Comments Add Comment

नेपालमा पनि देखियो चिकनगुनिया, कसरी बच्ने ?

११ असोज, काठमाडौं । छिमेकी मुलुक भारतमा चिकनगुनियाका विरामीको संख्या बढीरहेका बेला नेपालमा पनि एक व्यक्तिमा चिकिनगुनियाको संक्रमण भेटिएको छ । गत साता चितवन घर भएकी एक महिलामा चिकनगुनिया संक्रमण भेटिएपछि नेपालमा पनि यो रोग भएको पुष्टि भएको हो ।

Chikungunya_Testचिकनगुनिया जाँच गर्ने किट नेपालमा अभाव भएकाले यसको संक्रमण अझै कति जनामा छ भन्ने कुराको यकिन जानकारी छैन ।

चितवनकी ति संक्रमित महिला भने हाल आवश्यक उपचार पूरा गरी घर फर्किसकेकी शुक्रराज ट्रपिकल अस्पताल टेकुले जनाएको छ ।

अस्पतालका अनुसार सुरुमा जोर्नी दुख्ने, आँखाका गेडी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने लगायतको समस्या देखिएपछि ति महिला जाँचका लागि अस्पताल पुगेकी थिइन् । अस्पतालले सुरुमा उनमा डेंगुको शंका गरिएको थियो तर रिपोर्ट नेगेटिभ आएपछि पुनः परीक्षण गर्दा चिकनगुनिया संक्रमण भएको पाइएको शुक्रराज ट्रपिकल अस्पतालका कल्सल्टेण्ट ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाले बताए ।

‘ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांशपेशी दुख्ने लगायतका विभिन्न समस्या लिएर आएकी महिलाको रगत परीक्षणका क्रममा उनमा चिकनगुनिया भएको पाइएको थियो,’ डा. बास्तोलाले भने, ‘उनलाई आवश्यक उपचार गरी घर फर्काइसकेका छौं ।’

उनका अनुसार यो रोग एडिस नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यसलाई एजिप्टी पनि भनिन्छ । यो लामखुट्टे डेंगु, जिका भाइरस तथा एलो फिवर (पहेलो ज्वरो) सार्नका लागि पनि चिनिने गर्दछ । नेपालमा जिका भाइरस र एलो फिवर अहिलेसम्म देखिएको छैन भने डेंगु केहि समय पहिले वीरगञ्जमा देखिएको थियो ।

 

के हो चिकनगुनिया ?

डा. अनुप बास्तोलाका अनुसार अफ्रिकी मुलकमा जोर्नीको दुखाईका क्रममा कुप्रो पर्ने आसनलाई चिकनगुनिया भनिन्छ ।

एडिस नामक लामखुट्टेले धेरै मानिसलाई टोकेमा यो रोग मानिसमा देखा पर्ने गर्छ । विशेषगरी चिकनगुनिया सार्ने लामखुट्टेले जहिले पनि एकभन्दा बढी मानिसलाई टोक्ने भएकाले नै यसको संक्रमण पनि धेरै हुने गरेको चिकित्सकहरु बताउँछन् ।

यो रोग १९५२ मा पहिलो पटक साउथन टान्जानियामा देखा परेको थियो । यो रोग अहिलेसम्म युरोप, अफ्रिका, एसिया लगायत विश्वका ६० भन्दा बढी देशहरुमा देखा परिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो समय यो रोगका कारण भारतमा हजारौं मानिस प्रभावित बनेका थिए । अहिले यो रोग नेपालमा पनि देखिएको हो । चिकनगुनिया फैलाउन लामखुट्टेले डंगुु पनि फैलाउने हुँदा यसबारे सजग हुन चिकित्सकको सुझाव छ ।

चिकनगुनियाका लक्षण

सामान्यतयाः चिकनगुनिया सार्ने लामखुट्टले टोकेको तीनदेखि सात दिनभित्र यसको लक्षण देखा पर्न सुरु हुन्छ ।चिकनगुनियाको संक्रमण भएमा मानिसलाई एक्कासी ज्वरो आउँछ । मांसपेशी बाउँडिने, शरीरका हड्डी दुख्ने, एक हप्तामै शरीर कमजोर हुने लगायतका समस्या देखिन्छ ।

चिकनगुनियाको संक्रमण भएमा मानिसमा उच्च ज्वरो आउँछ । ज्वरो एक्कासी बढेर १०४ डिग्रीसम्म पुग्नसक्छ । यसैगरी कम भोक लाग्नु, कमजोरी महसुस हुनु, टाउको दुख्नु, बेस्सरी जोर्नी दुख्नु, जोर्नी सुन्निनु यसका लक्षण हुन् । मांशपेशी दुख्नु, लगातार उल्टी हुनु, उल्टीमा रगत देखापर्नु पनि यस रोगका लक्षण हुन् ।

यो समस्या भएमा मानिस एकाएक विरामी भई केही गर्न नसक्ने अवस्थामा पुग्दछ । यो रोग लागेमा मानिसको तत्काल मृत्यु भने हुँदैन ।

उपचार पद्धति

चिकनगुनिया डेंगु तथा मलेरिया जस्तै एक प्रकारको लामखुट्टेबाट मानिसमा सर्ने रोग हो । यो रोगको उपचार पद्दति खासै छैन । अझ भनौं चिकनगुनियाको अहिलेसम्म औषधि पत्ता लागेको छैन ।

त्यसैले लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोग लाग्नबाट बच्नु हो । त्यसबाहेक पानी प्रशस्त पिउने र शरीरमा पानीको मात्रा कम हुन नदिन प्रशस्त झोलिलो पदार्थ सेवन गर्नुपर्दछ ।

ज्वरो घटाउन र जोर्नीको दुखाई कम गर्न सिटामोल पनि प्रयोग गर्न सकिन्छ ।

बच्ने उपाय

यो रोग लामखुट्टेको टोकाईबाट सर्ने हुँदा लक्षण सुरु भएको पहिला हप्ता यो रगतमा देखिन्छ । जुन संक्रमित व्यक्तिको शरीरबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्नु नै जरुरी छ ।

लामखुट्टेबाट बच्न घरभित्र तथा बाहिर पानी जम्न नदिने, खाली भाँडाहरुलाई सकेसम्म घोप्ट्याएर राख्ने, विशेषगरी दिउँसोको समयमा चिकनगुनियाको संक्रमण धेरै हुने हुँदा बाहिर हिँड्दा शरीर ढाकिने लामो लुगा लगाउने र दिउँसो अथवा राति सुत्दा लामखुट्टे नछिर्ने झुलको प्रयोग गर्नुपर्दछ ।

गाढा रंगको लुगामा लामखुुट्टे आकर्षित हुने भएकाले लामखुट्टे लाग्ने समयमा हल्का रंगको लुगा लगाउनु उपयुक्त हुन्छ ।
यसबाहेक २४ घण्टासम्म पनि धेरै ज्वरो आएमा चिकित्सकलाई देखाउनु उचित हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

ज्वरो आउँदैमा चिकनगुनिया नै भयो भनेर आत्तिनुपर्दैन । किनकी सबै ज्वरो चिकनगुनिया हुँदैन । तर, उच्च ज्वरो आयो भने अस्पताल गएर जचाउँन भने ढिलाइ नगर्नु नै बुद्धिमानी हुन्छ ।

तर, चिकनगुनियाको ज्वरो देखा पर्दैमा अस्पताल भर्ना भने हुनुपर्दैन । डिहाइड्रेसन (शरीरमा पानी कम हुनु)बाट बँच्नुपर्छ । त्यसका लागि धेरै पानी पिउनुपर्दछ । धेरै पानी पिउँदा पनि यो रोग निको हुन्छ ।

किट अभावमा रोग परीक्षणमा कठिनाई

नेपालमा एक व्यक्तिमा चिकनगुनियाको संक्रमण देखिएसँगै अन्य व्यक्तिमा पनि यो रोग सर्न सक्ने खतरा देखिएको छ ।

तर चिकनगुनिया जाँच गर्ने किट अभावमा यसको संक्रमण अझै कति जनामा छ भन्ने कुराको यकिन जानकारी नभएको स्वास्थ्य सेवा विभाग टेकुले जनाएको छ ।

विभागका अनुसार हाल यो जाँच गर्ने किट केन्द्रीय प्रयोगशाला टेकुमा मात्र छ । त्यसबाहेक, नेपालमा अन्य कतै पनि यो जाँच गर्ने उपकरण छैन । उपकरण नहुँदा चितवनमै पनि यस रोगका विरामी अरु भए-नभएको थाहा नभएको विभाग स्रोत बताउँछ । स्रोत भन्छ ‘चितवनमै पनि यस रोगका विरामी छन् कि भनेर बुझ्ने प्रयास भएको थियो । तर त्यहाँका चिकित्सकले कीट अभावमा रोगको पहिचान गर्न कठिन भएको बताइरहेका छन् ।’

यद्यपी विभागले चितवन, जनस्वास्थय कार्यालयलाई संक्रमण हुन सक्ने ठाउँहरुको निरीक्षण गर्न र सजगता अपनाउन निर्देशन दिइसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment