Comments Add Comment

मान्छे खाने घोप्टेभिरः अझै भेटिएनन् पूर्वगृहमन्त्री घिमिरे

Madhav-Ghimire-Car-Accident-1

१२ असोज, चितवन । चितवनको दारेचोकस्थित घोप्टेभिरबाट आइतबार त्रिशुली नदीमा खसेर कारसहित वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी जारी छ । तर, बुधबार साँझसम्म पनि उनको अवस्था अज्ञात छ ।

बिहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको टोलीले दिनभर गरेको खोजीमा कुनै उपलब्धी हुन सकेन । त्रिशुली नदीको बहाव सोही ठाउँमा तिव्र गतिमा रहेका कारणले खोजी कार्य गर्न निकै समस्या भएको सशस्त्र प्रहरी विपत व्यवस्थापन तामिल केन्द्र कुरीनटारका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिए । ‘आज पनि दिनभर खोजी गरिएको कुनै उपलब्धी हात लागेन,’ थापाले भने, ‘पानीको करेन्ट अति नै बढी छ, रातमा खोजी गर्न सकिँदैन ।’

थापाले कहिलेसम्म खोजी जारी राख्ने केही बताउन चाहेनन् । घटनास्थल पुगेका गृह र भौतिक पूर्वाधारमन्त्रीले खोजीलाई तिव्रता दिन निर्देशन दिएपनि वेपत्ता घिमिरे सहितका उनका २ भाइ प्रकाश र मदनलाई भेट्न मुस्किल रहेको प्रहरीले जनाएको छ ।

गत भदौ २४ गते सोही स्थानबाट खसेको ट्रक र सो ट्रकका चालक तथा सहचालक अझै भेटिएका छैनन् ।

madhav-ghimireपूर्वमुख्य सचिव समेत रहेका घिमिरे सवार बा ९ च १५३१ नम्वरको स्कारपियो कार गत आइतवार साँझ ५ बजेतिर घोप्टेभिरबाट त्रिशुली नदीमा खस्दा घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी घिमिरे, आफन्त नारायण काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका घिमिरेका सवारी चालक विष्णु राईलाई पुरानो मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि मंगलबार काठमाडौं लगिएको छ ।

मान्छे खाने घोप्टेभिर….

पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस-३ मा पर्दछ घोप्ट भिर । मुग्लिनबाट झण्डै २ किलोमिटर काठमाडौं तर्फ पर्ने घोप्टे भिर नेर हेभी सवारी साधनका कारण सडकको सतह बिगि्रएको छ । सडकमा कहिँ खाडल बनेको छ भने केही भाग उठेको छ । जसको कारणले चालकले मेसो नपाउने अवस्था छ । घोप्टेभिर नजिक बाटो केही घुमेको छ । सडकमा सानो घुमेको पुल पनि छ ।

यहिँबाट सवारी साधनहरु तल त्रिशुली नदीमा खस्दै आएका छन् । त्यहिँनेर नदीमा पानीको बहाव निकै उच्च भएकाले घोप्टे भिरबाट खसेका सवारी सधान र मानिसहरु वेपत्ता हुने गरेका छन् । हालसम्म यहि स्थानबाट खसेका गाडीहरुबाट २७ जना वेपत्ता भएको प्रहरी बताउँछ ।
दुर्घटनास्थल भन्दा ठीक ३० मिटर अगाडि मुग्लिनतर्फ ‘अति दुर्घटनाग्रस्त क्षेत्र’ भनेर लेखिएको ट्राफिक संकेत छ । यस्तो संकेत देख्नासाथ चालकले सडक र ट्राफिक संकेत अनुरुप सचेतनापूर्वक आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ ।

तर, बिडम्बना अझै पनि चालकहरुले यसतर्फ ध्यान नदिँदा दुर्घटना हुने गरेको प्रहरी बताउँछ । सडक विभागले पनि सुरक्षामा त्यति ध्यान दिएको पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment