Comments Add Comment

‘ओलीजीले चिन्ता गर्नुपर्दैन, कांग्रेसले मधेस बुझेको छ’

Ananda Dhungana_810

१२ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय कांग्रेस सुतेको हो कि उग्राएको हो भनेर निरन्तर प्रश्न गरिरहेका छन् । कांग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महत्वपूर्ण मुद्दामा सभापति शेरबहादुर देउवा चुपचाप बसेको भन्दै अशन्तुष्टि पोखिरहेका छन् ।

पछिल्लोपटक पौडेल पक्षले बैठक समेत बसेर संविधान शंसोधनमा पार्टीको आधिकारिक धारणा माग गरेको छ । यही बैठकमा सहभागी पौडेल पक्षधर प्रभावशाली नेता आनन्द ढुंगानाले ओलीको आरोपको प्रतिवाद गरे । तर, सभापति देउवाले रामचन्द्र पौडेललाई बाइपास गरेमा देउवा आफैं दुर्घटनामा पर्ने चेतावनी समेत दिए ।

मंगलवार संसद बैठकमा विशेष समय लिएर बोल्नका लागि उनले करीव ५ पेजको भाषण पनि गोजीमै बोकेका रहेछन् । तर, विपक्षी दलका नेता ओलीले बोल्ने भएपछि सभामुख ओनसरी घर्तीले विशेष समय हटाइन् र ढुंगाना बोल्न पाएनन् ।

ढुंगानाले संसदमा बोल्न नपाए पनि अनलाइनखबरकर्मी मात्रिका पौडेलसँग संसद भवनको बगैंचामा बसेर कुरा गरे । उनले केपी ओली बदलाभावले अघि बढेको आरोप लगाए ।

ढुंगानाको असन्तुष्टि पार्टी सभापति देउवासँग पनि रहेछ । देउवाले रामचन्द्र पौडेललाई बाइपास गरे दुर्घटनामा पर्ने भन्दै विगतमा देउवा आफैंले पार्टी विभाजन गर्नु परेको घटना स्मरण गराए । उनले पार्टीमा पौडेल पक्षले ४३ प्रतिशत हिस्सा खोजेको स्वीकार गरे ।

पार्टी सञ्चालन र पावर शेयरिङमा देउवा र पौडेल पक्षबीच असमझदारी भए पनि राष्ट्रिय समस्या समाधानमा भने पार्टीमा कुनै विवाद नरहेको ढुंगानाले प्रष्ट पारे ।

तीन पटकसम्म धनुषाबाट चुनाव जितेका ढुंगानाले मधेस आन्दोलनको माग कांग्रेसले नै पूरा गर्ने बताए । सीमांकन पुनरावलोकनमा कुरा मिलेपछि सबै कुरा मिल्ने भन्दै ढुंगानाले सीमांकन हेरफेरको नक्सा भने कांग्रेसले अहिले नै बाहिर नल्याउने प्रष्ट पारे । ढुंगानाले भने- सात प्रदेशमा तलमाथि हुँदैन, तर जिल्लाहरु केही हेरफेरबाट एक साताभित्र कुरा मिल्छ । कांग्रेसभित्र यसबारे एकमत छ ।

Ananda Dhungana (4)

त्यसपछि ढुंगानालाई प्रश्न सोधियो-

प्रमुख विपक्षी नेता केपी ओलीले संसदको रोष्टमबाटै कांग्रेस उग्राएको हो कि निदाएको हो भनेर प्रश्न गरेको अवस्था छ, पछिल्लो समयमा कांग्रेस माओवादीको पछुवामात्रै भएको हो ?

कांग्रेस माओवादीको पछुवा होइन, अगुवा हो । कांग्रेसले साथ नदिने हो भने सरकार एक मिनेट पनि टिक्दैन । तर, ओलीजीले कांग्रेसलाई त्यस्तो प्रश्न गर्नु उहाँ सत्ता बाहिर जानुको छटपटाहट हो जस्तो लाग्छ ।

जहाँसम्म कांग्रेसको पछिल्ला घटनाक्रमप्रतिको दृष्टिकोण हो, यसमा हामीले सभापति शेरवहादुर देउवालाई बैठक राख्नुस भनेका छौं । तर, पनि संविधान शंसोधनको सन्दर्भमा कांग्रेसमा कुनै विमति छैन, जुन कुरा ओलीजीले संकेत गर्नुभएको हो भने । त्यसैले म ओलीजीलाई भन्छु- कांग्रेस सुतेको छैन र उग्राएको पनि छैन ।

नसुते पनि उङ्न थालेको चाहिँ हो ?

उङ्ने कुरा पनि छैन । ओलीजीले कांग्रेसको चिन्ता गर्नुपर्दैन । अहिले प्रधानमन्त्रीले वा सरकारले जे गर्दैछ, त्यसमा कांग्रेसको विमति छैन । कांग्रेसको सहमति अनुसार नै काम भइरहेको छ ।

त्यसोभए अहिले सरकारले तयार पारेको भनिएको संविधान शंसोधन मस्यौदामा तपाईहरुको सहमति हो ?

मस्यौदामा के छ, मैले हेरेको छैन । मस्यौदाबारे कांग्रेसमा संस्थागत रुपमा कुनै निर्णय पनि भएको छैन । तर, संविधानमा भएका त्रुटीहरु सच्याउँदै मधेसवादी दलहरुको आन्दोलनलाई समेत सम्बोधन गरेर संविधान संशोधन गर्नुपर्छ भन्नेमा कांग्रेस सहमत छ ।

संविधान शंसोधन हुनुपर्छ भन्नेमा सहमति छ तर के के कुरामा गर्ने भन्नेमा चाहिँ सहमति नभएको हो ?

एउटा कुरा के हो भने मधेस केन्दि्रत दलहरुले संविधान जारी हुनुभन्दा अघि नै आन्दोलन थालेका हुन् । त्यो बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । संविधान जारी हुनासाथ तीनै दलका नेताले संसदबाटै उभिएर निर्वाचन क्षेत्र, समानुपातिक समावेशी जस्ता विषय सम्बोधन गर्छौ भनेको हो । तर, केपी ओलीले बालुवाटारको बैठकमा मान्नुभएन । त्यही कारणले शुसील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएको हो ।

अहिले पनि संविधान संशोधनबाट बाँकी कुरा टुंगो लगाउनुपर्छ भनेका छौं । संविधान संशोधन हुन्छ भन्नेमा त ओलीजीले पनि संसदबाटै भन्नुभयो । उहाँहरुले हिजो सरकारमा हुँदा मधेसी मोर्चालाई लचिलो भएर पत्र पनि लेखेकै हो । अब मधेसी मोर्चाको मुख्य कुरा सीमांकनमा छ, त्यसमा लचिलो भएर शंसोधन गर्नेतिर जान्छौं ।

ओलीले त संविधान संशोधन हुन्छ, तर संविधान मान्नुपर्छ भनेको होइन र ? पुनर्लेखन गर्ने कुरामा तपाईहरु गएको हो ?

संविधान पुनर्लेखनको कुरा मधेसी मोर्चाले छाडिसक्यो । उहाँहरुले शुरुमा भनेको हो । तर, अहिले त संविधान संशोधनमा आउनुभएको छ । संविधान त उहाँहरुले स्वीकार गरिसक्नुभयो । संविधानकै प्रक्रियामा सहभागी भएर अहिले हामीसँगै सत्ता गठबन्धनमा छन् मधेसवादी दल । त्यसैले अब मूल कुरा सीमांकन पुनरावलोकनको हो, यसमा लेनदेन हुन्छ ।

सीमांकन पुनरावलोकनमा मधेसी मोर्चाले समग्र तराई मधेसलाई दुई प्रदेश बनाउने माग राखेको छ, यसमा कांग्रेस सहमत हो ?

हामी त्यसमा सहमत छैनौं । तर, यो त मधेसी मोर्चाको माग मात्र हो । निर्णय त होइन नि । हिजो ११ बुँदे माग थियो मधेसी मोर्चाको । आज ७ बुँदे मागमा छलफल भइरहेको छ । अब नागरिकता, राष्ट्रियसभा जस्ता मागहरुमा ठूलो विवाद हुँदैन । मुख्य माग भनेको सीमांकन हो । त्यसमा हामी पनि लचिलो छौं, उनीहरु पनि लचिलो बन्छन् ।

Ananda Dhungana (11)

सीमांकनमा लचिलो हुने भनेको अहिलेको सीमांकन फेरफेर मात्रै हो कि प्रदेशको संख्या नै हेरफेर हो ?

प्रदेशको संख्या ७ प्रदेशमा तलमाथि हुँदैन । ७ प्रदेशभित्रै केही जिल्लाहरु तलमाथि मिलाउने हो । मलाई के लाग्छ भने यसमा धेरै ठूलो समस्या अब आउदैन । मधेस केन्दि्रत दलहरु पनि अब मिलाउनुपर्छ भन्नेमा पुगेका छन् ।

जस्तै, तपाई २ नम्बर प्रदेशको नेता हो, सबैभन्दा ठूलो विवाद र असन्तुष्टि यही प्रदेशमा छ, यसमा कुन कुन जिल्ला मिसाउने ?

अहिले हामी त्यसरी नजाउँ । कुन जिल्ला मिसाउने वा अलग्याउने भन्ने कुरा वार्ताको टेबुृलमा कुरा हुन्छ । तर, केही न केही मिलाउनुपर्छ ।

एमालेका मधेसी नेताहरुले २ नम्बरमा उदयपुर, मकवानपुर र सिन्धुली थपौं भन्ने प्रस्ताव गरेछन्, तपाईहरुको दृष्टिकोण यसमा मिल्छ ?

एमालेका नेताहरुले यो कुरा मधेसमा गएर भनुन् न । भन्न सक्छन् कि सक्दैनन् ? तर, हामी अहिले जिल्ला तोकेर केही भन्नेवाला छैनौं । विभिन्न विकल्प आइरहेका छन्, कुनै एकमा सहमति हुन्छ ।

कांग्रेसले कुनै एजेण्डा नै नलगी अरुको एजेण्डामा सहमति हुने हो ?

कांग्रेस भनेको मियो हो यो देशको । अहिलेसम्मका जति पनि परिवर्तनहरु भएका छन्, ती सबै कांग्रेसकै नेतृत्वमा भएका छन् । कांग्रेसले चाहेपछि मात्रै सहमति हुन्छ भन्ने मधेसका जनतालाई पनि परेको छ । त्यसैले कांग्रेस मियो पार्टी भएकाले सीमांकनमा कुन जिल्ला कता पार्ने भन्ने नक्सा अहिले नै सार्वजनिक गर्न मिल्दैन । तर ७ प्रदेशभित्रै सहमति हुन्छ । यो हाम्रो बटमलाइन हो ।

तपाईहरुको प्रस्ताव एमालेले पनि मान्नुपर्ला,मधेसी मोर्चाले त अर्कै प्रस्ताव राखेको छ, यो कुरा त थाहा होला नि ?

थाहा छ, तर सहमति हुन्छ । मधेसी मोर्चाले भने जस्तो हुँदैन । तर, एमालेले पनि विगतमा आफूले गरेको बाचा बिर्सनु हुँदैन । ओलीजी प्रधानमन्त्री भएकै बेला उहाँहरुले सीमांकनमा हामी लचिलो छौं भनेर मोर्चालाई पत्र पठाएको हो । हिजोको प्रतिवद्धताबाट भाग्न उहाँहरु पाउनुहुन्न । भाग्नुभयो भने कांग्रेसले आफ्नो बाटो लिन्छ ।

आफ्नो बाटो लिने भनेको एमाले बाहेकको दुई तिहाई बहुमत पुर्‍याएर संविधान शंसोधन गर्ने भनेको हो ?

हामी त्यसरी सोचिरहेका छैनौं । तर, एमालेले पनि अप्ठेरो पार्नुभएन । सरकारबाट हटेकोमा बदलाभाव कहिलेसम्म राखेर हिँड्ने ? अब केही समय हामी उहाँहरुलाई समय दिन्छौं । तर, हामीलाई अब धेरै समय त छैन । त्यसैले एमालेले वितगको आफ्नो प्रतिवद्धता अनुरुप सघाउनुपर्छ । निहुँ खोजेर संविधान संशोधनमा अवरोध गर्नुहुँदैन ।

तपाईले जसरी भन्दै हुनुहुन्छ, हिजो प्रदेशको सीमांकन गर्नेबेलामा कांग्रेसका शेरवहादुर देउवा र कृष्ण सिटौला, एमालेका केपी ओली र भीम रावलका कारण तराईको सीमांकनमा समस्या आएको आरोप छ, जबकि यी चारै नेता अहिले झन् निर्णायक शक्तिमा छन् । अब कसरी मिल्छ ?

हिजो तपाईले भनेजस्तै केही न केही उहाँहरुकै अडानका कारण सीमांकनमा त्रुटी भएकै हो । तर मलाई लाग्छ, अहिले ती नेताहरुले केही न केही महशुस गरेका छन् । प्रदेशको सीमांकनमा केही न केही त्रुटी भएको ती नेताहरुले पनि गल्ती महशुस गरेका छन्, त्यसैले अब सहमति हुन्छ ।

कहिलेसम्म होला संविधान शंसोधनमा सहमति ?

यो काम सरकारले आफ्नो ढंगले गरिरहेको होला । दशैंअघि नै हुनुपर्ने हो । मलाई लाग्छ, एक सातामा केही सहमति हुन्छ । मुख्य माग भनेकै प्रदेशको सीमांकन हेरफेर हो । यो साता केही न केही सहमति हुन्छ । सहमतिमा मुख्य समस्या एमाले देखिएको छ ।

Ananda Dhungana (2)

एमालेलाई देखाएर सरकारले मधेसी मोर्चालाई भुल्याउँदैछ भन्ने आरोप मोर्चाले नै लगाउन थालिसक्यो नि ?
त्यो आरोप गलत हो । सरकारले मधेसी मोर्चासँग सहमति गरेकै होला । उनीहरुसँग ७ बुँदे सहमतिमा छलफल भइरहेकै छ । मोर्चा पनि सरकारको एउटा पक्ष हो ।

मधेस भनेको कांग्रेसको भूमि हो । रामनारायण मिश्र, महेन्द्रनारायण निधी, शेख इदि्रस जस्ता मधेसका योद्धाहरुले जन्माएको कांग्रेसले मधेसी जनताको भावना बुझेको छ । मधेसी जनताले कांग्रेसप्रति भरोसा गरेका छन् । त्यसैले हामी मधेसको माग सम्बोधन गरेर चुनावमा जान चाहान्छौं ।

तर, संविधान संशोधनका बारेमा पार्टीभित्रै शेरवहादुर देउवाले छलफल नगरेको गुनासो अस्ति रामचन्द्र पौडेल पक्षको भेलाले गरेको होइन ?

संविधान संशोधन गर्नुपर्छ भन्नेमा रामचन्द्र पौडेल पनि विपक्षमा हुनुहुन्न । तर, यसबारे सम्बन्धित निकायमा छलफल हुनुपर्छ भन्ने हो । केन्द्रीय कार्य समिति बस्न नसके पदाधिकारी बसेर पनि टुंगो लगाउन सकिन्छ । रामचन्द्र पौडेलको असन्तुष्टि समग्र राजनीतिमा होइन, पार्टीभित्रका अन्य कुरामा हो ।

पार्टीभित्र चाहिँ देउवाले पेलपाल गर्न थालेका हुन् ?

पेलपाल भन्दा पनि सरसल्लाह हुनुपर्छ भन्ने हो । यो लोकान्त्रिक पार्टी हो । यहाँ पेलेर जान सकिन्न । शेरवहादुरजी आफैं त्यसको भुक्तभोगी हो । आफैं पीडित भएर पार्टी फुटाउनुभएको हो । शेरबहादुरजीले रामचन्द्र पौडेललाई साथमा लिएर जानुभयो भने उहाँ सफल हुनुहुन्छ । होइन, वाइपास गरेर जाने हो भने दुर्घटना हुन्छ । हिजो पार्टी फुटको दुर्घटनाबाट उहाँले सिक्नु भएको होला ।

हिजो शेरबहादुृरले ६०/४० को भागबण्डाको कुरा गर्दा तपाईहरुले पार्टी भागबण्डामा चल्दैन भन्नुभयो, अहिले फेरि भागबण्डा खोज्दै हुनुहुन्छ ?

भागबण्डा भन्ने शब्द तपाईको हो । म त्यसलाई पावर शेयरिङ भन्छु । कांग्रेस यस्तो प्रजातान्त्रिक पार्टी हो, यसमा कसैलाई बाइपास गरेर जान सकिन्न । रामचन्द्र पौडेललाई जति मतदाताले मत दिए, तिनको प्रतिनिधित्व उहाँले गर्नुहुन्छ । शेरबहादुरले जित्नुभयो, उहाँले धेरै मतको प्रतिनिधित्व गर्नुहुन्छ । त्यसैले हामीले महाधिवेशनमा जति मत पाएका छौं, त्यति हिस्सा त चाहिन्छ । हामीलाई मत दिने मतदाताको प्रतिनिधित्व हुनुपर्छ भन्नु भागबण्डा होइन, पावर शेयरिङ हो । पावर शेयरिङ नगर्ने हो भने त कम्युनिस्ट अधिनायकवादी पार्टी भइहाल्छ नि ।

त्यसो भए अहिले तपाईहरुले पावर शेयरिङ मागेको कति प्रतिशत हो त ?

हामीले महाधिवेशनमा ४३ प्रतिशत मत पाएका हौं । सोही अनुसार पार्टी र राज्यका सबै निकायमा सहभागिता गराउँदा कम्तिमा ४३ प्रतिशत सहभागिता चाहिन्छ । उहाँले २ महिनामा पदाधिकारी मनोनयन गर्ने भनेको अहिलेसम्म गर्नुभएको छैन ।

हामीले उपसभापति र महामन्त्री दाबी गरेका छैनौं । तर, विगतमा सुशील दाइले उहाँको पक्षलाई सहमहामन्त्री दिनुभएको हो । अहिले पनि सहमहामन्त्रीमा हाम्रो हक रहन्छ । त्यही अनुुपातमा कार्य सम्पादन समिति र बिभागहरुमा पनि पापवर शेयरिङ हुनुपर्छ । उहाँले रामचन्द्रलाई बाइपास गरेर अघि बढ्न खोज्नुभयो भने दुर्घटनामा पर्नुहुन्छ ।

अहिलेसम्म बाइपास गरेको अवस्था हो ?

रामचन्द्रजीले गुनासो गर्नुभएको छ । बाइपास गरियो, महत्वपूर्ण निर्णयमा सल्लाह भएन भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment