Comments Add Comment

एक वर्षपछि एमाले अध्यक्ष ओली मधेस पस्दै !

मधेसमा खस्केको जनमत उकास्न एमालेको अभियान

KP Sharma Oli, UML Chairman 1१२ असोज, काठमाडौं । मधेस विरोधी भन्ने आरोप चिर्न प्रमुख विपक्षी दल नेकपा एमालेले तराई मधेस केन्द्रित जनपरिचालन अभियानलाई प्राथमिकता दिएको छ । एमालेको मधेस अभियान आजैबाट शुरु भएको पार्टी नेताहरुले जनाएका छन् ।

प्रधानमन्त्री हुँदासमेत आन्दोलनको रापले तातिएको मधेस नगएका एमाले अध्यक्ष केपी शर्मा ओली बुधवार बाराको कोल्हवी पुगेर मधेस केन्द्रित अभियानको थालनी गर्दैछन् ।

त्यहाँ उनले एमालेको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दैछन् । मधेस आन्दोलनका कारण रक्षात्मक अवस्थामा पुगेको पार्टी पंक्तिलाई उनले कोल्हबीबाटै परिचालन गर्नेछन् ।

ओलीले पार्टीका बरिष्ठ नेताहरु सहित २ नम्बर प्रदेशकमा मधेसी नेताहरुलाई लिएर बाराबाटै तराई मधेस जनपरिचालन अभियान शुरुवात गर्दैछन् ।

ओलीको बारा आगमनसँगै मधेसमा एमाले बिरुद्धको भ्रम चिर्ने अभियान शुरु हुने एमाले केन्द्रीय सदस्य तथा बाराका सांसद बलवीरप्रसाद चौधरीले बताए ।

संविधान जारी गर्नुअघिदेखि मधेसमा एमालेका ठूला र औपचारिक सभाहरु हुन सकेका छैनन् । एमालेले यसबीचमा राजमार्ग आसपासका ठाउँहरुमा मात्र पार्टी कार्यक्रम गर्दै आएको छ ।

एमालेको मंगलवार सम्पन्न केन्द्रीय कमिटी बैठकले मधेस केन्दि्रत विशेष कार्यक्रम सन्चालन गर्ने गरि योजना बनाएको महासचिव ईश्वर पोखरेलले बताए । ‘हामी मधेस र मधेसी जनतासँगै छौं, केही मसिहा र मधेस केन्दि्रत दलहरुले लगाएका आरोप हामी मधेसबाटै प्रतिवाद गर्छौं’ पोखरेलले भने ।

सीमांकन पुनरावलोकन लगायत विषयमा संविधान शंसोधनको माग मधेस आन्दोलनको छ । एमालेले संविधान शंसोधनको पक्षमा आफूलाई अझै उभ्याएको छैन ।

एमाले नेता बैजनाथ चौधरीले भने सिमांकन पुनरावलोकन मधेसका जनताको माग नभएको बताए । उनले भने-हामी जनतासँगै छौं, जनताको चाहना बिभेदको अन्त र सामाजिक न्याय अनि विकास हो । यहाँ सीमांकनको मुद्दा उठाएर जनताको मागलाई विषयान्तर गर्न खोजिएको छ ।

एमाले केन्द्रीय कमिटीले कात्तिकदेखि माघ मसान्तसम्म चार महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सो अभियानको मुख्य उद्देश्य तराई मधेसमा पार्टीको साख उकास्न केन्दि्रत हुने एमाले स्रोतले जनाएको छ ।

अभियानको अन्त्यमा गर्ने जनसभा र वृहत र्‍याली पनि एमालेले तराई केन्दि्रत गर्न खोजेको छ । सात प्रदेशमा गरिने आठ ठूला सभामध्ये चारवटा सभा तराई मधेसमा गर्ने तय भएको छ ।

एमालेले १ नम्बर प्रदेशको विराटनगर, २ नम्बरको जनकपुर,५ नम्बरका बुटवल र नेपालगन्ज र ७ नम्बरको धनगढीमा एमाले केन्दि्रत भएको छ । ‘अब मधेसका गाउँदेखि शहरसम्म एमालेको अभियान चल्छ, एमाले बिरोधीहरुको कुप्रचारको मैदानबाटै प्रतिवाद गर्छौ’ चौधरीले भने ।

छठ पर्वलाई लक्षित गरेर एमालेले मधेसका सबै जिल्ला कमिटीहरुलाई गाउँ गाउँसम्म कार्यक्रम बनाउन निर्देशन समेत दिएको छ । मधेसमा कस्ता कार्यक्रम बनाएर लैजाने भन्ने बारे मधेसकै नेता र कमिटीहरुसँग छलफल गरेर थप निर्णय हुने सचिव योगेश भट्टराईले बताएका छन् ।

एमाले नेतृत्वको सरकारले तराई मधेसको विकास र सामाजिक रुपमा पछि पारिएका समुदाय लक्षित कार्यक्रमहरुमा गरेको बजेट व्यवस्थालाई अभियानका क्रममा जनता समक्ष प्रवाह गर्ने योजना बनाएको छ ।

तराईका जिल्ला सदरमुकामको विकासका लागि प्रत्येक जिल्लालाई ५० करोड रुपैयाँ छुट्याएको,हुलाकी राजमार्ग र सम्बृद्ध तराईको सिन्चाईका लागि बजेट बिनियोजना गरिएको विषय जनताले बुझ्ने गरि कार्यक्रम लगिने २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले बताए ।

तराई मधेसको विकासलाई मुख्य विषय बनाएर जनपरिचालन अभियान सन्चालन गर्ने गरि एमालेले मधेसका अरु मुद्दाहरु समेटेर विशेष कार्यक्रम बनाउन लागेको छ । यसबीचमा मधेसका नागरिक समूहसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम बनाइएको एमालेले जनाएको छ ।

मधेस केन्दि्रत अभियानमा पार्टीमा मधेसी नेताहरुका साथै अध्यक्ष केपी ओली,बरिष्ठ नेता माधवकुमार नेपाल,महासचिव इश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल लगायतका नेताहरु परिचालन हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment