Comments Add Comment

प्रधानमन्त्रीलाई ओलीको प्रश्नैप्रश्नः भारतसँगको सम्वन्धमा के सप्रियो ? बाहृय भूमिका आमन्त्रण ?

KP-Oli-in-Parliament

११ असोज, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नेपाल भारत सम्वन्धमा कहाँ र के सप्रियो भनेर प्रमानमन्त्रीलाई प्रश्न गरेका छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री भए लगतै प्रचण्डले नेपाल भारत सम्वन्ध सुध्रियो भनेर रमाइलो उद्घोष गरेको बताए ।

प्रधानमन्त्रीले भारत भ्रमणमा सम्वन्ध सुधार भएको भनेको भन्दै उनले भने, मैले खोजेँ के-के सप्रिएछ । तर, केही देखिएन ।

प्रधानमन्त्रीले भारत भ्रमणपछि संसदलाई जानकारी नदिएपनि बाहिर नेपाल-भारत सम्वन्ध सप्रिएको भनेको भन्दै एमाले अध्यक्ष ओली भने, ‘के सप्रियो ? यो यो सप्रियो भनेर भन्नुपर्छ ।’

ओलीले अघि भने, ‘नाकाबन्दी थियो र खुल्यो कि ? कुनै सन्धि सम्झौता हुन सकेको थिएन, भयो कि ? कुनै परियोजना अडि्कएको थियो, अघि बढ्यो कि ? बताउनुभए हुन्थ्यो ।’

एमाले अध्यक्ष ओलीले व्यंग्य गर्दै सम्वन्ध सुधार भएको प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यमा सम्झिएको बताए । संयुक्त वक्तव्यको १० नम्बर बुँदामा संविधानको विषय उल्लेख भएको भन्दै उनले भने, यो नेपालको आन्तरिक विषय हो । तर, साझा विषय जसरी उल्लेख भएको छ । र, बाहृय चासो र भूमिका आमन्त्रण गरिएको छ ।

यो आपत्तिजनक रहेको भन्दै उनले अघि भने, सप्रिएको भनेको यही हो । अझ भारतीय चासो र भूमिकालाई आमन्त्रण गरेकालाई सप्रिएको भनेको हो भने झन आपत्तिजनक छ । संयुक्त वक्तव्यका विभिन्न बुँदा आपत्तिजनक रहेको भन्दै उनले संसदमा प्रश्न गरे, सही हो सुधारेको हो कि अरु केही छ ?

‘पत्रकारले प्रश्न गर्‍यो, अनि ड्याङ कि ड्याङ !’

ओलीले प्रधानमन्त्री किन भारत भ्रमणमा जानुभयो आफूले बुझ्न नसकेको बताए । साथै यसअघि किन विशेष दूत पठाएको भनेर प्रश्न गरे । उनले भने, ‘सरकार बनेको थाहा पाएन भनेर कि धन्यवाद ज्ञापन गर्न ?’

प्रधानमन्त्री प्रचण्डले भारतमा गएर प्रतिपक्षको धज्जी उडाएको भन्दै आक्रोश समेत पोखे । उनले भने- पत्रकारले प्रश्न गर्‍यो, अनि ड्याङ कि ड्याङ … आफ्नो मर्यादा आफूले सोच्नुपर्ने हो ।’

राजकीय भ्रमणमा गएका प्रधानमन्त्री आफ्नो देशमा अपराधी भन्दै खोजी गरिरहेकासँग उप्परखुट्टी लगाएर बसेको तस्वीर आएको भन्दै उनले भने, ‘राजकीय भ्रमणमा कस्तो मान्छेले स्वागत गर्छन् ?’

सुरक्षा प्रवन्धको हिसावले पनि बाटोमा हिँड्दा-हिँड्दै जम्काभेट वा त्यस्तो भेट सम्भव नहने भन्दै ओलीले भने, प्रधानमन्त्रीज्यू, यस भेटका लागि भारतको राजकीय भ्रमण मिलाउनुपर्छ ?’

‘एमाले सहमतिकै पक्षमा छ, सरकार गम्भीर भएन’

एमाले अध्यक्ष ओली सरकारमाथि संविधान कार्यान्वयनमा गम्भीर नभएको आरोपसमेत लगाएका छन् ।

संविधानले परिकल्पना गरेका विभिन्न आयोगहरु गठन एवं आवश्यक ऐन कानुन निर्माण तथा संशोधन गरेर अबको १३ महिना (१६ महिना भएपछि मंसिर अन्तिमदेखि माघमा चुनाव नहुने) भित्र तीनवटा चुनाव गर्नुपर्ने भए पनि सरकार मौन रहेको बताए । उनले भने, सरकार दंग छ, मस्त छ ।’

उनले अघि भने, न चुनाव गराइन्छ भनेको छ तर, न कार्यतालिका छ । न कानुन निर्माण भएको छ । न कुनै सरसल्लाह भएको छ ।’

आफ्नो सरकार बनाएको कार्यतालिका डस्टविनमा फलियो कि कुनै दराजमा छ थाहा नभएको भन्दै उनले भने, मनोविज्ञान कस्तो देखिन्छ भने कहिले छाड्नुपर्ने थाहा छ, जबसम्म बसिन्छ तबसम्म घन्टी बनाउँछु ।’

सरकारको अर्को घटक (कांग्रेस)लाई सरकारको नेतृत्वमा छैन के भयो र भन्ने मनोविज्ञान रहेको उनले बताए । एमाले अध्यक्ष एवं विपक्षी दलका नेता ओलीले भने, प्रधानमन्त्री ज्यू कार्यतालिका खै ?

दलहरुबीच गम्भीर सम्वाद र सहमति आवश्यक रहेको उने बताए । एमाले अहिले पनि सम्वाद सहमति र संविधानको कार्यान्वयनको पक्षमा रहेको भन्दै उनले भने, यसमा सरकारको बाधा छ ।

केका लागि संविधान संशोधन ?

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संविधान संशोधन के का लागि भनेर प्रश्न गरेका छन् । कसैको आग्रह र जिद्दीका आधारमा संविधान संशोधन नहुने उनले बताए ।

उनले भने, पार्टीहरु मिलेर जान सर्वस्वीकार्य हुँदैन, सहमति हुन सक्दैन । अनि संविधान चाहिँ ९९ भएर हुँदैन ९९.९९९ स्वीस गोल्डमा हुन्छ नि । त्यसले पनि हुँदैन १०० प्रतिशत चाहिन्छ ।’उनले अघि, संसारको कुन संविधान त्यसरी आउँछ ? संविधान मान्नु हरेक नागरिकको कर्तव्य हो । अहंकार देखाएर संविधान मानिन्न भनेर देश अघि बढ्न सक्दैन ।’

एमाले अध्यक्ष ओलीले संविधानमा आवश्यकता अनुसार संशोधन हुनसक्ने तर, संविधान मानेरमात्र यो सम्भव हुने बताए । उत्तिकै हैसियतमा रहेको प्रतिपक्षलाई वेवास्ता गरेर तीनजना एक ठाउँमा बसेर संविधान संशोधन गर्ने भनेको सुनेको भन्दै उनले भने, गज्जबको सर्वस्वीकार्यता ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुद्दा फिर्ताको विषय सुनिएको र त्यसको सरकारले खण्डन पनि नगरेको भन्दै जघन्य अपराधका घटनामा संलग्न भएकाको मुद्दा फिर्ता हुन नसक्ने बताए ।

सरकारको त्रिमूर्तिः एउटा मौन छ

पछिल्लो समय प्रमुख दल कांग्रेसको आलोचना गर्दै आएका एमाले अध्यक्ष ओली संसदमा पनि दोहोर्‍याएका छन् ।

सरकारको त्रिमुर्ति मध्ये एक कांग्रेस भएको भन्दै उनले राष्ट्रियता, विदेश नीतिबारे कांग्रेस मान रहेकामा आरोप लगाए । उनले भने, ‘एउटा जनावर खाएपछि हातखुट्टा तन्काएर सुत्छ, नजिकैबाट कोही हिँडे पनि मतलब छैन । किनकि ऊ अघाएको छ ।’

११२ ठाउँमा हुनेछ भन्ने छ, बजेट खै ?

प्रधानमन्त्रीले आफ्नो आलोचना गरेको स्मरण गर्दै ओलीले संसदमा बोल्दा प्रधानमन्त्रीले ११२ ठाउँमा हुनेछ भनेको बताए । तर, यो नीति तथा कार्यक्रम नभएको र बजेट समेत नरहेको बताए ।

उनले भूकम्प पीडितलाई पहिलो किस्ता रकम दिएको जस लिएकोमा प्रधानमन्त्रीको आलोचना गरे । आफूले सबै काम गरेको भन्दै उनले भने, ट्यांकी पनि बनेको छ, पाइप पनि बिछ्याइएको छ । अनि प्रधानमन्त्रीले धाराको खोलेर भन्नु भयो, देख्नु भो गर्ने मान्छेले यसरी गर्छ ।’

अबको केही समयपछि तुइन पनि विस्तापित हुने भन्दै उनले भने, त्यसपछि प्रधानमन्त्रीले भन्नु हुनेछ (आफ्नो हातले आफैंलाई धाप पारेको संकेत गर्दै) वा वा वा !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment