Comments Add Comment

लगातारको वर्षाले झापामा तरकारीको मूल्य आकाशियो

Tarkari-jhapa

१३ असोज, झापा । अघिल्लो वर्षको तुलानामा यस वर्ष झापाका तरकारी बजारमा तरकारीजन्य उत्पादनको मूल्यमा भारी वृद्धि भएको पाइएको छ । निरन्तर परिरहेको वर्षाले तरकारीको उत्पादनमा भारी गिरावट आएका कारण मूल्य आकाशिएको हो ।

गत वर्ष बिर्तामोडको कृषिथोक बजारमा रातो आलु २५ र सेतोआलु २० रुपैयाँ प्रतिकेजी बिक्री भएको थियो । तर, यसपालि रातो आलु ५० रुपैयाँ प्रतिकेजी छ भने सेतोआलु ४० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

आलुमा मात्र होइन, बन्दाकोपी, सीमी, लौका, घिरौला, फर्सी र स्कुसको मूल्य दोब्बर भएको कृषि उपज थोक बजार स्थल बिर्तामोडका तथ्याङ्क प्रमुख मायादेवी राजवंशीले जानकारी दिइन् ।

गत वर्ष २० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको बन्दाकोपी अहिले ४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, गत वर्ष ६० रुपैयाँ प्रतिकेजीको सीमी १२०, २५ रुपैयाँ प्रतिकेजीको लौका ५०, ४० रुपैयाँ प्रतिकेजीको घिरौला ८०, १५ रुपैयाँ प्रतिकेजीको फर्सी ३० र १० रुपैयाँ प्रतिकेजीको काँक्रा २० रुपैयाँ पुगको छ ।

अन्य तरकारीजन्य उत्पादनमा पनि अपत्यारिलो तरिकाले मूल्य वृद्धि भएको छ । प्रायः उत्पादनहरुमा २५ प्रतिशतदेखि शतप्रतिशतसम्म मूल्य वृद्धि भएको छ ।

तरकारी किसान निराश

यर बर्ष धान खेती गर्ने किसानहरु पर्याप्त बर्षा भएपछि उत्साहित भइरहँदा तरकारी खेती गर्ने किसान भने निराश छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष अधिकांश किसानले तरकारी खेती गर्न भनेर तयार पारेको नर्सरीमा समेत क्षति पुगेको छ । जसका कारण यस वर्षको तरकारी उत्पादनमा समेत ह्रास आउने अनुमान गर्न सकिन्छ ।

झापामा बर्सेनि १ लाख ४१ हजार २ सय मेटि्रक टन तरकारी उत्पादन हुँदै आएको थियो । तर, यस वर्ष उत्पादन कम हुने विज्ञ बताउँछन् ।

निरन्तरको वषर्ाका कारण रायो, बोडी, तोरी, मुला, काउली जस्ता तरकारीजन्य उत्पादनमा कमी आएको छ ।

‘लगातारको झरीले किसानले लगाएको रायो, बोडी जस्ता तरकारीको नर्सरीमै क्षति गर्‍यो’, जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमिल्सिना भन्छन्, ‘केहीले तरकारी रोपेको भए पनि वषर्ाका कारण सोचेअनुरुपको उत्पादन भएन ।’ उनका अनुसार वषर्ाले यस वर्ष कृषि बजारलाई नराम्ररी प्रभावित बनायो ।

आयात बढ्यो

वर्षाका कारण जिल्लामा तरकारीजन्य वस्तुको उत्पादनमा गिरावट आयो । र, अन्यत्रबाट तरकारी आयात गर्नु पर्दा पनि तरकारीको मूल्य बढेको तथ्याङ्क प्रमुख राजवंशी बताउँछिन् ।

उनका अनुसार पूर्वाञ्चलकै एक प्रमुख कृषिउपज केन्द्र कृषिथोकमा अहिले अधिकांश तरकारी भारतीय बजारबाट भित्र्याइएका छन् ।

त्यस्तै, केही तरकारीहरु भने पूर्वी पहाडी जिल्लाहरुबाट आयात हुने गरेका छन् । अन्य जिल्लामा आयात हुने तरकारीहरुमा स्कुस गोलभेँडा इत्यादि छन् ।

अन्यत्रबाट आयात गर्नुपर्दा ढुवानी खर्च बढ्ने भएकाले पनि बजारमा तरकारीको मुल्य आकाशिएको हो ।

कृषि उपज थोक बजार स्थल बिर्तामोडका अुनसार भदौ महिनामा ५ हजार ५ सय मेटि्रक टन तरकारी अन्यत्रबाट बिर्तामोड भित्र्याइएको छ ।

जिल्ला कृषि विकास कार्यालय झापाले दिएको तथ्याङ्कअनुसार जिल्लामा ७ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment