Comments Add Comment

त्रिशुलीमा पूर्वगृहमन्त्री खोज्ने सुरक्षाकर्मी भन्छन्- हिम्मत हारेका छैनौं

पानी मुनि हुक अड्कियो, खोजी अझै जारी

Madhav-Ghimire-Accident,-at-Trishuli

१३ असोज, चितवन । चितवन दारेचोकमा पर्ने घोप्टेभिर नजिक त्रिशुली नदी दुई अग्ला पहाडलाई चिरेर गहिरिएको छ । घोप्टेभिर नजिक त्रिशुलीको गहिराई करिव ५० मिटर भएको अनुमान प्रहरीको छ । अत्यन्तै गहिरो र पानीको वेग पनि बढी भएका कारण यो स्थानमा हराएका कयौं गाडी र गाडीसँगै खसेका मानिसहरू वेपत्ता हुने गरेका छन् ।

यहि भिरबाट गत आइतवार त्रिशुली नदीमा स्कारपियो गाडीसहित खसेका पूर्वगृहमन्त्री एवम् पूर्वमुख्य सचिव माधव घिमिरे र उनका अन्य २ जना भाईहरू अझै बेपत्ता छन् । उनीहरू त वेपत्ता छन् नै उनीहरू चढेको कार पनि अझै भेटिएको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले दुर्घटना भएको दिनदेखि नै निरन्तर खोजी गरिरहेका छन् तर पनि उपलब्धी अझै हात लागेको छैन ।

वेपत्ता भएका पूर्वगृहमन्त्रीको खोजी कहिलेसम्म जारी रहन्छ भन्ने अनलाइनखबरको जिज्ञासामा चितवनका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंह भन्छन्, ‘अर्को निर्देशन नआएसम्म ।’

हिम्मत हारेका छैनन् सुरक्षाकर्मी

घोप्टेभिरमा हराएका सवारी र ब्यक्ति खोज्नु अति नै कठिन काम छ । वेपत्ताहरू भेटाइन्छ नै भन्ने छैन । किनकी विगतमा घोप्टेभिरबाटै त्रिशुलीमा खसेका गाडीहरु र त्यसमा सवार व्यक्तिहरुको अवस्था अझै पनि अज्ञात नै छ ।

Ghopte-Vir,-Trishuli

प्रहरीले पूर्वमन्त्री घिमिरेको खोजीमा नेपालमा सम्भव भएका सबै उपायहरु अपनाएको छ । ६ दिनसम्म खोज्दा पनि परिणाम हात लागेको छैन तर पनि खोजी कार्यमा खटिएको टोली निराश भएको छैन ।

विपत व्यवस्थापन तालिम केन्द्रका कुरीनटारका प्रवक्ता गणेशबहादुर थापा भन्छन्, ‘प्राकृतिक र भौगोलिक रुपमा अति नै कठिन छ यहाँ काम गर्न । तर, हामी केही न केही रिजल्ट दिन चाहान्छौं, निराश भएका छैनौं ।’

पानी मुनि हुक अड्कियो

बुधबार लगाइएको दुईवटा हुक पानीभन्दा तल करिब १५ मिटरमा गएर अड्किएपछि हराएको कुनै गाडी भेटिएको हो कि भनेर उद्धार टोली हौसिएको थियो । हुकमा त्यो सामान हल्लिएको पनि छ । त्यसैले गाडीमै हुक अड्किएको हुनसक्ने उद्धार टोलीको विश्वास छ ।

‘एउटा हुक उठाउने क्रममा भाँचियो, अर्को हुक टुचिन लगाएर तान्न खोज्दा सुर्किएर फुस्कियो,’ विपत व्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता थापाले भने, ‘आज फेरि मुग्लिनमा गएर अर्को हुक बनाएर अड्काउने काम गरिएको छ । थोरै आशा यसमै छ ।’

आज केही उपलब्धी हात लाग्छ कि भनेर उद्धार टोलीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी सिंहले बताए ।

घटनास्थल भन्दा १० मिटर तल खोजीको केन्द्र बनाइएको छ । पानी निकै धमिलो भएको कारण दुरविन लगाएर हेर्दा पनि निकै समस्या भएको उद्धार टोली बताउँछ ।

आज आर्मीको अति दक्ष प्राविधिक टोली पनि खोजीमा जुटेको छ । ‘बाहिरबाट तत्काल अरू उद्धार टोली र उपकरण ल्याएर खोज्ने कुरा भएको छैन,’ प्रजिअ सिंहले भने, ‘नेपालमा पनि बाहिर गएर तालिम लिएर पढेर आएको विशेषज्ञ टोली छ । सबै उपाय अपनाइएको छ ।’

हराइरहेका घिमिरेको खोजीमा गत आइतवारदेखि नै नेपाली सेनाको ५० जनाको, सशस्त्र प्रहरी विपद व्यवस्थापन केन्द्रको एक प्लाटुन र जनपथ प्रहरीको ४० जनाको टोली खटिरहेको छ ।

‘नतिजा नआइञ्जेल खोजीमा निराशा आउन स्वाभाविक नै हो,’ विपत व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरीका प्रवक्ता थापाले भने, ‘भूकम्पका बेलामा समेत हाम्रो संगठनले कठिन उद्धार गरेको थियो, हामी यहाँ पनि केही न केही रिजल्ट निकाल्न चाहान्छौं हाम्रो इज्जतको पनि सवाल छ, त्यसैले हामी आशावादी छौं ।’

Ghopte-Vir,-Trishuli-2

मुग्लिन, कालिखोला लगायतका क्षेत्रमा समेत प्रहरीहरूलाई सतर्क अवस्थामा राखिएको छ । नदीले कतै शव बगाएर ल्याएको हुनसक्ने भएकाले नवलपरासीको त्रिवेणीसम्म प्रहरी परिचालन गरिएको छ । पूर्वगृहमन्त्री घिमिरे र उनका २ जना भाईहरू गाडीमा नै किचिएर रहेको अवस्थामा हुने सक्ने प्रहरीको अनुमान छ । त्यसैले गाडीको खोजीलाई नै प्राथमिकतामा राखिएको छ ।

सडक विभागको टोलीले समेत विहीबार सडक र घटनास्थलको अनुगमन गरेको छ । सडकको अवस्था सुधार र दुर्घटनाग्रस्त क्षेत्रलाई सुरक्षाका उपाय अपनाउन स्थानीयवासीले आग्रह गरेका छन् ।

पूर्वमुख्य सचिव समेत रहेका घिमिरे सवार बा ९ च १५३१ नम्वरको स्कारपियो कार गत आइतवार साँझ ५ बजेतिर घोप्टेभिरबाट त्रिशुलीमा खस्दा घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी घिमिरे, सशस्त्र प्रहरीका सई रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको थियो । सवारी चालक बिष्णु राईलाई पुरानो मेडिकल कलेजमा उपचार पछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

गत भदौ २४ गते घोप्टेभिरबाटै खसेको ट्रक र सोका चालक तथा सहचालक पनि अझै भेटिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment