Comments Add Comment

दीपकुमारले भने- म फुटबल भएको छैन

१२ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायले आफूलाई अघिल्लो सरकारले विना कसुर हटाएको बताएका छन् ।

Deep-Kumarबुधबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा प्रस्तावित राजदूत उपाध्यायले आफू आफ्नो राजनीतिक जीवनलाई दाउमा राखेर फेरि राजदूतमा जान तयार भएको बताए ।

उपाध्यायलाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले फिर्ता बोलाएको थियो । तर, प्रचण्ड नेतृत्वको सरकारले फेरि भारतकै लागि राजदूतमा प्रस्ताव गरेको छ ।

कांग्रेस र एमालेको जुहारी

संसदीय सुनुवाई समितिको बैठकमा एमाले सांसदहरुले प्रस्तावित राजदूत उपाध्यायमाथि गम्भीर आरोप लगाए । भानुभक्त ढकाल, अष्टलक्ष्मी शाक्य, गणेशमान गुरुङ लगायतका सांसदहरुले उपाध्यायमाथि देशको हितमा काम गर्न नसक्ने आरोप लगाए ।

एमाले सांसदहरुले अघिल्लो सरकारले फिर्ता बोलाएको व्यक्ति फेरि त्यही देशमा राजदूत बन्न प्रस्ताव गर्दा किन अफ्ठ्यारो लागेन ? प्रतिशोधको विम्ब भएर जान लागेको हो ? भन्ने जस्ता प्रश्न गरे । एमाले प्रमुख समेतक समेत रहेका ढकालले नेपालमा ९/९ महिनामा सरकार परिवर्तन हुने भन्दै उपाध्यायलाई प्रश्न गरे, ‘एउटा सरकारले नियुक्त गर्ने, अर्कोले फिर्ता बोलाउने, फेरि अर्कोले नियुक्त गर्ने । तपाईलाई फुटबल जस्तो भएको अनुभूति हुँदैन ?’

उपाध्यायलाई उनले टेष्टमा फेल भइसकेको भन्दै अब राजदूत हुँदा कानुनी हिसावले देशकै राजदूत भएपनि व्यावहारिक रुपमा सबैको हुन नसक्ने बताए ।

तर, कांग्रेसका सांसदहरुले भने पार्टीका पूर्वनेता समेत रहेका उपाध्यायको बचाउ गरे । चिनकाजी श्रेष्ठ, आनन्द ढुंगाना, चित्रलेखा यादवले उपाध्याय कुशल व्यक्तित्व भएको बताए ।

कांग्रेस प्रमुख सचेतक समेत रहेका श्रेष्ठले भारतसँगको सम्वन्ध राजदूतले नभई संविधान जारी भएको विषयलाई लिएर विगि्रएको बताए । उपाध्यायलाई फिर्ता बोलाउँदा सरकारले असक्षम भएको छ भनेर कहाँ भनेको छ भनेर उनले प्रश्न गरे ।

कांग्रेस र एमाले सांसदहरु उपाध्यक्षको बचाउ र विरोधमा उत्रिएपछि माओवादी सांसद अनिता परियारले प्रस्तावित राजदूतको प्रतिवद्धता र सोचबारे सोध्नुका साटो किन प्रशंसा र बचाउ गरिरहेका छौं भन्दै सदस्यहरुलाई प्रश्न गरिन् ।

उपाध्यायले के जवाफ दिए ?

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत उपाध्यायले आफू नमरुन्जेल कांग्रेसप्रति आस्था रहने तर, कूटनीतिक पदमा रहँदा त्यस्तो नहुने बताए । दूतावासलाई एउटा पार्टी विशेषको नबनाउने उनको प्रतिवद्धता थियो ।

असक्षम भएको एमाले आरोपतर्फ संकेत गर्दे उनले अघिल्लो सरकारले आफूलाई फिर्ता बोलाउँदा कुनै अभियोग नलगाएको भन्दै अनेक चर्चा गर्नु व्यर्थ भएको बताए । तर, उनले राष्ट्रपति विद्या भण्डारीको भ्रमण अन्तिम समयमा स्थगित गर्नु गलत भएको बताए ।

दुई देशको सम्वन्ध राजदूतले चाहेको भरमा विगार्न कुनै स्वीच नहुने उनको धारणा राखे । उनले अघि, ‘मैले मेरो कुनै चुक हुने दिने छैन । देशको हितमा काम गर्छु ।’

एमाले सांसदहरुले भनेको जस्तो आफू फुटबल नभएको उनले स्पष्टिकरण दिए । ‘म फुटबल भएको पटक्कै होइन,’ उनले भने, ‘नेपालको समस्या नेपालले नै समाधान गर्ने हो । आफैंलाई अविश्वास गरेर अरुतिर अभियोग गरे कहाँ पुग्छौं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment