Comments Add Comment

चीनसँग सम्झौता गर्न अर्को देशलाई सोध्नु पर्दैनः प्रस्तावित राजदूत पौडेल

Lilamani-Paudel

१२ असोज, काठमाडौं । चीनसँग भएको सहमति कार्यान्वयनका लागि आफूले राजदूत पद स्वीकार गरेको प्रस्तावित राजदूत लीलामणि पौडेलले बताएका छन् । यो सम्झौताले नेपाल र चीन सम्वन्धलाई नयाँ उचाइमा पुर्‍याउन ढोका खोल्ने बताए ।

संसदीय सुनुवाई विशेष समितिको बैठकमा सुनुवाईका लागि बुधबार उपस्थित प्रस्तावित राजदूत पौडेलले भने, ‘प्रधानमन्त्रीले राजदूत प्रस्ताव गर्दा मैले सहज स्वीकार गर्नुको मुख्य कारण (प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको) सम्झौताको महत्व हो ।’

उनले अघि भने, ‘दुई देशको सम्वन्धलाई नयाँ उचाईमा लिएर जाने सम्भावना छ । सम्झौताले यो ढोका खोलेको छ । हाम्रो पनि चेत खुलेको छ ।’

नेपालले चीनसँग सम्वन्ध सुधार गर्दा वा कुनै सम्झौता गर्दा अमुक देशविरोधी भयो भन्ने मानसिकता भएको उनले बताए । दुई स्वतन्त्र नेपाल र चीनले द्विपक्षीय हितका विषयमा सम्झौताहरु गर्नसक्ने भन्दै उनले भारतको नाम नलिई भने, ‘हामीले अर्को मुलुकलाई सोध्नु पर्दैन ।’

यद्यपि यस्ता सम्झौताहरु अर्को मुलुकलाई च्यालेन्ज गर्ने भने हुन नहुने चीनका लागि प्रस्तावित राजदूत पौडेलले बताए ।

नेपालले पर्यटनको क्षेत्रमा चीनबाट धेरै लाभ लिन सक्ने सम्भावना भएपनि लिन नसकिरहेको उनले बताए । यसका लागि सहज आवागमन, बजार प्रवर्द्धन र नयाँ गन्तव्यहरुको पहिचानमा समस्या रहेको भन्दै उनले सुधारमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment