Comments Add Comment

भरतपुर अस्पताललाई केन्द्रीय रेफरल अस्पताल बनाउन सहयोग गर्छुः प्रधानमन्त्री प्रचण्ड

Prachand-at-Bharatpur-Hospital

१३ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर अस्पताललाई सुविधा सम्पन्न केन्द्रीय रेफरल अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । भरतपुर अस्पतालले निकै राम्रो सेवा सुविधा प्रदान गरिरहेको भन्दै खुसी व्यक्त गरे ।

विहीबार भरतपुर अस्पतालको आकस्मिक निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई सरकारी अस्पताल यत्तिको राम्रो होला भन्ने लागेकै थिएन । तपाईहरुले निकै राम्रो काम गर्नुभएको रहेछ ।’

निरीक्षणको क्रममा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै अस्पतालका निवर्तमान अध्यक्ष विजय सुवेदीले भने, ‘प्रधानमन्त्रीले भरतपुर अस्पताललाई चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बनाउन सहयोग गर्दछु भन्नुभएको छ ।’

सो अवसरमा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीले अस्पतालका बिभिन्न समस्या र अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

‘मैले प्रधानमन्त्रीसँग भरतपुर अस्पताललाई ६ सय शैयाको सरकारी स्वीकृती दरवन्दी सहितको म्यानपावर, औजार उपकरणको व्यवस्था गरिदिन अनुरोध गरें, उहाँले सकारात्मक रुपमा लिएर सहयोग गर्दछु भन्नुभएको छ,’ मेसु डा. मरासिनीले भने ।

अस्पताल निरीक्षणको क्रममा उनले भरतपुर अस्पतालको वृत्ती विकासका लागि ठोस योजनासहित आउन अस्पताल प्रशासनलाई आग्रह गरेका थिए ।

निरीक्षणपछि प्रधानमन्त्रीले अस्पताल प्रशासनलाई निर्देशन दिँदै भने, ‘सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ । सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय यसैमा केन्द्रित छ ।’

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्पतालका बिरामीहरूको स्वास्थ्य स्थिति र अस्पतालको सेवा प्रवाहबारे जानकारी पनि लिएका थिए । उनले अस्पतालको स्त्री तथा प्रसुती विभाग, एनआइसियु, अप्रेशन थिएटर, पोष्टअप, वृद्धवृद्धा कक्ष लगायतका स्थानहरूको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment