Comments Add Comment

केकीको ‘आजको डायरी’: सुख्खा रोटी खाँदै, सुटिङ गर्दै

keki adhikari in sindhuli
बिहान ५ः३० बजे नै सुटिङमा जानु पर्ने भएकाले म बिहान ५ बजे नै उठेँ । अहिले म चलचित्र ‘घामपानी’को छायांकनका लागि सिन्धुलीमा छु । ५ बजे उठेर तयार भएर ६ बजे होटलबाट निस्कियौं । हामी बसेको होटल र छायांकन गर्ने स्थानको दुरी करिब १ घन्टाको फरकमा छ ।

निमुवाटार भन्ने गाउँमा हाम्रो चलचित्रको छायांकन भैरहेको छ । छायांकनस्थलमा पुगेर करिब १ घन्टा जती मेकअप गरेर हामीले छायांकन सुरु गर्‍यौ । आजका लागि पहिलो टेक दिदा सायद, ९ बजेको थियो होला । १०ः३० तिर ब्रेकफास्ट लिएँ । यहाँबाट अर्को लोकेशनमा जानु पर्ने थियो । निमुवाटारबाट पनि गाडी नजाने ठाउँ छ । करिब १५ मिनेट जति हिड्नुपर्छ । पानी परिरहेकाले त्यहाँ गाडीमै जान सकिएन । करिब २० मिनेट हिडेर बल्ल लोकेशनमा पुगियो ।

पानीले एकदमै दुःख दिइरहेको छ । पानी परिरहेकाले हाम्रो छायांकन हुन सकेन । करिब १ घन्टा कुरेपछि पानी बन्द भयो । तर, सिन दिने बेलामा फेरि पानी पर्‍यो । त्यस्तै १२ः३० मा हामीले बल्ल बिहानको खाना खायौं ।

म अहिले सुटिङमा सामान्य खाना मात्र खाइरहेकी छु । भर्खरै मात्र निमोनियाबाट तग्रिदै गरेकाले पनि मैले सुख्खा रोटी, सामान्य दाल र तरकारी बनाइदिन भनेको छु । छायांकनमा मासु, चिल्लो केही पनि खाएकी छैन ।

आज दयाहाङ दाई र मेरो इन्ट्रोडक्शन सिन थियो । चलचित्रको सुरुवातमै आउने दृश्य भएकाले पनि अझ बढी मिहिनेत गरिन्छ । हिड्नु परेकाले पनि थाकिएको थियो । पानीले गर्दा हामीले ४ बजेपछि सुटिङ नै गर्न सकेनौ । बेलुकी ५ः३० सम्म कुर्दा पनि पानी नरोकिएपछि आजका लागि सुटिङ प्याकअप नै भयो ।

आज ४ वटा सिन खिच्ने सेड्यूल थियो । तर, जम्मा २ वटा मात्र सिन खिच्न सक्यौं हामीले । आजको दृश्य एकदमै चित्त वुझ्दो भएको छ । आजको कामबाट आफू निकै सन्तुष्ट भएको महशुश गरिरहेकी छु ।

छायांकन सकेर अहिले फेरि होटलमा आएकी छु । दिनभर हिडेकाले एकदमै थकाई लागेको छ । भोली पनि आजकै जस्तो सेड्यूल भएकाले चाडै नै सुत्छु ।
आजको दिन समग्रमा राम्रैसँग वित्यो । एकजना कलाकारका लागि काम नै ठूलो कुरा हो । त्यो काम गर्ने अवसर मिलेको छ । आजको दिनलाई म ५ मा ३ अंक दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment