Comments Add Comment

कैलाली घटनाका आरोपीको मुद्दा फिर्ता नलिए चुनाव नहुने चेतावनी

राज्य व्यवस्था समितिमा एमाले र मधेसी सांसदबीच जुहारी

810

१२ असोज, काठमाडौं । कैलाली घटनाका आरोपीको मुद्दा फिर्ता लिने विषयलाई लिएर संसदको राज्य व्यवस्था समितिमा नेकपा एमाले र मधेस केन्द्रित दलका सांसदबीच जुहारी चलेको छ ।

तीन तहको निर्वाचन गराउन सरकारले गरेको तयारीबारे समितिले निर्वाचन आयोगका पदाधिकारी, गृहमन्त्री र कानुनमन्त्रीलाई बोलाएर जानकारी मागेको थियो । त्यसक्रममा एमालेका सांसदहरुले विषयवस्तुभन्दा बाहिर गएर सरकारले कैलाली घटनाका आरोपीहरुको मुद्दा फिर्ता लिन लागेको भन्दै आलोचना गरेपछि मधेस समुदायका सांसदहरुले त्यसको प्रतिवाद गरेका हुन् ।

एमाले सांसद यज्ञबहादुर सुनुवारले सरकारले कैलाली घटनाका आरोपीलाई उन्मुक्ति दिन खोजेको भन्दै विरोध जनाए । उनले भने, ‘एक वर्षको बालकले के गल्ति गर्‍यो र आन्दोलनका नाममा हत्या भयो ? प्रहरीलाई जीउँदै जलाउनेहरुलाई राजनीतिक घटना भनेर उन्मुक्ति दिन खोजिदैछ ।’ उनले प्रश्न गरे, ‘कस्तो राज्य व्यवस्थाको अभ्यास गर्न खोजियो ?’

अर्का एमाले सांसद रामेश्वर फुयाँलले पनि कैलाली घटनाका दोषीलाई कुनै हालतमा राजनीतिक रंगमा उन्मूक्ति दिन नहुनेमा जोड दिए । सत्ता जोगाउन सरकारले जथाभावी निर्णय लिन थालेको भन्दै फुयाँलले पनि आपत्ती जनाए ।

निर्वाचन नहुने चेतावनी

लगत्तै फोरम लोकतान्त्रिकका सांसद रामजनम चौधरीले एमालेका सांसदहरुको भनाइप्रति आपत्ती जनाउँदै कैलाली घटनाको मुद्दा फिर्ता नलिएसम्म निर्वाचन हुन नसक्ने चेतावनी दिए । उनले भने, ‘थारुका घर छानी-छानी जलाइयो, ती दोषीलाई कारबाही त परैको कुरा चर्चा समेत हुँदैन, तर आफ्नो अधिकारका लागि संघर्षमा होमिने थारु समुदायलाई अपराधी घोषणा गर्न खोजिदै छ । एमालेले के भन्न खोजेको हो ?’

उनले एमालेका सांसदहरुले लगातार कैलाली घटनाका आरोपिका मुद्दा फिर्ताविरुद्धको गतिविधि गरेको भन्दै आपत्ती जनाए ।

त्यसलगत्तै मधेसी जनअधिकार फोरम नेपालका सांसद लालबाबु राउतले पनि चौधरीलाई साथ दिँदै धारणा राखे ।

एमालेलाई इंगित गर्दै उनले भने, ‘हामी त कम्तिमा लोकतान्त्रिक पद्दतीलाई आत्मसाथ गर्छौं, मान्छे मार्नु हुँदैन भन्नेमा विस्वास गर्छौं ।’

उनले थपे, ‘हिंसामा विश्वास गर्ने तपाईं एमाले र माओवादीले मान्छे मार्नु भएन ? त्यो कसरी राजनीतिक मुद्दा भयो ?’

राउतले थप प्रश्न गरे, ‘झापा विद्रोहका नाममा त्यतिका मान्छे मारियो, त्यो विद्रोहमा गुलेली चलाउनु भएको थियो की शान्तिपूर्ण थियो ?’

एमालेले यसको जवाफ दिनुपर्ने उनले बताए ।

१७ हजार मान्छे मर्नेगरी भएको जनयुद्ध र झापा विद्रोका नायक प्रचण्ड र केपी ओली प्रधानमन्त्री भएको भन्दै सांसद राउतले ती हिंसात्मक आन्दोलनहरु राजनीतिक थिए भन्दै त्यसका नायकहरु केपी ओली र प्रचण्ड प्रधानमन्त्री भएको तर मधेसको विद्रोहलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए ।

उनले भने, ‘यसरी गइयो भने राजनीति गलत बाटोमा जान्छ, अरुलाई सिध्याउनै पर्छ भन्ने भावनाले राजनीति नगर्नुस् ।’

कैैलाली घटनाका सम्वन्धमा एमाले सांसदहरुले उठाएको विषयमा कांग्रेस र मधेसी समुदायका सांसदहरुले समेत आपत्ती जनाएका थिए । सांसदहरु अमरेशकुमार सिंह र रामकृष्ण यादवले मधेसको असन्तुष्टिलाई राजनीतिक रुपमा सम्बोधन गरेरमात्र निर्वाचनको वातावरण बन्न सक्ने धारणा राखेका थिए । उनीहरुले एमालेले चाहेको राजनीतिक सोचले मुलुकलाई दुर्घटनामा लैजाने समेत चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment