Comments Add Comment
सन्दर्भः भारत-पाक तनाव :

बलुचिस्तान कार्डः मोदीको अदुरदर्शिता

पाकिस्तानलाई अस्थिर बनाउँदा भारतलाई फाइदा कि घाटा ?

WAGHA-Boarder

(समाचार टिप्पणी)

१२ असोज, काठमाडौं । भारत र पाकिस्तानवीच अहिले तनाव बढेको छ । इस्लामावादमा हुने सार्क शिखर सम्मेलनसमेत यही तनावका कारण स्थगन हुने निश्चित भइसकेको छ । अब दक्षिण एशियाका दुई आणविक राष्ट्रवीचको तनावले युद्धको रुप लिन्छ वा यत्तिकै सेलाउँछ भन्ने प्रश्न सतहमा आएको छ ।

अर्को महत्वपूर्ण पक्ष के छ भने यो तनावले नेपाल र नेपालीलाई जरुर असर गर्नेछ । यो तनाव अझ चर्कियो भने यसले सिंगै दक्षिण एशियालाई असर गर्नेछ र लामो समय शान्त रहेको दक्षिण एशिया मध्यपूर्व जस्तै अन्त्यहीन द्वन्द्वमा फस्नेछ । यसले चीन र भारतको प्रगतिलाई त डिस्टर्ब गर्छ नै, नेपाल र बंगलादेशजस्ता साना देशहरुको भविश्यसमेत धरापमा पारिदिनेछ ।

भारत-पाकिस्तान तनावका कारणहरुबारे चर्चा गर्दा पठानकोट र उरी आक्रमणका घटनालाई तात्कालीक कारण मान्न सकिन्छ । कास्मिर विवाद र पछिल्लो समय बलुचिस्तान मुद्दालाई दुई देशको विवादको अर्को कारकतत्व मान्न सकिन्छ ।

त्यस्तै चिनियाँ ड्रागनलाई उसैको सीमानामा रोकिराख्ने र बलुचिस्तान हुँदै अरब सागरको बाटोमा प्रवेश नदिने भारत-अमेरिकी रणनीतिलाई पनि भारत-पाक तनावको अर्को कारकतत्व मान्न सकिन्छ ।

पाकिस्तान र आतंकवाद

जब-जब भारतमा आतंकवादी हमला हुन्छन्, भारतीय पक्षले सिधै आरोप लगाउँछ कि यो पाकिस्तानले भारतमाथि गरेको आक्रमण हो । मुम्बई आक्रमण, गतसालको पठानकोट आक्रमण र यसैसाता भएको उरी आक्रमण सबैलाई भारतीय पक्षले पाकिस्तानले गरेको आक्रमण बताउने गरेको छ । ती आक्रमणहरु पाकिस्तानी संस्थापन पक्षले गरेको नभई त्यहाँ आश्रति आतंकवादीहरुले गरेका हुन् भन्ने मान्न भारत तयार छैन । पाकिस्तानले तालिवानी आतंकवादीलाई आश्रय दिएर पालिरहेको भारतको आरोप छ ।

Nawaj-Sharif

पाकिस्तान एउटा त्यस्तो देश हो जो, अफगानिस्तानबाट खुल्ला सीमानामार्फत छिरेका आतंकवादीहरुको आक्रमणको शिकार बन्ने गरेको छ । ओसामा विन लादेन आफैं यसको प्रमाण हुन् । पाकिस्तानीहरु भन्ने गर्छन् कि उनीहरु नै सबैभन्दा धेरै आतंवादीसँग जुधिरहेका छन् । तैपनि भारतले एकोहोरो आरोप लगाउने गरेको छ कि पाकिस्तान आतंकवादीहरुको देश हो ।

विगतमा अमेरिकारले इराकमाथि यस्तै आरोप लगाएको थियो । इराकमा रसायनिक हतियार रहेको अमेरिकाको दाबी थियो । खुफिया त्यही पाएको भन्दै अमेरिकाले इराकमाथि युद्ध गर्‍यो । र, अहिले त्यसैको परिणामस्वरुप विश्वले सिरिया द्वन्द्वको सामना गर्नुपरिरहेको छ । बेलायतका टोनी ब्लेयरले गल्ती स्वीकारिसकेका छन् । अमेरिकाका जर्ज बुसमाथि प्रश्न उठिसकेको छ कि इराकमाथि जे आरोपमा आक्रमण भयो, त्यसको ‘जस्टिफिकेसन’ अझैसम्म हुन सकेन । यसको विपरीत इराक आक्रमणले आइएसलाई जन्मायो ।

अहिले पाकिस्तानका बारेमा विश्लेषण गर्ने बेलामा पनि भारतीय पक्षले वस्तुसम्मत नभई आवेगात्मक काम गरिरहेको देखिन्छ । भारतमाथि जति पनि आतंकवादी हमलाहरु भइरहेका छन्, त्यसमा पाकिस्तान सरकारकै हात छ कि पाकिस्तानमा रहेका सशस्त्र विद्रोहीहरुको मात्रै हात छ ? पाकिस्तानको संस्थापन पक्ष भारतसँग सम्बन्ध सुधार्न चाहन्छ कि युद्ध चाहन्छ ? यसको वस्तुसम्मत विश्लेषण जरुरी छ ।

अमेरिकी संसदले यसैसाता पाकिस्तानका बारेमा जुन प्रस्ताव पारित गर्न खोज्यो, त्यसले दक्षिण एशियालाई मध्यपूर्व बनाउने कसरत भइरहेको बुझ्न सकिन्छ ।

निश्चय पनि पाकिस्तान, नेपालजस्ता छिमेकी देशमा हुने अशान्ति र अस्थिरताले भारतीय सुरक्षामा सकारात्मक हैन, नकारात्मक प्रभाव पार्ने र पारिरहेको छ

आतंकवाद र अतिवादसँग लडिरहेको पाकिस्तानलाई यदि आवेगमा आएर आतंकवादीको टोकरीमा हालियो भने यसले दक्षिण एशियामा शान्ति होइन, आतंकवादलाई निम्तो दिनेछ । र, सिंगै दक्षिण एशिया मध्यपूर्वी देशहरु जस्तै अन्त्यहीन द्वन्द्वमा फस्नेछ । त्यसपछि भारतमा झन् ठूला आक्रमण र हिंसाका घटना बढ्न थाल्नेछन् । आइएसले समेत यही अस्थिरताबाट भारतमा प्रवेश गर्नेछ ।

त्यसैले पनि यो महत्वपूर्ण प्रश्नको वस्तुसम्मत जवाफ खोजिनैपर्छ कि पाकिस्तान आतंकवादसँग जुधिरहेको देश हो या आतंकवादलाई पालनपोषण गरिरहेको देश हो ? भारतमा हुने आतंकवादी हमलालाई पाकिस्तान सरकारसँग सहकार्य गरेर कम गराउन सकिन्छ या उसको देशमा अस्थिरता भित्र्याएर, सिंगै पाकिस्तानलाई आतंकवादी करार गरेर भारतलाई सुरक्षित राख्न सकिन्छ ?

निश्चय पनि पाकिस्तान, नेपालजस्ता छिमेकी देशमा हुने अशान्ति र अस्थिरताले भारतीय सुरक्षामा सकारात्मक हैन, नकारात्मक प्रभाव पार्ने र पारिरहेको छ । काश्मिर मामिला नसल्टिँदा अनि काश्मिरमा हिंसा बढ्दा भारतमा आक्रमणका घटना बढ्ने गरेका छन् । अब यसैगरी बलुचिस्तान असुरक्षित भयो भने भारतमा अरु हिंसाका घटना बढ्नेछन् ।

बलुचिस्तानमा आगो बालेर भारतलाई कुनै फाइदा छैन, जसरी श्रीलंकामा आगो बालेर उसलाई फाइदा भएन । नेपालको तराईमा आगो बालेर, नाकाबन्दी गरेर उसलाई फाइदा भएन । भारतले यो कुरा बुझ्न जरुरी छ ।

काश्मिर मुद्दाः पुस्तौनी विवाद

भारतीय टेलिभिजन आज तकलाई दिएको अन्तरवार्तामा पाकिस्तानी पूवराष्ट्रपति परवेज मुसर्रफले भनेका छन् कि काश्मिर समस्या समाधान हुनासाथ भारतमाथिका यस्ता हमलाहरु एकाएक समाप्त हुनेछन् । मुसर्रफले उरी, पठानकोट जस्ता घटनाको कारक खोज्नुपर्ने र त्यसको स्रोत काश्मिर नै भएको दाबी गरेका छन् ।

परवेजको भनाइ यहाँ पढ्नुहोस्- मोदीलाई मुशुर्रफको चेतावनी- पाकिस्तानलाई नेपाल र भुटान जस्तो नठानियोस्

काश्मिरको समस्या कसरी समाधान गर्ने ? ५८ वर्षदेखि यहाँको विवाद हल भएको छैन । पाकिस्तान यहाँ जनमत संग्रह हुनुपर्ने र त्यहाँका जनताले नै उनीहरुको भाग्यको फैसला गर्न पाउनुपर्ने पक्षमा छ । र, संयुक्त राष्ट्र संघको रेजुलेसनले पनि काश्मिरमा जनमत संग्रहलाई मान्यता दिएको पाकिस्तानको तर्क छ । भारतले राष्ट्र संघलाई नमानेको उनीहरुको गुनासो छ ।

भारतले ‘रअ’को डिजाइनअन्तरगत यतिबेला पाकिस्तानलाई कमजोर बनाउन र बंगलादेशजस्तै गरी फुटाउन बलुचिस्तानको कार्ड खेलेको पाकिस्तानी नेताहरुको आरोप छ

भारतचाँहि काश्मिरमा राष्ट्र संघलाई निम्तो गर्ने पक्षमा छैन । विगतको सहमतिबाट पनि ऊ पछि हटेको देखिन्छ । भारत न त बल प्रयोग गरेर काश्मिरमाथि पूरै नियन्त्रण गर्न सक्छ, न विगतको स्वतन्त्र देश काश्मिरमा आफ्नो दाबी नै छाड्न सक्छ । यो परिस्थितिमा काश्मिर मुद्दा अझै केही पुस्तासम्म चलिरहने देखिन्छ । र, जबसम्म यो मुद्दा थाती रहन्छ, तबसम्म भारतको शान्ति र प्रगतिमा यसले चुनौती दिइरहने निश्चित छ ।

काश्मिरबारे थप यहाँ पढ्नुहोस्- भारतले सिक्किम निल्यो, कश्मिर किन अड्कियो ?

कास्मिरको नालीबेलीः जनमत संग्रह उत्तम विकल्प

बलुचिस्तान कार्ड

baloch in pak 2

भारतले ‘रअ’को डिजाइनअन्तरगत यतिबेला पाकिस्तानलाई कमजोर बनाउन र बंगलादेशजस्तै गरी फुटाउन बलुचिस्तानको कार्ड खेलेको पाकिस्तानी नेताहरुको आरोप छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक भाषणमै ‘बलुचिस्तानका जनताको आन्दोलन’लाई समर्थन जनाएपछि त्यहाँ भारतीय हस्तक्षेपको उत्कट इच्छा प्रकट भएको देखिन्छ ।

बलुचिस्तान पाकिस्तानको दक्षिण-पश्चिममा अवस्थित भूगोल हो, जहाँ राज्यको संस्थापन पक्षसँगको असन्तुष्टि धेरै पहिलेदेखि रहँदै आएको छ । बलुचिस्तानमा यसअघि पनि पटक-पटक राष्ट्रवादी एवं स्वतन्त्र राष्ट्रको माग गर्दै आन्दोलन हुँदै आएको हुनाले भारतलाई यसमा खेल्न सहज भएको हो । जहाँ कमजोरी हुन्छ, त्यहीँ विपक्षीले खेल्ने गर्छन् । बलुचिस्तान पाकिस्तानको ‘लुप होल’ हो, चीनका लागि तिब्बत भएजस्तै । र, नेपालका लागि मधेसजस्तै । ( हुनत मधेस नेपालबाट कहिल्यै अलग छैन । तर, यहाँ भारतले खेल्ने प्रयास गर्दै आएको छ ।)

बलुचिस्तान पृथकतावादी आन्दोलनका नेता २००६ मा मारिए । जिउँदाहरु अहिले निर्वासनमा छन् । त्यहाँको सशस्त्र संघर्षलाई दबाउन पाकिस्तानी सरकारले बल प्रयोग गर्दा कैयौं मारिएका छन् । यसैलाई आधार बनाएर मोदीले बलुचिस्तानमा मानवअधिकारको कुरा उठाएका हुन् ।

बलुचिस्तान खनिज, तेल र सुनखानीका लागि प्रशिद्ध छ । समग्र पाकिस्तानको ४० प्रतिशत भूमि यसले ओगटे पनि जनसंख्याको हिसाबले भने ४ प्रतिशतको हाराहारीमा मात्रै छ । यहाँको साधन र स्रोत पाकिस्तान सरकारले दोहन गरेको आरोप लगाउँदै पश्चिमा शक्ति र भारतीयहरुले बलोच जनतालाई विद्रोहका भड्काउने गरेका छन् । यसरी भड्किएको विद्रोहले पाकिस्तानलाई बंगलादेशजस्तै विभाजित गरोस् र कमजोर बनाओस् भन्ने उनीहरुको डिजाइन रहेको पाकिस्तानको आरोप छ ।

यद्यपि पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुसर्ररफको विचारमा बलुचिस्तानमा सानो संख्यामा देखिएको असन्तुष्टिले खासै असर गर्ने देखिन्न । र, यसलाई भारतीय मिडिया र रअले मात्रै उछालिरहेको हो, खासै ठूलो समस्या होइन यो ।

चीनलाई छेक्ने रणनीति

बलुचिस्तानमा रहेको बन्दरगाह गतसाल चीनले ४३ वर्षका लागि लिजमा लिइसकेको छ । चीनले काश्मिरको लद्दाख आसापासबाट इलामावाद हुँदै बलुचिस्तानसम्म सिल्क रोड विस्तार गर्ने र यही बाटोबाट अरब मुलुकसँग व्यापार गर्ने योजना अन्तरगत पाकिस्तानसँग आर्थिक साझेदारी अगाडि बढाएको छ । यसले गर्दा बलुचिस्तानको भूमिसँग अब चीनसमेत जोडिएको छ ।

बलुचिस्तानको गदर बन्दरगाह । यसले चीनलाई अरब मुलुकसँग जोड्छ ।
बलुचिस्तानको गदर बन्दरगाह । यसले चीनलाई अरब मुलुकसँग जोड्छ ।

भारतले अरब मुलुकमा चीनको व्यापार सहज ढंगबाट नहोस् भन्नका लागि दुईतिरबाट ‘डिस्टर्ब’ गर्ने नीति लिएको देखिन्छः एउटा- भियतनामतर्फको चाइना सागरमा किचलो उठाउने र अर्को, पाकिस्तानतर्फको बलुचिस्तानस्थित बन्दरगाहमा चीनलाई डिस्टर्ब गर्ने ।

चीनलाई समुद्रको बाटोबाट अरब छिर्न नदिने वा डिस्टर्ब गर्ने रणनीतिमा भारत एक्लै लागेको भन्न मिल्दैन । मध्यपूर्वी एशियामा चीनलाई डिस्टर्ब गर्ने रणनीति अख्तियार गर्दै आएको अमेरिकाले अब दक्षिण एशियामा पनि भारतसँग मिलेर चीनलाई पिरोल्ने नीति लिएको देखिन्छ । यसैको प्रकट रुप अहिले बलुचिस्तानमा देखिँदैछ ।

पाकिस्तानको आन्तरिक भू-भागबारे मोदीले सार्वजनिकरुपमै जसरी वक्तव्य दिए, यसले कूटनीतिक मर्यादालाई समेत धज्जी उढाएको छ । तर, आर्थिक हिसाबले सुपर पावर बन्न लागिरहेको चीनका लागि बलुचिस्तानबाट खुट्टा झिक्नु भनेको ठूलो धक्का व्यहोर्नु हो ।

सन् २००४ को हिंसामा केही चिनियाँ इञ्जिनियरहरु मारिँदा पनि चीन बलुचिस्तानबाट पछि हटेन र सन् २०१५ मा आइपुग्दा पाकिस्तान-चीन आर्थिक साझेदारीमा हस्ताक्षरसमेत भइसकेको छ । र, ४३ वर्षका लागि चीनले बन्दरगाह लिजमा लिइसकेको छ । अब यसले प्रष्ट गर्दछ कि बलुचिस्तान प्रकरण भारत, पाकिस्तान वा बलोच जनताको मात्रै होइन, चीनको पनि सरोकारको स्थल हो ।

पाकिस्तान कमजोर हुँदा भारतलाई के फाइदा ?

बलुचिस्तानलाई फुटाएर वा त्यहाँ हिंसा बढाएर भारतलाई के फाइदा छ ? यो पनि बहसको विषय हो । नेपालजस्तो सानो देशमा अशान्ति हुँदा भारतलाई फाइदा नहुने निश्कर्ष निकाल्ने गरिएको छ ।

काश्मिरमा अशान्ति हुँदा भारतले रुनु परिरहेको छ । यस्तो बेलामा पाकिस्तानमा शान्ति र राजनीतिक स्थिरता भयो भने मात्रै भारतको सम्वृद्धि सम्भव छ ।

अहिलेको आवश्यकता हो, दक्षिण एशियाली देशहरुवीच एकता, सहकार्य र मेलमिलाप । दक्षिण एशियाको यो शान्तिभूमिमा युद्धलाई कसैले पनि निम्तो दिनुहुँदैन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिनै नेता हुन्, जसले आफ्नो सपथग्रहणमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई बोलाएका थिए । र, मोदी उनै नेता हुन्, जसले नवाजकी आमालाई साडी उपहार दिएका थिए । भारतीय देशभक्तले विरोध गर्दा गर्दै उनी लाहोरमा नवाजलाई ह्प्पी बर्थ डे भन्न पुगेका थिए ।

पाकिस्तानप्रति मोदीको पुरानै नीति ठीक थियो । केही आतंकवादीले हमला गर्दैमा मोदीले उत्तेजित भएर बलुचिस्तानतिर हेर्छन् भने यसलाई मोदीको अदुरदर्शिता शिवाय केही मान्न सकिँदैन ।

नेपालका प्रधानमन्त्री प्रचण्ड दिल्लीमै रहेका बेला आफ्नो ६६ औं जन्मदिन मनाएका मोदी अबको केही दशकमा यो संसारबाट विदा होलान् । तर, अघिल्लो पुस्ताले झोसेर गएको काश्मिरको आगो निभाउनुको साटो बलुचिस्तानको तेलखानीमा मोदीले अर्को आगो सल्काएर गए भने दक्षिण एशियाली सभ्यतामा भावी पुस्ताका लागि यो एउटा कलंक हुनेछ ।

अहिलेको आवश्यकता हो, दक्षिण एशियाली देशहरुवीच एकता, सहकार्य र मेलमिलाप । दक्षिण एशियाको यो शान्तिभूमिमा युद्धलाई कसैले पनि निम्तो दिनुहुँदैन ।

नेपालको भूमिका

Prachand-and-Narendra-Modi-

अहिले भारतले पाकिस्तानका सम्बन्धमा जस्तो नीति लिन खोजिरहेको छ, त्यसलाई नेपालले साथ दिन सक्दैन । नेपाल जहिले पनि दक्षिण एशियामा स्वतन्त्र र स्वाभिमान देशमात्रै होइन, तटस्थ देश पनि हो । हामीले पाकिस्तानलाई भारतीय आँखाले हेर्न सक्दैनौं ।

विभिन्न मुस्लिम देशहरुमा हजारौं नेपालीले काम गरिरहेका छन् । कतारजस्ता देशमा राजाको दरबारमा समेत नेपालीहरु विश्वासपात्रका रुपमा कार्यरत छन् । पाकिस्तान र नेपालवीच राम्रो र न्यानो सम्बन्ध छ । यो स्थितिमा हामीले भारतलाई सम्झाउन जरुरी छ कि तिमी आफ्ना छिमेकीप्रति उत्तेजित एवं ‘बडा भाइ’को जस्तो व्यवहार नगर ।

उरी र बलुचिस्तानकै बाहनामा वा काश्मिरको बाहनामा भारत र पाकिस्तानवीच युद्ध भड्कियो भने नेपालले प्रथमतः त्यसलाई सुरु नहुँदै रोक्ने प्रयास गर्नुपर्छ । त्यसो गर्न सकिएन भने ठूलो राष्ट्रले कमजोर राष्ट्रमाथि गर्ने थिचोमिचो र अनावश्यक युद्ध थोपर्ने नीतिको विरोधमा उभिनुपर्छ । विगतमा जस्तै त्यस्तो युद्धमा भारतको पक्षमा गोरखा सैनिकलाई प्रयोग गर्न दिइनुहुँदैन ।

अहिले भारतकै कारण सार्कको भविश्यमाथि प्रश्न उठ्न लागेको छ । नेपालले सार्कलाई बचाउन र भारत-पाकिस्तानलाई जोड्न भूमिका खेल्न जरुरी छ । भारतको लहैलहैमा लागेर हामीले दक्षिण एशियामा धु्रवीकरण बढ्न दिनुहुँदैन ।

भारतको आँखाले हामीले दक्षिण एशियालाई हेर्ने होइन, सगरमाथाको फेदमा बसेर नेपालकै आँखाले हेर्न जरुरी छ ।

भारत-पाक तनाव अरु बढ्यो भने नेपालमा पाकिस्तानी शरणार्थीहरु बढ्न सक्छन् । भारतमा आइएसको गतिविधि बढ्न सक्छ । सिरियामा सिंगै विश्व लाग्दासमेत शान्ति कायम हुन नसकेका बेला पाकिस्तानलाई दपेटेर शान्ति स्थापना गर्न सकिन्छ भन्ने नरेन्द्र मोदीले ठानेका छन् भने त्यो उनको अदुरदर्शिता र भ्रममात्रै हुनेछ ।

त्यसैले गौतम बुद्धको देशबाट हामीले दक्षिण एशियामा शान्तिको पक्षमा आवाज उठाउनु अहिलेको आवश्यकता हो ।
सार्क स्थगन लगायतका विषयमा प्रचण्ड सरकारले चाँडै आफ्नो धारणा सार्वजनिक गरोस् । कि अन्तरराष्ट्रिय सम्बन्धमा भारतकै आँखाले टुलुटुलु हेरेर बसिरहने प्रचण्डज्यू ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment