Comments Add Comment

घोप्टेभिर दुर्घटनाः घटनास्थलमा बिलौना गर्दै पूर्वगृहमन्त्री घिमिरेका आफन्त

Madhav-Ghimire-Car-Accident११ असोज, चितवन । कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बनेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता छन् ।

आइतबार साँझ अबेर जीप त्रिशूली नदीमा खसेसँगै घिमिरे वेपत्ता छन् । उनको परिवारको अवस्था  बुझ्न कुरिनटारको घोप्टेभिरमा आउनेको भीडभाड छ ।

सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी समेत घटनास्थल आइपुगेका थिए ।

चितवन र छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्लास्थित प्रमुख पनि घोप्टेभिर पुगेर उनको खोजीका लागि सहयोग गरिरहेका छन् ।

सोमबार बिहान घटनास्थल घोप्टेभिरमा बिलौना गरिरहेकी दीपा आचार्य घिमिरेसँगै मुक्तिनाथ यात्राको एक सहयात्री हुन् ।  दीपाका बुबाका मामाको छोरा (ठूलोबुबा) घिमिरे परिवारसँगै आचार्य पनि असोज ५ गते काठमाडौँबाट मुक्तिनाथ यात्रामा गएकी थिइन् ।

असोज ९ गते बिहान निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटसँगै बिहानको खाना खाएर उनीहरू हिँडेका हुन् ।

घटनास्थलमा आइपुगेकी रानाभाटले भनिन्, ‘हामीसँगै लेकसाइडको मोनालिसा रेस्टुराँमा खाना खाएर बिहान ११ः१५ बजे उहाँहरु पोखराबाट हिँड्नु भएको हो ।’

घटनास्थलमा निकै दुखित देखिएका यादव आचार्य मुक्तिनाथ यात्रा क्रममा घिमिरेसँगै थिए । आचार्य माधव घिमिरेका फूपूका छोरा भाइ हुन् । ‘साँझ ५ बजे मैले दाइलाई फोन गरेँ, धेरैबेरपछि सुरक्षाकर्मीले फोन उठाए, हामी आत्तिएर आइपुग्यौँ । अहिले पनि घटना सपना जस्तै लाग्छ,’ उनले भने ।

त्यस्तै, काकाका छोरा  मोहन पनि वनस्थलीमै बस्छन् । उनी  नेपाल टेलिकमका कर्मचारी भएको आचार्यले बताए । नारायण काफ्ले राष्ट्रिय वाणिज्य बैंकका निवृत्त कर्मचारी हुन् । उनकाे बसाइ कात्यायनी, बानेश्वरमा छ । प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की सिन्धुलीका हुन् ।

आचार्यका अनुसार पूर्व गृहमन्त्री एवम् मुख्यसचिव घिमिरेकी श्रीमती कमला र बुहारी आकांक्षा काठमाडौँकै घरमा छन् भने छोरा सुशान्त अस्ट्रेलियाबाट आउँदै छन्। छोरी सृष्टि पाल्पा मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत छिन् ।

घटनास्थलमै भेटिएका घिमिरेका काकाका छोरा धनेन्द्र घिमिरेले घटनास्थल निरीक्षण गर्न आएका  मन्त्री रमेश लेखकसँग यही ढङ्गबाट खोजी गर्दा पत्ता लाग्न नसक्ने भन्दै थप स्रोत र साधनको प्रयोग गर्न आग्रह गरे ।

पानीभित्र पसेर बेपत्ताको खोजी गर्नसक्ने अत्याधुनिक उपकरण हुनसके उनीहरुलाई पत्ता लगाउन सकिने घिमिरेले बताए । सो क्रममा मन्त्री लेखकले यस विषयमा प्रधानमन्त्रीसँग तत्काल टेलिफोन सम्पर्क गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउने आश्वासन दिएका थिए । त्यसलगत्तै उनले प्रधानमन्त्रीलाई फोन समेत गरेका थिए ।

घटनास्थलमा घिमिरेको गृहजिल्ला पाल्पासहित देशभर छरिएर रहेका आफन्त कुरिनटार आइपुगेका छन् भने उनकै समयदेखि सरकारी सेवामा रहेका पनि आउनेक्रम जारी छ ।

घटनास्थलमा उनको झोला र मोबाइल फेला परेको छ । घिमिरेका तीनभाइ नदीमा बेपत्ता छन् भने आमा, काका काफ्ले र सशस्त्र प्रहरीका नायव निरीक्षक कार्कीको मृत्यु भएको छ । चालक नेपाल प्रहरीको हवल्दार विष्णु राई घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment