Comments Add Comment

संस्मरण : फ्लाइट क्यान्सिलको ३६ घन्टा

बिहानै मेसेन्जर बज्यो । तीन वर्षको छोराले भ्वाइस म्यासेज गर्‍यो, ‘ड्याडी के गर्दै हुनुहुन्छ ?’

म काठमाडौंमा छु, श्रीमती र छोराछोरी पनि काठमाडौं नै छन् ।

मलाई एकछिन सोच्न बाध्य बनायो । आफू विदेश हुँदाका क्षण सम्झेँ । छोरा त्यसै गरेर म्यासेज गर्थ्यो । तर, अहिले म काठमाडौंमै छु ।

कुरा हो नेपाल एयरलाइन्सको । असोज १० गते सामान्य केक काटेर छोराको जन्मदिन मनाइयो । भोलिपल्ट राति ११:३० बजेको नेपाल एयरलाइन्सको टिकट काटेर म करिब आठ बजे एयरपोर्ट छिरेँ । जानुपर्ने थियो अबुधाबी । तर, एकपटक आफ्नै देशको ध्वजावाहक जहाज चढूँ भनेर मैले दुबईको लागि टिकट काटेको थिएँ ।

Ishwor-Aryalकेही पहिले त्यही एयरबस ३२० लाई धेरै नेपालीले गर्वको रुपमा लिएका थिए । क्याप्टेन विजय लामासँग सेल्फी लिएर पोष्टिएको देख्दा म आफैंलाई जलन हुन्थ्यो । हुन पनि हो, थाई र कतार एयरवेजसँगै आफ्नो उडान सेवा सञ्चालन गर्दागर्दै पनि धरासायी बनेको नेपाल एयरलाइन्स अहिले साँच्चिकै बौरिएको हो त ? दुई वटा न्यारो बडीको एयरबस मगाएपछि के साँच्चिकै हाम्रो आफ्नै ध्वजावाहक विमानको स्तर सुध्रिएकै हो त ? हो भने त्योभन्दा गर्वको विषय अरु के हुन सक्ला र !

हुन त एतिहादको टिकट काटेको भए पनि हुन्थ्यो, फ्लाई दुबई पनि थियो, एयर अरेबिया र ओमान एयर पनि लाइनमै थियो । नेपाल एयरलाइन्सको विमानको कहिले टायर पड्किने र कहिले बाह्र हजार फिटको उँचाइमा धुँवा देखियो भन्ने समाचार बारबार पढ्न परेको भए पनि मनमा प्रश्न थियो, कहीँ त्यस्ता समाचार नेपाल एयरलाइन्सलाई धरासायी बनाउने कसैको प्रायोजन त होइन ? नमरी स्वर्ग देखिन्न, म पनि एकपटक ध्वजावाहकको सेवाग्राही बन्छु भनेर टिकट काटेँ ।

सामान्य प्रक्रियापछि म बोर्डिङ लिने कक्षमा प्रवेश गरेँ करिब ९ बजे । साढे आठ बजे नै बोर्डिङ खुल्ने सूचना आए पनि नौ बजेसम्म कुनै पनि स्क्रिनमा नेपाल एयरलाइन्सको लोगो देखिएन । दश बजेसम्म पनि त्यसको कुनै छाँटकाट थिएन । सामान्यतया फ्लाइट उड्नुभन्दा एक घन्टा अगाडि नै बोर्डिङ बन्द गर्नुपर्ने हो । मेरो मनमा शंका पस्यो, फ्लाइट यदि बाह्र बजेभित्र उडेन भने त्यसपछि त्रिभुवन विमानस्थल सञ्चालनमा आउने छैन ।

दश बजे सुरु भएको बोर्डिङमा लगेजको सामान्य प्रक्रिया पूरा गरेपछि सुरक्षा चेक गराएर हामी वेटिङ हलमा गर्‍यौं । हामीलाई त्यतिबेलै फ्लाइट एक घण्टा ढिलो हुने जानकारी दिइयो । ग्राउन्ड ह्यान्डलिङ गरिरहेका नेपाल एयरलाइन्सका कर्मचारीहरुको हाउभाउ सामान्य देखिएन । मैले बारबार छुट्टाछुट्टै कर्मचारीहरुलाई फ्लाइट डिले हुने कारण सोधेँ । प्राय: सबैले बताउन चाहेनन् । कुरा मेरो मात्र थिएन, म जस्ता पचपन्न जना वैदेशिक रोजगारीमा जानेहरुको पनि थियो ।

तीन जना कर्मचारीहरु एउटा मोबाइल फोनमा झुन्डिएको देखियो, करिब १२ बजेतिर । म पनि त्यतै गएँ, अलि परैबाट हेरें । त्यहाँ एउटा नक्सा थियो, सायद त्यो फ्लाइटको बारेमा सबै जानकारी दिने सफ्टवेयर थियो, “फ्लाइटराडार” भन्ने । एउटा जहाज जुन नेपाल एयरलाइन्सकै थियो, त्यो वीरगन्जको आकाशमा करिब तीन फन्को लगाइरहेको मैले मोबाइलमै प्रष्ट देखेँ ।

अब के हुन्छ ?

‘सायद लखनउतिर डाइभर्ट हुन लाग्यो होला,’ एउटाले जवाफ दियो ।

अर्कोले भन्यो, ‘त्यहाँबाट काठमाडौं आउँदा बीचमा पहाड पर्छ, रातमा पाइलट सबै डराउँछन, त्यही भएर उतै घुमाएको होला ।’

म अवाक् भएँ । ‘अनि टावरसँग सम्पर्क छैन ?’ मैले सोधेँ ।

‘छ, तर हामीले सबै सूचना दिन मिल्दैन,’ अर्कोले लेघ्रो तानेर जवाफ दियो ।

त्यत्तिकैमा मोबाइलमा त्यो जहाज गायब भयो । एउटा सन्नाटा छायो । म चुप रहेँ, तर मनमा नानाथरी कुरा खेले । अर्को हान्निँदै आयो, ‘नेट नभएर हो, डाटा अन गरेर हेर, प्लेन घुमिरहेको छ ।’

मैले सन्तोषको सास फेरेँ । वाइफाइले एकछिन काम गर्न छोडेको रहेछ ।

‘दुई बजेसम्म हामी जसरी पनि उड्छौं,’ हामीलाई सान्त्वना दिने एक-दुई जना कर्मचारी भेटिए । फोन हेर्दाहेर्दै त्यो प्लेन रातको साढे एक बजे काठमाडौंको रनवेमा ल्यान्ड भयो ।

त्यसको करिब आधा घन्टापछि एउटा मधेसी मूलको ग्राउन्ड ह्यान्डलरले हामीलाई सूचना दियो, ‘फ्लाइट क्यान्सिल भयो, वि आर सरी, लेट्स गेट इन्टु आवर होटेल ।’

मैले सोधें, ‘क्यान्सिल हुनुको कारण के रहेछन् ?’

उसले भन्यो, ‘टावर कन्ट्रोलले उड्न दिएन ।’

एक सय ७० जना अटाउने जहाजमा हामी ५५ जना मात्र थियौं । त्यसैले उड्न नमानेको होला भन्ने मैले लख काटेँ । रातको तीन बजे हामीलाई तिलगंगाको एउटा होटेलमा ल्याएर हुलियो । पास क्लियर भइसकेर भित्र गएको आफ्नो झोला फेरि फिर्ता समात्दा मेरो मन कटक्क खाएको थियो ।

फोन गरेर घरमा जानकारी दिएँ । बाह्र बजे बन्द हुने एयरपोर्टका कर्मचारीहरु ओभरटाइम गर्नुपरेकोले होला, रक्सीले फिटान भएका जस्ता देखिन्थे । हामीलाई एउटा गाडी आएर पिक अप गर्‍यो । अरुसँगै म पनि आफ्नो लगेज काँधमा हालेर होटेल छिरेँ । हाम्रो पासपोर्ट होटेलले राख्यो, त्यतिबेला मलाई कुनै दलालले फँसाएर होटेलमा राखेको जस्तो अनुभूति भयो ।

बिहानको करिब पाँच बजे हामीलाई खाना दिइयो । हामीले त्यो पनि मन कटक्क काटीकाटी खायौं ।

हामीलाई रनवेको समस्या देखाइएको थियो । तर, पाँच बजे खाना खाएर सुत्ने बेलामा जहाजहरु ल्यान्ड र टेकअफ गरेको आवाजले सुत्न पाइएन ।

दोस्रो दिनको १२ बजेतिर हामीले होटेलको प्रशासनमा सम्पर्क गर्‍यौं । हामीलाई बेलुकाको ६ वा ११ बजे फ्लाइट हुन सक्ने जानकारी दिँदै कतै पनि नजान भनियो । काठमाडौंमै घर भएका यात्रुहरु यताउता हिँड्न डराए । म पनि नियतिलाई दोष दिएर बसिरहेँ । हिजो रातभरि सर भन्ने होटेलका कर्मचारीहरुले यात्रुहरुलाई दाइ-भाइ भन्न थालिसकेका थिए ।

हरेक कर्मचारीले हामीलाई निर्देशन दिन थाले- यो गर, उ गर या यो नगर भनेर । बुझ्न खोज्दा आफूलाई कुनै नयाँ सूचना नआएको भनेर पन्छिए सबै । हामीमध्ये चार जना महिला र एक जना बच्चा बढी हतोत्साही देखिन्थे । खाना राम्रो थिएन । सम्भवत: हामीलाई उपेक्षा गर्दै बनाइएको थियो, बिरामी या बच्चाबच्ची मैत्री बिलकुलै थिएन ।

हाम्रो दोस्रो दिन तनावमै बित्यो । त्यस बीचमा मैले जम्मा एकपटक घरमा फोन गरेर सकुशल रहेको जानकारी गराएँ । फेसबुकमा स्टाटस पोष्ट गर्दा सामान्य तरिकाले अरु नै विषयवस्तुमा आधारित रहेर लेखेँ, ता कि हामीले भोगेको नियतिको बारेमा कोही नचुकचुकाओस् ।

बेलुका भयो । दिनभरिमा सयौं अरु प्लेन आए-गए, आवाज सुनेर बसिरहेँ । गोजीमा नेपाली पैसा नभएकाहरुले घरबाट या आफन्तबाट पैसा मगाउन थाले । आखिर यो युगमा बस्न र खान मात्र दिएर कुनै पनि मान्छेको मौद्रिक स्वतन्त्रता हनन गर्न सकिँदैन । सबै परिस्थितिको दास थिए । एउटा बच्चा रोइरहेको थियो, बाँकी अरुहरु मनमा अशान्ति र पीर बोकेर यता-उता दौडिरहेका थिए । बेलुकाको खाना खाएर चौथो तलाको एउटा कोठामा गएर पल्टिए पनि निद्रा लागेन । जुन कोठामा दुई वटा बिस्तरा भए पनि चार जनालाई सुत्न लगाइएको थियो ।

साथीहरुले पीडा भुलाउन एक बुक तास ल्याएका रहेछन् । सँगै केही समय खेलियो । १२ बजे सुत्न खोजे पनि प्लेनको आवाजले निद्रा खाइदियो ।

बिहान आठ बजे चर्को स्वरमा हेल्लो र हाई गर्दै होटेलका कर्मचारीहरु उठाउन आए । उठ्नेबित्तिकै मैले सोधेँ, ‘केही नयाँ जानकारी छ ?’

एक कर्मचारीले भन्यो “ब्रेकफास्ट रेडी छ, नयाँ इन्फर्मेसन त्यत्ति हो ।”

आँखा मिच्दै तल झरेँ । चियाको चुस्की लिएसँगै नेपाल एयरलाइन्सको कार्यालयमै जाने सोच आयो । तर, त्यो भन्दा पहिले किन एक पटक फोन नगर्ने ? होटेलको डेस्कमा सोध्दा नम्बर छैन भनियो । मैले गुगल गरेँ । पछि सोच आएको थियो, टिकटमा पनि त फोन नम्बर हुन्छ । तर, झोला चार तलामाथि भएकोले जान गाह्रो लाग्यो ।

पहिला वायुसेवा निगमको सम्पर्क कार्यालयमा फोन गरेँ – ०१-४२२०७५७ ।

एक जना सेक्युरिटी गार्डले उठायो । केही थाहा नभएको जानकारी गराउँदै उसले अर्को नम्बर दियो ०१-४४७०९८१ । त्यसमा एउटी महिलाले फोन उठाइन् ।

‘हु इज दिस ?’ मैले सोधेको प्रश्नमा उनी अनकनाउँदै उल्टै मलाई नेपालीमा सोधिन्, ‘कसलाई खोजेको ?’ मैले कुनै घरको ल्यान्डलाइनमा परेछ कि भन्ने सोचेँ ।

‘एयरलाइन्समा कन्ट्याक्ट गर्न खोजेको, तपाईलाई रङ नम्बर परेछ, सरी !” यति भन्दा नभन्दै उनले भनिन्, यो एयरलाइन्स नै हो । उनले पनि अर्को नम्बर दिइन् ०१-४११३२७९ ।

टुटेफुटेको अङ्ग्रेजी बोल्न जान्ने एक जनाले फोन उठाएछ । सोधेँ, ‘इज दिस नेपाल एयरलाइन्स इन्क्वाइरी नम्बर ?’

उसले ‘यस सर’ भन्यो । मैले हाम्रो स्थितिको बारेमा उसलाई जानकारी गराएँ ।

‘आइ डन्ट नो मच अबाउट दिस, प्लिज कन्ट्याक्ट एनोदर नम्बर । नोट इट डाउन प्लिज, ०१-४४३२११ ।

फोन गरेका कुनैमा पनि टेलिफोन एटिकेट देखिएन । सबैले हेल्लो हेल्लो मात्र भन्थे ।

मैले फेरि उसले दिएको नम्बरमा फोन हानेँ ।

‘वी आर नोन टु दिस म्याटर मोर देन यु, वी विल कन्ट्याक्ट होटेल अफिसियल्स, एज सुन एज वी आर रेडि टु फ्लाई,’ यति एक सासमा भनिसकेपछि फोन ट्याँ ट्याँ गर्‍यो ।

पुर्पुरोमा हात लगाएँ । कम्तीमा नेपाल एयरलाइन्सको कुनै एक कर्मचारी होटेलमा आएर पनि ब्रिफिङ गर्न सकेन । या त हाम्रै हैसियत पुगेन, हामी त वैदेशिक रोजगारीमा जान लागेको मान्छे न परियो ! उनीहरु नेपाल एयरलाइन्सका ठूला अफिसरहरु परे । जिन्दगीमा पहिलो पटक कुनै कर्मचारीबाट यस्तो तरिकाले हेपिएको यो पहिलो पटक थियो । फ्लाइट क्यान्सिल भएको ३६ घन्टाभन्दा बढी भइसकेको थियो ।

यति लेख्दासम्म हामी सबै कुहिरोको काग नै छौं । उस्तै गरेर चर्को आवाजमा प्लेन रनवेमा ठोक्किएको सुनिरहेका छौं । तर, हाम्रो प्लेनको बारेमा हामीलाई कुनै जानकारी छैन । एक-दुई जना हाम्रो टिमका साथीहरु बेलुका दोहोरीतिर गएर समातिए र पुलिसले केरकार गरेर छोडेको नमीठो खबर सुन्न पाइयो । श्रीमानलाई भेट्न हिँडेकी एक महिला दुई वर्षे बच्चालाई ज्वरो आएपछि आत्तिइरहेकी छिन् ।

अझसम्म हामीलाई कुनै जानकारी आएको छैन । थाहा छैन, अझै कति दिन यस्तै गरेर बस्नुपर्ने हो । थाहा छैन, राष्ट्रिय गौरव बोकेको ध्वजावाहक विमानहरु कति संख्यामा भएमा नेपाली यात्रुले गर्व गर्न सक्लान् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment