Comments Add Comment

दिल्लीको दृष्टि सार्क होइन विमिस्टेकः नेपाल र भुटानले साथ दिने अपेक्षा

भारतले नेपाललाई भन्यो- सार्क सम्मेलनमा भाग लिन सकिन्न

modi_nawajsarif१२ असोज, काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका कारण एक महिनापछि हुने सार्क शिखर सम्मेलन अनिश्चित भएको छ । साकैको सम्मेलनमात्रै होइन, भविश्यमाथि नै अब प्रश्न उठ्न लागेको छ ।

पाकिस्तानको राजधानी इस्लामावादमा हुने दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर बैठकमा भाग नलिने निर्णय भारतले गरिसकेको छ । यो जानकारी सार्क अध्यक्ष राष्ट्रको हैसियतमा नेपाललाई दिइसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भारतबाट यस्तो जानकारी आएको पुष्टि गरे ।

सार्कको कुनै एक सदस्य राष्ट्रले भाग नलिएमा शिखर बैठक स्थगित हुन्छ । यसअघि पनि भारत-पाकिस्तान तनावकै कारण शिखर बैठक नभएका नजिरहरु छन् ।

आगामी १० नोभेम्बरमा निर्धारित सार्क शिखर बैठकमा भारत सहभागी नहुने विदेश मन्त्रालयलाई उधृत गर्दै बीबीसीले जनाएको छ । भारतले भनेको छ- एउटा देशले यस्तो वातावरण बनाइदियो कि, जुन शिखर बैठकका लागि उपयुक्त छैन ।

भारतको यो निशाना पाकिस्तानतिर छ । तर, विदेश मन्त्रालयको विज्ञप्तिमा पाकिस्तानको नाम भने लिइएको छैन ।

पाकिस्तानबाट घुसेका आतंकवादीले भारतको सीमावर्ती क्षेत्रमा ठूलो हमला गरेका कारण शिखर बैठकमा भारत सहभागी हुन नसक्ने पाकिस्तानका लागि पूर्वभारतीय उच्चायुक्त जी पार्थसार्थीले प्रतिक्रिया दिएका छन् ।

सार्कको विकल्प खोजिँदै

भारतले अब सार्कको साटो विमिस्टेकलाई प्रभावकारी बनाउन ध्यान केन्दि्रत गर्ने भारतीय कुटनीतिज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार भारतको यो कदममा बंगलादेश र अफगानिस्तान सँगै छन् ।

भारतको यो नीतिमा नेपाल र भुटान पनि साथै आउने अपेक्षा भारतीय अधिकारीहरुले गरेका छन् ।
पाकिस्तानका कारण सार्कमा आर्थिक तथा उर्जा लक्षित धेरै मुद्दा कार्यान्वयन गर्न नसकिने भएकाले भारतको ध्यान सार्कबाट विमिस्टेकतर्फ गएको उनीहरुको दावी छ ।

गोवामा हुने बि्रक्स शिखर सम्मेलनमा सार्कको साटो बिमिस्टेकका सदस्यलाई भारतले आमन्त्रण गरेको छ । जसमा नेपाललाई पनि निम्त्याइएको छ ।

पाकिस्तानले भन्यो- दुर्भाग्यपूर्ण

भारतले पाकिस्तानलाई आतंकवादको केन्द्र भन्दै आएको छ । सार्क शिखर सम्मेलनमा सहभागी नहुने भारतको यो सार्क इतिहासकै पहिलो निर्णय हो ।

भारतको पछिल्लो निर्णयलाई पाकिस्तानले दुर्भाग्यपूर्ण भनेको छ । पाकिस्तानी विदेश विभागका प्रवक्ताले भने भारतको यो निर्णयको आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन् र यो घोषणालाई दुर्भाग्यपूर्ण भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment