Comments Add Comment

हिब्रु भाषा सिक्नुभयो ? कामदार लैजान इजरायल बाध्य छैन

israel
१३ असोज, काठमाडौं । इजरायल जानका लागि केयर गिभर र हिब्रु वा अंग्रेजी भाषाको तालिम लिँदै हुनुहुन्छ ? तर, तपाईंले हजारौं खर्च गरेर सिकेको यो सीप र भाषा काम नलाग्न सक्छ । किनभने सरकारी तहबाटै इजरायल पठाउने कार्यक्रमको निरन्तरतामा आशंका उब्जिएको छ ।

एक वर्षअघि गरिएको समझदारीअनुसार अब २ सय ४१ कामदार जान पाउनुपर्ने हो । तर, इजरायलसँग भएको त्यो समझदारीबारे विभागका अधिकारीहरु नै भ्रममा रहेको खुलेको छ । अब दोस्रो चरणमा कामदार लैजान इजरायल बाध्य नभएको सरकारी अधिकारीले बताउन थालेका छन् ।

सरकारी तहबाट पहिलो चरणमा ५९ जना कामदार इजरायल पठाए लगत्तै अर्को चरणमा कामदार पठाउने बारे अन्योल उत्पन्न भएको हो ।

खाडीसहित मलेसियामा नेपालीको रोजगारी संकटमा परेका बेला इजरायलजस्तो आकर्षक मुलुकमा नेपाली पठाउने प्रक्रियाबारे अन्योल देखिएको छ ।

केमा भयो अन्योल ?

सरकारले पहिलो चरणमा ५९ जना कामदारलाई केयरगिभरका रुपमा इजरायल पठाएको छ । अहिलेसम्म नेपाल र इजरायलबीच ३ सय कामदार लैजाने गरी एमओयु भएको भनिँदै आएको थियो ।

तर, अहिले एमओयुबारे नयाँ तथ्य बाहिर आएको छ, जसले इजरायललाई थप कामदार ततकालै लैजान कुनै हतारो गर्नुपर्ने देखिँदैन । किनभने इजरायलसँग भएको एमओयुमा ६० जना कामदार लैजाने विषय मात्रै उल्लेख भएको भेटिएको विभागकै एक अधिकारीले बताए ।

यसअघि विभागका अधिकारीहरु ३ सय जनाको कोटा भएको र पहिलो चरणमा ५९ जना उडेकाले अब थप कोटामा कामदार इजरायल जाने बताइरहेका थिए ।  तर, अहिले सम्झौता अध्ययन गर्दा ३ सय कामदार लैजानेबारे कतै उल्लेख नभएको ती अधिकारीले बताए ।

‘हामी पनि ३ सय केयरगिभर लैजाने भन्दै इजरायलले थप कोटा कहिले पठाउँछ भनेर कुरिरहेका थियौं’ ती अधिकारीले भने,’अहिले एमओयु हेर्दा पहिलो चरणमा ६० जना पठाउनेबाहेक संख्यागत रुपमा थप कुनै कुरा उल्लेख गरेको भेटिएन ।’

उनले एमओयुमा ६० जना कामदारको लगेर उनीहरुको कामको मुल्यांकन गरेर मात्रै थप कामदार लैजानेबारे निर्णय गर्न सकिने उल्लेख रहेको बताए । त्यसअनुसार अब इजरायलले कोटा थप नगरे त्यहाँ सरकारी तवरबाट नेपाली कामदार पठाउने काम रोकिन सक्छ ।

तर, विभागले थप कामदारको कोटा दिन इजायलसँग माग गरिने बताएको छ ।

एमओयुमा बढीमा ३ सय कामदारको आवेदन लिएर १ सयको सर्ट लिस्ट निकाल्ने र ६० जनालाई मात्र इजारायल लैजाने उल्लेख रहेको देखिएको छ ।

‘हामीले पठाएका कामकारको कामको मूल्यांकनबारे हामी औपचारिक रुपमा सोध्छौं । तर, अर्को चरण्मा थप कामदार लिन आग्रह पनि गर्छौं’ उनले भने ।

एमओयुअनुसार ६० जना इजरायल पुगेपछि दोस्रो चरणमा लैजाने कामदारबारे दुई सरकारबीच छुट्टै सम्झौता हुनुपर्ने देखिएको छ ।

समझदारीका बेलामा परीक्षणका रुपमा ३ सय कामदार लगेपछि इजरायलले वाषिर्क १ हजार ५ सय कामदारलाई रोजगारी दिने आश्वासन दिएको बताइएको थियो । तर,यो विषय उल्लेख नभएकाले दोस्रो चरणका लागि सम्झौता हुने/नहुने भन्नेमै अन्यौल भएको छ ।

कस्तो श्रम गन्तव्य हो इजरायल ?

इजरायलको कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहाने नेपालीका लागि राम्रो गन्तव्य मानिएको छ ।

इजरायलले मागको ८० प्रशिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयुमा उल्लेख छ । यसैअनुसार पहिलो चरणमा कामदार छनोट गरिएको हो ।  इजरायलमा विशेषगरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरिएको छ ।

विभागले पहिलो चरणका लागि गरेको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए ।
यी कामदारले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउनेछन् । इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चलगायत गरी लगभग ९५० डलरमात्रै तिर्नपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment