Comments Add Comment

एमाले प्रस्तावित राजदूत उपाध्यायको विपक्षमा, निर्णयमा के असर गर्ला ?

भानुभक्त ढकाल भन्छन्-लीलामणि पौडेलबारे हाम्रो विमति छैन

Deep-kumar-Upadhyay१४ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदीय सुुनुवाई विशेष समितिमा भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायको विपक्षमा मत दिने भएको छ । उसलाई अर्को विपक्षी राप्रपा नेपालले पनि साथ दिनेछ ।

भारतका लागि राजदूत प्रस्तावित उपाध्याय र चीनका लागि प्रस्तावित लीलामणि पौडेलको सुनुवाई सकिए पनि अनुमोदन हुन बाँकी छ ।

सभापति कुलबहादुर गुरुङ विरामी भएकाले बैठक बस्न सकेको छैन । सम्भवत आइतबार बैठक बसेर प्रस्तावित राजदूतबारे निर्णय लिने कांग्रेस प्रमुख सचेतक एवं समिति सदस्य चिनकाजी श्रेष्ठले बताए ।

एमाले दीपकुमारको विपक्षमा

हालसम्म प्रस्तावित राजदूतहरु सर्वसम्मत अनुमोदन हुने गरेपनि दिपकुमारको भूमिका ‘जुन देशको राजदूत बन्न लागेका हुन्, सोही देशको दूतको जस्तो देखिएको’ भन्दै एमालेले विपक्षमा मतदान गर्ने बताएको छ ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘उहाँको सिफारिस नै प्रतिशोधपूर्ण छ । जुन सरकार ढालेर यो सरकार बनेको हो त्यो सरकार ढाल्ने कडीका रुपमा भूमिका खेले बापत उहाँलाई पुरस्कृत गरिएको देखिन्छ । त्यसैले सरकारले अयोग्य भनेर फिर्ता बोलाएको व्यक्तिलाई हामीले अनुमोदन गर्ने कुरा भएन ।’

उपाध्यय यसअघि पनि भारतका लागि नेपाली राजदूत थिए । तर, एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारले उपाध्यायलाई राजदूतबाट फिर्ता बोलायो । त्यसबेला उनीमाथि सरकार ढाल्न लागेको लगायतका आरोप लगाइएको थियो । तर, उनलाई दिइएको पत्रमा भने केही उल्लेख छैन ।
उपाध्यायको भूमिका राष्ट्रको पक्षमा नदेखिएकाले विपक्षमा मतदान गर्ने उनले बताए ।

सुनुवाईका क्रममा पनि एमाले सांसदहरुले उपाध्यायमाथि देशको पक्षका काम गर्ने आश नरहेको लगायतका आरोप लगाएका थिए ।

एमालेको निर्णयले के असर गर्छ ?

एमालेसँग उपाध्यायलाई भारतका लागि नेपालको राजदूत हुनबाट रोक्ने मत छैन । नियम अनुसार कुनै व्यक्तिको नाम बहुमतले अनुमोदन हुन सक्छ तर, अस्वीकृत गर्नका लागि दुई तिहाई चाहिन्छ । तर, १५ सदस्यीय संसदीय सुनुवाई समितिमा एमालेका चार सदस्य छन् भने राप्रपा नेपालका एकजना छन् ।

तर, एमालेको निर्णयले सत्तारुढ दल केही अप्ठ्यारोमा परेका छन् । समितिमा कांग्रेसका पाँच र माओवादीका दुई सांसद थिए । तर, कांग्रेसका प्रकाशशरण महत र बालकृष्ण खाँड र माओवादीका हितराज पाण्डे मन्त्री भइसकेपछि तीन सदस्य रित्त छ । सभापति पनि कांग्रेसकै कुलबहादुर गुरुङ छन् ।

अहिलेको अवस्थामा सत्तापक्षको मत सभापतिसहित चार छ भने फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीको पनि समर्थन जुटाउन सकेको अवस्थामा पाँच हुन्छ । अर्थात एमालेाको समर्थन विना अनुमोदन हुन सक्दैन ।

कांग्रेस र माओवादीले समितिमा आफ्नो कोटामा रहेका सिटमा नयाँ सदस्य पठाएपछि मात्र अनुमोदन गराउन सक्नेछन् ।  कांग्रेसका दुई र माओवादीका एक सदस्य छन् ।

पौडेललाई एमालेको पनि समर्थन

चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलको हकमा भने भने समितिमा सर्वस्म्मत हुने देखिएको छ ।

पूर्व मुख्यसचिव समेत रहेका पौडेलप्रति एमाले नकारात्मक छैन । पौडेलको नाम अनुमोदनमा आफूहरु विपक्षमा नरहने र विगतको जस्तै सर्वसम्मत रुपमा पारित गर्न सघाउने ढकालले बताए ।

उनले भने-पौडेलजीको बारेमा हाम्रो कुनै टिप्पणी छैन । उहाँको नाम अनुमोदन सर्वसम्मत रुपमै हुन्छ होला । यसबारे हामी पार्टी नेतृत्वसँग छलफलमा छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment