Comments Add Comment

१० वर्षपछि प्रेस सेन्टरको महाधिवेशन आजबाट सुरु

अध्यक्षका लागि आधा दर्जन पत्रकारको दावेदारी

Om Sharma, Bishnu Sapkota and Balaram Thapa
ओम शर्मा, विष्णु सापकोटा र बलराम थापा (बायाँबाट क्रमश:) ।

१३ असोज, काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको महाधिवेशन विहीबारदेखि सुरु भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गरे ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन भएकाले प्रेस जगतले सहयोग गर्नुपर्ने बताए ।

अध्यक्षको दावेदार को-को ?

बन्दसत्र भने कार्की पार्टी प्यालेस बबरमहलमा हुने छ । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनले ९५ सदस्यीय कार्यसमिति चयन गर्ने भए पनि अध्यक्ष पदमा को आउला भन्ने चासो बढी छ ।

अध्यक्ष पदमा ओम शर्मा, विष्णु सापकोटा ‘जुगल’, बलराम थापा, दीपक मैनाली, दिपेन्द्र रोकाया, गोविन्द रोका ‘सचिन’ आकांक्षी छन् । सर्बसम्मतिको प्रयास भइरहे पनि बुधबार मध्यरातसम्म कसैले पनि आफ्नो दावी छाडेका छैनन् ।

सहमति जुट्ने सम्भावना कम भएकाले मतदानको तयारीसमेत गरिएको छ । निर्वाचन नै गर्ने स्थिति आएमा बलराम थापा र विष्णु सापकोटाबीच प्रतिस्पर्धा हुने बताइन्छ । ओम शर्मा चुनाव नलड्ने तर सर्बसम्मती भएमात्रै अध्यक्ष बन्ने दाउँमा छन् ।

२०६३ चैत १ गते तत्कालीन क्रान्तिकारी पत्रकार संघको पहिलो भेलाले महेश्वर दाहाललाई अध्यक्षमा चयन गर्दा शर्मा महासचिव र सापकोटासहित हालका अध्यक्षका आकांक्षी सबै सदस्य थिए । त्यसैले पनि उनी आफूभन्दा जुनियरहरुसँग चुनाव नलड्ने मनस्थितिमा छन् ।

नेतृत्वमा को आउनुपर्छ ?

ओम शर्मा, विष्णु सापकोटा ‘जुगल’ र बलराम थापा अध्यक्ष पदका मुख्य दावेदार हुन् । यी तिनैजना १० वर्षे जनयुद्ध व्यवहोरेर आएका हुन् ।

ओम शर्मा नेपाल पत्रकार महासंघको महासचिव, प्रधानमन्त्री प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार र गोरखापत्र संस्थानको अध्यक्ष समेत बनिसकेका छन् । हाल उनी आफ्नो निजी अनलाइन चलाएर बसेका छन् । आफ्नै अनलाइनमा केही पत्रकारहरुलाई रोजगारी दिए पनि कार्यकर्ताको व्यवस्थापनमा उनी कमजोर मानिन्छन् । शर्मा बैचारिक स्पष्टता नभएका र कुशल संगठक पनि नभएका नेताको रुपमा प्रेस सेन्टरमा परिचित छन् । यद्यपी मेचीदेखि महाकालीसम्म ओम शर्मा भनेपछि उनलाई नचिन्ने व्यक्तिहरु कमै छन् ।

यसैगरी विष्णु सापकोटा ‘जुगल’ पनि बैचारिक रुपमा कमजोर मानिन्छन् । तर उनी कुशल संगठक भने हुन् ।

कार्यकर्ताहरुको पिरमर्का बुझ्ने र क्षमता अनुसारको जिम्मेवारी दिएर व्यवस्थापन गर्ने क्षमता उनमा छ । यहि क्षमताको कारण कार्यकर्ताहरुको तल्लो तहसम्म पनि उनी परिचित छन् । सरल स्वभाव र इमान्दारीता उनको विशेषता हो । उनले हालसम्म राजनीतिक नियुक्ति वा अन्य कुनै लाभको पद पाएका छैनन् ।

यद्यपी पछिल्लो समयमा सुमार्गीको लगानी रहेको रेडियो थाहा सञ्चारमा केही प्रतिशत शेयर लगानी गरेपछि भने जुगल पार्टीका केही कार्यकर्ताहरुबीच आलोचित छन् ।

बलराम थापा बैचारिक र राजनीतिक क्षमता भएका व्यक्ति हुन् । उनी पार्टीका इमान्दार कार्यकर्ता पनि हुन् । सरल र सोझो व्यक्तित्वका थापाले पनि कुनै लाभको पद धारण गरेका छैनन् । तर थापा संगठन निर्माण र कार्यकर्ताहरुको व्यवस्थापनमा भने कमजोर छन् ।

एक दशकपछि हुन लागेको महाधिवेशनबाट नेतृत्व हात पार्न सबै आ-आफ्नै तरिकाले रस्साकस्सीमा लागेका छन् । त्यसैले अध्यक्ष को चुनिन्छ भन्ने अवस्था अहिले नै छैन तर, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने अधिकांश प्रतिनिधिको जोड छ ।

एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालकै कुरा गर्ने हो भने संस्थापक अध्यक्ष विजय चालिसेदेखि गणेश बस्नेतसम्म आइपुग्दा माओवादी निकट पत्रकारहरुमा नेतृत्व पुरानै छ । कहिले महेश्वर दाहाल त कहिले गोविन्द आचार्य नेतृत्वमा छन् । त्यसपछाडि नेतृत्व हस्तान्तरण भएको छैन ।

‘लामो समयदेखि महाधिवेशन नहुँदा नेतृत्व विकास भएको छैन । स्थापनाकालकै नेता अहिलेसम्म छन् । अब टिका लगाइदिएर नेता छान्न रोकिनुपर्छ र जो आए पनि नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ,’ प्रेस सेन्टरका एक प्रतिनिधिले अनलाइनखबरसँग भने ।

१९ सदस्यीय पदाधिकारी

राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुबाट ९५ पन्चानब्बे सदस्यीय कार्य समिति गठन हुनेछ । अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, खुल्ला उपाध्यक्ष ३, समावेशी उपाध्यक्ष २ (१ महिला अनिवार्य), महासचिव १ र उपमहासचिव १ जना चुनिनेछन् ।

यसैगरी सचिव खुल्ला ५, महिला सचिव १, आदिवासी जनजाति सचिव १, मधेसी सचिव १, दलित सचिव १ र कोषाध्यक्ष १ जना चुनिने निर्वाचन समितिले जनाएको छ ।

यसरी १९ सदस्यीय पदाधिकारी र सबै प्रदेश अध्यक्ष गरी २७ सदस्यीय सचिवालय गठन हुनेछ । ६३ जना सदस्यलाई महाधिवेशनले चयन गर्नेछ भने ५ जना सदस्यलाई केन्द्रीय समितिले मनोनित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment