Comments Add Comment

जन्मदिनमा लता मंगेशकरले सम्झिइन् राजा वीरेन्द्रले लेखेको गीत

Lata-Mangeshkar

भारतकी प्रख्यात गायिका लता मंगेशकर आजबाट ८८ वर्षमा लागेकी छिन् । वयोवृद्ध उमेरमा पनि उनी गायनमा अझै सक्रिय छिन् ।

शास्त्रीय संगीतमा पनि राम्रो दखल भएकी गायिकाले ८७औं जन्मदिनको अवसरमा लिइएको अन्तर्वार्तामा आफ्नो संगीतयात्राको अनुभव सुनाउँदै नेपाली गीत पनि सम्झिएकी छिन् । भारतीय अनलाइन ‘द क्विन्ट’सँगको अन्तर्वार्तामा उनले ‘माइतीघर’ फिल्मका लागि गाएको गीत आफ्नो करिअरकै अप्ठेरोमध्येको एउटा गीत भनेकी छिन् ।

‘माइतीघर’ का लागि लताले ‘तिमीलाई शुभकामना’ बोलको गीत गाएकी थिइन् । जुन गीत राजा वीरेन्द्रले लेखेका थिए । फिल्ममा भारतीय संगीतकार जयदेवको संगीत थियो ।

त्यसबेलाका संगीतकारहरुमध्ये जयदेवलाई निकै चुनौतीपूर्ण भन्दै उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘उनी कुनै गीतमा संगीत भरेपछि सबै तनाव मेरै जिम्मामा छाडिदिन्थे । गीतमा के गर्नुपर्छ भनेर पहिले नै भनिसकेपछि आफूले आत्तिनुपर्ने जरुरी छैन भन्थे ।’ त्यसै क्रममा जयदेवद्वारा संगीतबद्ध माइतीघरको गीत आफूलाई चुनौतीपूर्ण लागेको लताले बताएकी छिन् ।

सो फिल्ममा भारतकै अर्का गायक मन्ना डे र लताकी बहिनीहरु आसा भोसले र उषा मंगेशकरले पनि गाएका थिए । आसाले स्वर दिएको ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ गीत निकै चर्चित छ । ‘माइतीघर’ ०१८ सालमा निजी लगानीमा निर्माण थालिएर विभिन्न कारणले ०२३ सालमा तयार भएको फिल्म थियो । फिल्ममा माला सिन्हा र चिदाम्बरप्रसाद (सीपी) लोहनीको मुख्य भूमिका थियो ।

भारतीय फिल्मको पाश्र्व गायनमा सन् १९४० को दशकदेखि ९० को दशकसम्म एकछत्र जमेकी लताले बलिउड फिल्मक्षेत्रमा प्रतिष्ठित मानिने दादासाहेब फाल्के अवार्ड, भारत रत्न, पद्म भुषण लगायतको सम्मान पाएकी छिन् । क्षेत्रीय तथा विदेशी गरी तीन दर्जनभन्दा बढी भाषामा गीत गएकी उनले केही मराठी फिल्ममा संगीत पनि दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment