Comments Add Comment

दशैंमा खसीबोका र कुखुराको मासुको मूल्य कति ?

१२ असोज, काठमाडौं । यसवर्ष दशैंमा खसीको मासुको मूूल्य कति होला ? ब्यवसायीहरु यस विषयमा प्रष्ट जवाफ दिन चाहाँदैनन् । तर, आपूर्ति सामान्य अवस्थमा रहे खसीको मासु प्रतिकिलो ८ सय ५० रुपैयाँ भन्दा माथि नजाने उनीहरूको भनाइ छ  ।

meatजीउँदो खसीको मूल्य गतवर्षको भन्दा बढेकाले  मासु सामान्य महंगिने नेपाल माछामासु ब्यवसायी संघ काठमाडौंका महासचिव शिबरत्न शाहीले बताए ।

गतवर्षको दशैंदेखि नै खसीको मासु ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो वर्ष पनि प्रतिकिलो ५० रुपैयाँसम्म बढ्ने दावी संघको छ ।

अहिले प्रतिकिलो ८ सय

खसीको मासु अहिले ८ सय रुपैयाँ भन्दा माथि छ । कतिपय पसलहरुमा खसीको मासुको मूल्य अहिले नै ८ सय ५०  रूपैयाँसम्म छ ।

‘खसीको मूल्य क्रमश बढ्दो छ । बजारमा माग अनुसार खसीबोका आएपनि मूल्य घट्ने अवस्था देखिन्न,’ शाहीले भने ।
उनकाअनुसार घटस्थापनापछि बजारमा खसीको आपूर्तिले पनि मूल्य निर्धारण हुन्छ । बजारमा आपूर्ति धेरै भए मूल्य घट्ने भएकाले अहिले ठ्याक्कै मूल्य यति नै हुन्छ भन्नु असान्दर्भिक हुने उनले बताए ।

‘धेरै आपूर्ति भए मूल्य घट्न पनि सक्छ । दशैंमा दिन-दिनमै मूल्य तलमाथि हुन्छ । तर, पोहोरभन्दा सस्तोमा भने मासु बिक्री हुन सक्ने अवस्था छैन,’ महासचिव शाहीले भने ।

दशैंमा माग कति ?

उनले काठमाडौंमा समान्य अवस्थमा दैनिक १ हजार २ खसीबोका खपत हुने बताए । दशैंमा त्यो संख्या झण्डै तेब्बर हुने ब्यबसायी बताउँछन् । यो वर्ष दशैंका लागि काठमाडौंमा झण्डै ५५ हजार खसीबोका भित्र्याइने छ ।

दशैंमा मासु पसलका लागि नै सरदर दैनिक १८ सयदेखि २ हजार खसीबोका आवश्यक पर्छ । संघसंग दशैंमा खुला रुपमा कति खसीबोका जीउँदै सर्वसाधरणले किन्छन् भन्ने तथ्यांक पनि छैन । दशैंमा झण्डै ५० हजार खसीबोकाको माग हुने शाहीले बताए ।

खाद्य संस्थानले पनि केही खसीबोका ल्याएपछि जीउँदोको मुल्य सार्वजनिक गर्छ । त्यसैका आधारमा पनि बजारमा खसीका मासुको मूल्य निर्धारण हुन्छ । खाद्य संस्थानले भने घटस्थापनामा खसीबोका बिक्री सुरु हुनुभन्दा अघिल्लो दिनमात्रै मुल्य तोक्ने जनाएको छ ।

कुखुराले राहत

यसवर्ष दशैंमा कुखुराको मासु भने सुलभ मूल्यमै किन्न पाइने भएको छ । दशैंमा कुखुराको मासु र अण्डाको मूलय भने खासै बढ्ने स्थिति छैन ।

कुखुरा उत्पादनमा नेपाल आत्मनिर्भर रहेको र कुखुराको माग पनि यो समयमा घट्ने भएकाले मूल्य नबढ्ने व्यवसायीको भनाइ छ ।

अहिले बजारमा कुखुरको मासुको मूल्य प्रतिकिलो २८० देखि ३ सय रुपैयाँसम्म छ । तोकिएको मूल्य भने २ सय ८५ रुपैयाँ हो । कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसी समान्यतयाः दशैंमा कुखुराको खपत कम हुने भएकाले मूल्य नबढ्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment