाणिज्य बैंकको भिडमा टप टेन बैंकको नाम लिँदा त्यसबेला किष्टलाई कसैले पनि छुटाउँदैन थिए ।

त्यो समयमा ज्ञवाली र किष्ट बैंकको बारेमा हरेक दिन कुनै न कुनै सञ्चार माध्यममा सकारात्मक समाचार प्रकाशित/प्रसारित भएकै हुन्थे । यस्तो कुनै मिडिया थिएन, जसले किष्ट बैंकबाट विज्ञापन नलिएको होस् । सबैलाई विज्ञापन दिएर संस्था र व्यक्तिको ब्राण्डिङ गर्न माहिर उनी छोटो समयमै वित्तीय क्षेत्रमा चर्चाको शिखरमा पुगे ।

उनै ज्ञवाली तीन वर्षदेखि बदनाम छन् ।

सुरुमा नाम, त्यसपछि गुमनाम र अहिले बदनाम कमाए उनले । कसैले खराब बैंकरको उदाहरण दिनुपर्‍यो भने अहिले उनैको नाम अग्रपंक्तिमा आउँछ । जम्को प्रकाशनका नाममा किष्ट बैंकबाटै र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि ज्ञवालीको बदनामीको यात्रा सुरु भएको हो । किष्टको प्रबन्ध सञ्चालक रहेकै अवस्थामा उनी सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयरधनी समेत थिए ।

केही दिनअघि पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले ज्ञवाली र उनकी पत्नी गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूर गरेको अभियोगमा विगो जरिवाना र जेल सजायसमेत सुनाइसकेको छ । अदालतले कमललाई चार वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवाना र पत्नी गौरीलाई ३ वर्ष जेल र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला गरिसकेको छ । उनीहरु दुवै अहिले फरार छन् ।

यसरी सुरु भयो उदय

गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका ज्ञवाली उच्च शिक्षा अध्ययनका लागि ०५२ सालमा १० हजार रुपैयाँ बोकेर काठमाडौं आएका थिए । उनीद्वारा लिखित ‘कर्म’ नामक आत्मकथाको पुस्तकका अनुसार, त्यसपछि उनले पढाइसँगै काम गर्न थाले । सुरुमा पढाउँथे । पछि नयाँ सोच लिएर वित्तीय क्षेत्रमा हाम फाले ।

ज्ञवालीले ०५९ सालमा ५ करोड रुपैयाँमा किष्ट मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स खोले । फाइनान्स कम्पनी हुँदा किष्टले तीन पटक ५, १० र ३ प्रतिशत मात्रै नगद लाभांश दिएको थियो । तर, उनले त्यो फाइनान्सलाई स्तरोन्नति गरी २ अर्ब चुक्ता पुँजी पुर्‍याउँदै ०६६ साल बैशाख २४ गते ‘क’ वर्षको वाणिज्य बैंक अर्थात् किष्ट बैंक बनाए ।

१० हजार रुपैयाँ बोकेर काठमाडौं छिरेको १५ वर्षमा उनले करिब तीन अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाए । त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा हो

हकप्रद सेयर दिएर ५ बाट १० करोड, १० बाट २० करोड, २० बाट ६० करोड र ८० करोडबाट एकैचोटि २ अर्ब रुपैयाँ पुँजी पुर्‍याएइएको थियो । हकप्रदको बाढीले किष्टको सेयर सूल्य आकासियो । ज्ञवालीको लोकप्रियता बढ्दै गयो । स्थापनाकालदेखि नै उनी प्रबन्ध सञ्चालक थिए । अर्थात्, सञ्चालक समिति र व्यवस्थापन समिति दुवैको कार्यकारी प्रमुख थिए । त्यसैले किष्ट सप्रिँदा र बिग्रिँदा दुबैको सबैभन्दा बढी जश उनै ज्ञवालीलाई जान्छ ।

१० हजार रुपैयाँ बोकेर काठमाडौं छिरेको १५ वर्षमा उनले करिब तीन अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाए । त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा हो । ०६५/६६ ताका सार्वजनिक रुपमै ज्ञवाली भन्थे, ‘अब नेपालमा धनीहरुको सूची निकाल्नुपर्छ ।’ यसको अर्थ उनले आफूलाई नेपालका गिनेचुनेका धनाढ्य व्यक्ति भएको ठान्न थालिसकेका थिए । त्यसबेलै उनी १ करोड ६० लाख रुपैयाँमा किनेको ल्याण्डक्रुजर गाडी चढ्थे ।

यस्तो थियो सपना

भुइँबाट उठ्दै टाकुरामा पुगेका ज्ञवालीको आकांक्षा पनि समय क्रममा बढ्दै गयो । उनी आफूले बैंकको शाखा भ्रमण गर्न जाँदा हेलिकप्टर लिएर जानुपर्छ भन्थे । किष्टको उच्च व्यवस्थापनमा सँगै काम गरेका अधिकारीहरु उनको महत्वकांक्षा सुनाउँछन्, ‘उहाँ आफूलाई बैंकर नभई व्यापारी हुँ भन्नुहुन्थ्यो । जसरी भए पनि पैसा कमाउनुपर्छ भन्ने सोच थियो ।’

नजिकबाट चिन्नेहरुका अनुसार ज्ञवाली अति नै महत्वाकांक्षी थिए । महत्वाकांक्षाकै कारण उनी मध्यमवर्गीय परिवारबाट अर्बपति बने ।

किष्टमा कमलको ठूलो सपना जोडिएको थियो । बैंकको कार्यालय आकर्षक हुनुपर्छ भनेर अनामनगरको धोबीखोला किनारमा ७ तले अत्याधुनिक भवन बनाए । अहिलेसम्म पनि बैंक आफैंले बनाएको सबैभन्दा अत्याधुनिक र भव्य भवन त्यही हो ।

उनी आफ्नो बैंकलाई यस्तो बनाउन चाहन्थे, बैंकमा समस्या पर्‍यो भने त्यसको उद्दार गर्न तत्कालै सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसोस् । एक सञ्चालकले बैंकबारे बढी महत्वाकांक्षा राखेर अघि बढ्दा समस्या आइपर्छ भनेर सञ्चालक समितिको बैठकमा कुरा उठाउँदा कमलले भनेका थिए- ‘तपाईँहरु चिन्ता नगर्नुस्, यो बैंकलाई सानो समस्या पर्‍यो भने यसको उद्दार गर्न तत्कालै मन्त्रिपरिषदको बैठक बस्ने अवस्थासम्म पुर्‍याउनु छ ।’

उनी बैंकलाई त्यति ठूलो बनाउन चाहन्थे, जुन बैंक ढल्दा नेपालको वित्तीय क्षेत्र नै बर्बाद हुन्छ भनेर सरकारले जुनसुकै हालतमा बैंकलाई बचाउनतिर लागोस् । तर, दुर्भाग्य ! त्यति महत्वाकांक्षी सपना देखे पनि उनले त्यसको सही व्यवस्थापन गर्न भने सकेनन् । फलस्वरूप, वर्षौं लगाएर कमाएको इज्जत क्षणभरमै माटोमा मिल्यो । महत्वाकांक्षा र लोभले महल पुर्‍यायो र त्यसैले सडकमा झारिदियो ।

Kamal Gyawali

लोभले लाभ, लाभले विलाप

०६२/६३ ताका काठमाडौंमा घरजग्गाको भाउ अचाक्ली बढ्यो । त्यसपछि ज्ञवाली घरजग्गाको कारोबारमा संलग्न भए ।

०६५ सालतिर यो पंक्तिकारसँग उनले भनेका थिए- ‘बैंकबाट लिने तलबले त के कमाइ हुन्छ र, त्यसको तेब्बर त घरजगाको कारोबारबाटै कमाउँदै आएको छु ।’

उनी साझेदारीमा प्लटिङमा लागेका थिए । बैंकहरुले पनि घरजग्गाको प्लटिङमा ठूलो लगानी गरेका थिए । किष्ट बैंक त घरजग्गामा लगानी गर्ने बैंकमा अग्रपंक्तिमै पथ्र्यो । देशभरका ५१ शाखाबाट जम्मा गरेको रकम काठमाडौंका घरजग्गामा लगानी गरियो ।

सन् २००८ को विश्व आर्थिक मन्दी पनि घरजग्गाकै कारण आएको थियो । त्यसबाट पाठ सिकेर गभर्नर विजयनाथ भट्टराईको पालामा राष्ट्र बैंकले ०६६ पुस २ गते घरजग्गा क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी नगर्न बैंकहरुलाई परिपत्र गर्‍यो । राष्ट्र बैंकको त्यही परिपत्रपछि सुरु भयो घरजग्गा करोबारमा मन्दी । जुन अहिलेसम्म माथि उठ्न सकेको छैन ।

ज्ञवालीको ५० करोड रुपैयाँभन्दा बढी घरजग्गामा लगानी थियो । यस्तै, ०६७ सालतिरको बजार मूल्यअनुसार उनीसँग २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर थियो । किष्ट बैंकमा मात्र उनले आफ्नो र अरुको नाममा किनेको गरी ४० लाख कित्ताभन्दा बढी सेयर थियो । सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतमा पनि उनको सेयर थियो ।

०६५ भदौ-असोजतिर किष्टको एक कित्ता सेयरको मूल्य १८ सय रुपैयाँसम्म पुगेको थियो । तर, त्यही वर्षको दशैंपछि सेयर बजार घट्न थाल्यो । ०६६ को दशैंमा बैंकबाट सर्वसाधारणले नयाँ नोट नपाएपछि दशैंमा बजारमा प्रवाह भएका नोटहरु फेरि सिस्टममा फर्किएनन् । र, बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी तरलताको हाहाकार भयो ।

०६६ पछि घरजग्याको कारोबार ठप्प जस्तै भयो । सेयर बजार लगातार घट्यो । तरलता अभावका कारण बैंकिङ क्षेत्र ठूलो दबावमा पर्‍यो । एक वर्षको अवधिमा भएका यी तीनवटा घटना ज्ञवालीका लागि आकाश खसे झैं भयो ।

‘आफूसँग भएको सेयर र घरजग्गा बेचेर त्यसबेलै ऋण सल्टाएका भए उनी आज यो स्थितिमा आइपुग्थेनन्,’ ज्ञवाली निकट स्रोत भन्छ, ‘तर, केही समयमै घरजग्गा र सेयरको मूल्यमा सुुधार आउला भन्ने आशमा उनले पहिलेको ऋण थेग्न थप ऋण गरे ।’

ज्ञवालीका लागि पैसा माछालाई पानी जस्तै बन्न थाल्यो । बाँच्ने आशामा उनी धमिलो पानीमै भए पनि हामफाल्न थाले । उनले ०६७ असारमा श्रीमती गौरी समेत संलग्न रहेको जम्को प्रकाशनको नाममा किष्टबाट साढे १५ करोड रुपैयाँ ऋण दिए । ऋण लिने व्यक्ति थिए जम्कोका सञ्चालक किशोर ढकाल । तर, त्यो ऋणको आधाभन्दा बढी रकम ज्ञवालीले नै चलाए ।

तर, यतिले पनि संकट टरेन । उनी झन् संकटमा फस्दै गए । ०६७ कै भदौमा जम्कोको सोही सम्पत्ति धितो राखेर सिद्धार्थ डेभलपमेन्ट बैंकबाट उनै ढकालको नाममा १३ करोड रुपैयाँ ऋण लिएर आफैंले चलाए । सो बैंकका अध्यक्ष शेखर अर्याल उनका अति निकट साथी थिए भने सीइओ दिपेन्द्र कार्की ज्ञवालीलाई गुरु नै मान्थे । त्यसरी लिएको ऋण घरजग्गामा खाएको घाटा पूर्ति गर्न खर्च गरे । तर, घरजग्गाको व्यवसायले गति लिन सकेन ।

‘उनी ठगी गर्नुपर्छ भन्ने नियत भएका व्यक्ति होइनन्,’ ज्ञवालीसँग नजिक रहेर केही वर्ष काम गरेका बैंकका एक अधिकारी भन्छन्, ‘तर, पैसा कमाउने उच्च महत्वाकांक्षाले उनलाई खराब काम गर्न उक्सायो र बर्बादीमा पुर्‍यायो ।’

जब ज्ञवालीकै सिफरिसमा किष्टले प्रवाह गरेका ऋणहरुमा समस्या देखियो, तब सञ्चालक समितिले उनलाई ६ महिनामा ऋण असुल गर्न मौका दियो । तर, त्यही बेला कुल कर्जामा खराब कर्जाको मात्रा ५ प्रतिशत नाघ्यो । स्रोत भन्छ, ‘उनले ऋण दिएका होइन, बाँडेका रहेछन् ।’ त्यसपछि सञ्चालक समितिले डेपुटी सीइओ बीएन घर्तीको संयोजकत्वमा सीधै सञ्चालक समितिलाई रिपोर्टिङ गर्ने कर्जा असुल समिति बनायो । जब घर्ती ऋण असुल्न ग्राहक कहाँ जान थाले, तब रहस्य खुल्यो- त्यो ऋण त ज्ञवालीले समेत चलाएका रहेछन् ।

यसरी भयो पतन

भनिन्छ, निकै मिल्ने साथीसँग झगडा पर्‍यो भने त्यो सबैभन्दा ठूलो दुश्मन भएर निस्कन्छ । ज्ञवालीको जीवनमा पनि यस्तै भयो । सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष अर्याल र ज्ञवालीबीच मनमुटाव भयो । कतिसम्म भने उनीहरु एकले अर्कालाई सिध्याउनतिर लागे । यसको नतिजा, अन्तिममा दुबै जना सकिए !

ज्ञवालीले सिद्धार्थबाट लिएको ऋणको साँवा ब्याज तिर्न सकिरहेका थिएनन् । त्यहीबेला उनका बारेमा राष्ट्र बैंकमा उजुरी पर्‍यो । राष्ट्र बैंकले ०६९ मा उनीमाथि छानबिन गर्‍यो । छानबिनका क्रममा ज्ञवालीले १२ करोड रुपैयाँ पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको देखिएपछि जम्कोबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दिइयो । किष्टले जम्कोबाट तत्कालै साढे ३ करोड रुपैयाँ उठायो पनि ।

सो काण्डमा राष्ट्र बैंकले ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना तिरायो । तर, ऋणी ढकाललाई भने बैंकिङ कसुर अन्तर्गत मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरियो । सीआईबीको अनुसन्धानमा ढकाललाई दिएको ऋण ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि ०७० जेठ २२ मा ज्ञवाली पत्नी गौरीलाई महाराजगञ्जस्थित निवासबाटै प्रहरीले पक्राउ गर्‍यो । कमल भेटिएनन् । गौरीलाई केही समयमा धरौटीमा छुटाइयो ।

केही समय मुद्दा मिलाउन ज्ञवाली नेतादेखि प्रशासकसम्मका घरमा धाए । तर, उनलाई सबैले जोगाउन नसक्ने जवाफ दिए । ‘ज्ञवाली काण्ड’ सार्वजनिक भएपछि किष्ट बैंकमा खैलाबैला मच्चियो । निक्षेपकर्ताहरु निक्षेप फिर्ता लिन लाइन बस्न थाले । लगत्तै ज्ञवालीले पदबाट राजीनामा दिए । कमल बाहिरिए पनि किष्टप्रति गुमेको विश्वास फर्किन सकेन । जम्को काण्डमा किष्टका उच्च व्यवस्थानमा रहेका व्यक्तिहरु पनि तानिए । त्यसपछि झन् बैंक बचाउन हम्मे पर्‍यो ।

विस्तारै किष्ट बैंक डुब्ने अवस्थामा पुग्यो । डुब्ने अवस्थामा पुगेको किष्टलाई व्यवसायमा जम्दै गरेको प्रभु समूहले गाभेर ‘रेस्क्यू’ गर्‍यो । ०७१ भदौ ३० मा तत्कालीन प्रभु विकास बैंकले किष्टलाई गाभेर प्रभु बैंकको नाममा कारोबार थाल्यो । प्रभु समूहले ज्ञवालीले बैंकमा तिर्नुपर्ने ऋण उनको सेयर बेचेर २३ करोड रुपैयाँ असुलिसकेको छ । ज्ञवालीसँगै किष्टको पनि अस्तित्व नामेट भएको छ ।

किष्ट डुबाउन को-को जिम्मेवार ?

बैंक कसरी चलाउने भन्ने ज्ञान नभएका व्यक्तिहरु सञ्चालक हुँदाको शिकार बन्यो किष्ट बैंक । त्यसबेला व्यवस्थापनमै बसेर काम गरेका एक अधिकारीका अनुसार, बैंकिङको बारेमा पर्याप्त ज्ञान नभएका र बैंक ठूलो बनाउने आकांक्षा मात्र पाल्ने ज्ञवाली नै किष्ट डुबाउने मुख्य दोषी हुन् । उनी भन्छन्, ‘ज्ञवालीसँग मात्रै होइन, किष्टको सञ्चालक समितिका कसैसँग बैंकिङबारे ज्ञान थिएन । त्यही भएर ज्ञवालीलाई मनपरी गर्न सञ्चालक समितिले नै छुट दिएको थियो ।’

वाणिज्य बैंक बनाउने बेलामा भने ज्ञवालीले ज्ञानबहादुर जीसी, डा. दण्डपाणि पौडेल, अच्युतराज जोशी,  बीएन घर्ती, बालकुमार पाण्डे जस्ता व्यावसायिक र नैतिकवान व्यक्तिहरूको टिम पाएका थिए । तर, त्यसअघि नै बैंकले लिक छोडिसकेको थियो ।

‘हामीले किष्टलाई लिकमा ल्याउन धेरै प्रत्यन गर्‍यौं,’ एक अधिकारी भन्छन्, ‘त्यसबेला ज्ञवालीसँग ठूलो झगडा पनि गर्नुपर्‍यो ।’

किष्टले वाणिज्य बैंकमा एकीकृत कारोबार थालेको दिन ०६६ बैशाख २४ गते तत्कालीन बैंकर्स संघका अध्यक्ष सशिन जोशी र धितोपत्र बोर्डका अध्यक्ष शुरवीर पौडेलले भनेका थिए, ‘किष्ट फाइनान्सबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको छ । यसका सामु धेरै चुनौती थपिएका छन् । संस्थागत सुशासन सबैभन्दा ठूलो चुनौती हो । यसमा विशेष चनाखो हुनुहोला ।’

तर, सोही कार्यक्रममा प्रमुख अतिथि रहेका राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर वीरविक्रम रायमाझीले उनीहरुको कुरा काट्दै यसो भनेका थिए, ‘राष्ट्र बैंकलाई कसैले पनि सुशासनको कुरा सिकाउनु पर्दैन । किष्टको संस्थागत सुशासनमा कुनै समस्या छैन । सुशासनमा एक नम्बर भएकाले हामीले वाणिज्य बैंकमा स्तरोन्नति गर्ने इजाजत दिएका हौं ।’

किष्टले एकीकृत कारोबार गरेको भोलिपल्ट साँझ सोल्टी होटलमा पार्टी गरेको थियो । डेपुटी गभर्नर रायमाझीले त्यस्तो जवाफ दिएकोले जोशी र पौडेल दुबैजना पार्टीमा गएनन् ।

‘नियामक निकायमा बस्ने अधिकारीहरुले कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ भनेर नजान्दा ठूला दुर्घटना निम्तिन्छन् भन्ने उदाहरण पनि हो किष्ट,’ स्रोतले भन्यो, ‘त्यसबेला रायमाझीले किष्टलाई संस्थागत सुशासनमा चुनौती छ, सुशासनमा कमजोरी पाइयो भने राष्ट्र बैंकले कारवाही गर्छ भनेर भनिदिएका भए सायद किष्टले यो दुर्घटना भोग्नुपर्थेन ।’

त्यसो त, रायमाझीलाई राष्ट्र बैंकको गभर्नर बनाउन लविङ गर्न मात्रै होइन, पैसा उठाएर नेताका घरमा जाने कामको नेतृत्व समेत उनै ज्ञवालीले गरेको काण्डले पनि त्यसबेला निकै चर्चा पाएको थियो । तर, राष्ट्र बैंकको गभर्नर बने डा. युवराज खतिवडा । खतिवडालाई ज्ञवालीले रायमाझीका लागि पैसा बोकेर नेताका घरघरमा गएको पटक्कै मन परेको थिएन । उनले त्यसलाई इगोको रुपमा लिइरहे ।

‘कुनै बैंकमा समस्या आइपर्दा राष्ट्र बैंकले सञ्चालक समिति र व्यवस्थापन समितिलाई हस्तक्षेप गरी सुधार गर्दै आएको छ,’ स्रोत बताउँछ, ‘तर, किष्टमा समस्या पर्दा राष्ट्र बैंकले हस्तक्षेप गरेन । सम्हाल्नभन्दा पनि कारबाही गर्नतिर लाग्यो ।’

कमल ज्ञवाली आफू मात्रै डुबेनन्, किष्ट जस्तो लोकपि्रय संस्थालाई पनि डुबाए । त्यति मात्रै होइन, आफ्नै निकट साथी तथा सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष शेखर अर्याल र सीइओ दिपेन्द्र कार्की पनि डुबे ।

किष्ट मोडेलमै काम गर्न थाल्दा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स डुब्यो । त्यसका प्रबन्ध सञ्चालक पवनकुमार कार्की डुबे । नेपाल सेयर मार्केटस् एण्ड फाइनान्स डुब्यो । त्यसका कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठ डुबे । जुन-जुन संस्थामा सञ्चालकहरु नै व्यवस्थापनमा हावी भए, ती संस्थाको संस्थागत सुशासन कमजोर भएको देखिन्छ ।

यी सारा घटनालाई विश्लेषण गर्दा यो निष्कर्ष निस्किन्छ, बैंकिङ तथा वित्तीय क्षेत्रमा किष्ट र कमल ज्ञवाली दुवै प्रवृत्तिको अस्तित्व नामेट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment