Comments Add Comment

हेमदेवी पुरस्कारबाट सत्यमोहन जोशी सम्मानित

राष्ट्रपतिद्वारा फेवातालको अवलोकन

Satyamohan-joshi

१३ असोज, पोखरा । शताब्दी पुरुष तथा संस्कृतिका शिरोमणी सत्यमोहन जोशी ‘हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार’द्वारा सम्मानित भएका छन् ।

पोखराको विन्ध्यबासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित तथा समाजसेवी हेमबहादुर प्रधानद्वारा स्थापित सो पुरस्कारबाट जोशी सम्मानित भएका हुन् ।

विहीबार पोखराको विन्ध्यबासिनी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई नगद १ लाख १ हजारसहित दोषल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेकी हुन् ।

प्रत्येक २/२ वर्षमा प्रदान गरिने यो पुरस्कार नेपालमा रहेर धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गर्ने उद्धेश्यले स्थापना गरिएको हो । पुरस्कार विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमप्रसाद श्रेष्ठले आफ्नो र श्रीमतीको नाममा स्थापना गरेका हुन् । प्रधानले पुरस्कारका लागि १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले प्राकृतिक रुपमा मात्र नभई सांस्कृतिक रुपमा समेत धनी भएकै कारणले पोखरा देशकै प्रमुख पर्यटकीय केन्द्र बनेको बताइन् । उनले विन्ध्यबासिनी मन्दिरले धार्मिक पर्यटनमा पनि टेवा पुर्‍याएको बताउँदै यसको बृहत्तर हितका लागि गुरुयोजना बनाएर कार्यान्वयनमा लाग्न सुझाव दिइन् ।

पुरस्कृत व्यक्तित्व शताब्दी पुरुष तथा संस्कृतिका शिरोमणी सत्यमोहन जोशीले राष्ट्रपतिको करकमलबाट समाजसेवा पुरस्कार पाउँदा हर्षविभोर भएको बताउँदै मदन पुरस्कार, सुकीर्तिमय पुरस्कार भन्दा पनि यो पुरस्कारको अर्थ र महत्व सबैभन्दा धेरै रहने बताए ।

राष्ट्रपतिद्वारा फेवातालको अवलोकन

Rastrapati-Fewatal

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले फेवातालको अवलोकन गरेकी छन् । विन्ध्यबासिनीमा आयोजित पुरस्कार वितरण कार्यक्रम समापन पछि राष्ट्रपति सिधै फेवाताल पुगिन् ।

पोखरा उपमहानगरपालिकाको फेवातालमा रहेको जलकुम्भी झार सफाई अभियानमा सरिक हुन उनी फेवाताल पुगेकी हुन् । सो अवसरमा उनले फेवातालमा बढेको जलकुम्भी झार निकालेर सफाई अभियानमा सांकेतिक सहभागिता जनाएर फर्किइन् ।

तस्वीरः उमेश पुन/अनलाइनखवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment