Comments Add Comment

रेशम चौधरीलाई नियतबस भेटेको होइन- प्रधानमन्त्री

'चैतमा चुनाव हुन्छ, शंका नगर्नुहोस्'

PM-Prachand-at-Chitwan१२ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैतमा चुनाव हुनेमा शंका नगर्न आग्रह गरेका छन् । उनले संविधान संशोधनमा एमालेले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री प्रचण्डले इलाकालाई स्थानीय निकाय बनाउने मन्त्रिपरिषदको निर्णय भएको भन्दै यसमा सबै दल सहमतिमा आउने विश्वास व्यक्त गरे ।  इलाकालाई मधेस केन्द्रित दलले पनि सहमति जनाउने उनको विश्वास छ ।

संविधान संशोधनमा प्रमुख विपक्षी एमालेले सहमति जनाउँछ त भन्ने पत्रकारको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, ‘एमालेले असहमति जनाउने कुरै छैन । सहमतिमा आउँछ । हामी गम्भीर गृहकार्यमा छौं । राष्ट्रिय संकट समाधान गर्नु हामी सबैको कर्त्व्य हो ।’

संविधान संशोधन दशैं अगाडि नै हुने र चैतमा चुनाव हुने उनले बताए । उनले चैतमा चुनाव गराउने वातावरण बनाउने भूमिका खेल्न पत्रकारहरुलाई पनि आग्रह गरे ।  प्रधानमन्त्रीले भने, ‘चैतमा चुनाव भएरै छाड्छ, त्यसमा शंका नगर्नोस् । चैतमा चुनाव गराउने हामी सबैको दायित्व हो ।’ चुनावको तयारी युद्धस्तरमा भइरहेको उनले जानकारी दिए ।

मधेस केन्द्रित दलहरुले भन्दै आएको मुद्दा फिर्ताको प्रसंगमा प्रधानमन्त्रीले पत्रकारहरुलाई स्पष्ट जवाफ दिएनन् । पत्रकारको जिज्ञासामा उनले भने, ‘त्यो पछिको कुरा हो, पछि नै कुरा गरौंला ।’

टीकापुर काण्डका प्रमुख आरोपी रेशम चौधरीलाई भारतमा भेट्नुको कारणबारे पत्रकारको जिज्ञासामा प्रचण्डले भेट पूर्वयोजना र नियतबस नभएको प्रष्टिकरण दिए । ‘मैले छुट्टै भेटेको पनि होइन, भेट्ने कार्यक्रम पनि थिएन,’ उनले भने, ‘सार्बजनिक ठाउँमा को-को आए र भेटेर गए, यो नियतबस होइन ।’

भारत भ्रमणको क्रममा ताज होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले रेशम चौधरीलाई भेटेको भन्दै आलोचना भएको थियो । मंगलबारको संसद बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस विषयलाई कोट्याएर प्रचण्डको आलोचना गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले चितवनको विकास निर्माणलाई प्राथमिकता दिने पनि बताए । आफ्नो गृहजिल्लाको विकासमा किन ध्यान नदिएको भनेर पत्रकारले राखेको प्रश्नमा प्रचण्डले भने, ‘आफ्नो जिल्लामा काम नगर्दा घाटा हुने रहेछ भन्ने बुझें । अब मेरो दोस्रो कार्यकालमा चितवनको विकासले प्राथमिकता पाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment