Comments Add Comment

वैदेशिक रोजगारीमा गएकालाई कति कमाइस् मात्र नसोध्नुस्

Abroadविदेश उड्ने जो कोही नेपालीले सपना बुन्छ नै । नेपाल छाड्दा उसले केही बोकेर जान्छ भने त्यो सपना नै हो । देशबाट टाढा हुँदै गर्दा आफ्नो भविष्य सुन्दर बनाउने र आफ्नो परिवारलाई सुखी राख्ने सपना देख्नु स्वाभाविकै हो ।

विदेशिएका नेपालीहरुको औंसत सपना सायद एउटै हुन्छ, अलिकति पैसा कमाएर सुगम ठाउँमा एउटा सानो घर बनाउने । परिवार नहुनेले परिवार बसाउने, नियमित आम्दानी हुने सानोतिनो व्यवसाय गर्ने र आफ्नो परिवारसँगै बस्ने । यस्तै सपना बुन्दै दैनिकजसो सयौं युवा विदेशिने गरे पनि कसैका पूरा हुन्छन् त कसैको हुँदैनन् !

मुटु त त्यतिबेला चस्कन्छ, जतिबेला सुनिन्छ – फलानोले त आत्महत्या गर्‍यो रे । फलानो सुतेको ठाउँबाट उठेन रे । फलानोलाई लुटेराले तलब लिएकै दिन लुटेर मारे रे ।

दैनिकजसो यस्ता समाचार सञ्चार माध्यमहरुमा आइरहन्छन् । अनि प्रतिक्रिया आउँछ- फलानो त राम्रै कमाउँथ्यो, किन गरेछ आत्महत्या ? उसको त व्यवसाय पनि राम्रै थियो । मिलनसार अनि मिहिनेती थियो । अन्तिममा कठैबरा बिचरा भनिन्छ । यस्तै प्रतिक्रिया आउँछ हाम्रो समाजमा । तर, त्यो मान्छेले आत्महत्या किन गरेछ ? के कारण थियो, जसले उसलाई आत्महत्या गर्न प्रेरित गर्‍यो ? त्यसको खोजी प्राय: हुँदैन ।

यस्ता समाचार पढ्नुपर्दा मलाई सधैं एउटै कुराले सोचमग्न बनाउँछ, मान्छेहरु आत्महत्या किन गर्छन् ? समस्याको समाधान आत्महत्या नै हो त ? जसले आत्महत्या गर्‍यो, उसले मुक्ति पायो होला त ? आत्महत्याको पछाडि जिम्मेवार को हुन् त ? प्रश्न अनेक छन् ।

यिनै प्रश्न दिमागमा उब्जिरहँदा विदेशमा कमाउन जाने साथीभाइ र तिनका आफन्तलाई सम्बोधन गर्दै यो लेख लेख्दै छु ।

हामी नेपाली थोरै नै हौंला, जो आफ्नै पैसाले विदेश जान्छौं । अधिकांशले धेरथोर पैसा ऋण र सरसापट गरेकै हुन्छन् । उसलाई पनि थाहा हुन्न सायद, उसले त्यो ऋण चुक्ता गर्न सक्छ या सक्दैन । विदेश आएसँगै काममा ज्यान दिएर लाग्ने र छिटोछिटो ऋण चुक्ता गर्ने सोचाइ उसले नेपालमा छँदै बनाएको हुन्छ । त्यसरी विदेशी भूमिमा गइसकेपछि सबैको सोचे जस्तो नहुन सक्छ, जसले गर्दा दिमागमा अनेक कुरा खेल्छन् । त्यो स्वाभाविक पनि हो । तर, बुझ्नुपर्ने कुरा के हो भने, सोचे जस्तो हुने भए यो संसार स्वर्ग हुन्थ्यो होला अनि तपाईं हामी स्वर्गका बासिन्दा हुन्थ्यौं होला ।

काम गर्दा आफू सुरक्षित छैन भन्ने लाग्छ भने छोड्नुस् काम । सम्भव भए काम परिवर्तन गर्नुस् । नभए फर्कनुस् आफ्नो देश । तपाईंसँग आफ्नो परिवार छ, समाज छ, देश छ । जिन्दगी त्यहाँ सुन्दर छ, जहाँ यी सब कुरा छ

तारादेवीको एउटा गीत छ, सोचे जस्तो हुन्न जीवन । यथार्थपरक गीत हो यो । जीवन भनेको भोगाइ हो, जन्मसँगै भोगाइ सुरु हुन्छ र त्यो भोग्दै जानु नै जिन्दगी हो । यसबाट टाढा हुन सकिन्न । जसले यी सब पार गर्दै जान्छ, त्यसले नै जिन्दगीको असली मज्जा लिएको हुन्छ । जिन्दगीको सुरुवाती समयमा दु:खसुखसँग पौंठेजोरी खेल्नुभएन भने बुढेसकालमा के सम्झेर दिन काट्नुहुन्छ ?

विदेश गएपछि सपना त बुन्नुस्, सपनाले नै जीवनमा ऊर्जा दिन्छ । तर, पूरा गर्नै नसकिने सपना नबुन्नुस्, जसले तपाईंलाई मृत्युसम्म पुर्‍याओस् ! आफूलाई प्राय: व्यस्त राख्नुस् । यसको मतलब जतिबेला नि काम गर्नुस् भनेको होइन । कामको समयपछि बाँकी रहेको समयलाई सदुपयोग गर्नुस् । खाना खाने, सुत्ने, मनोरञ्जन लिने, परिवारसँग कुरा गर्ने जस्ता कुराको नियमित तालिका बनाउनुस् ।

सकेसम्म खाली समयमा एक्लै नबस्नुस् । साथीभाइसँग अथवा के कुरामा तपाईं रमाउनुहुन्छ, त्यसमा समय दिनुस् । जस्तै टिभीमा आउने कार्यक्रम हेर्ने, स्विमिङ गर्ने, फिटनेस सेन्टर जाने, साथीभाइसँग खेल्ने, सामाजिक कामहरुमा सरिक हुने । त्यसरी व्यस्त भइरहेपछि तपाईंको दिमागमा नकारात्मक कुराले डेरा जमाउँदैन । दु:ख भयो भनेर चिन्ता नलिनुस् किनकि तपाईंभन्दा पनि धेरै दु:ख पाएका व्यक्ति खोज्न टाढा जानु पर्दैन । आफ्नै समाजमा भएका व्यक्तिहरुलाई एकचोटि सम्झिनुस् ।

आफ्नो सुख-दु:ख मिल्ने साथी वा आफ्नो परिवारसँग बाँड्नुस् । मृत्यु त निश्चित नै छ, कोही अघि त कोही पछि मात्र हो । तर, के कुरा पक्का हो भने अघि जानेले भन्दा पछि जानेले धेरै अनुभव बटुल्छ । जिन्दगी भनेको एउटा अनुभव हो । जुनसुकै काम गरे पनि काममा रमाउन सिक्नुस् ।

काम गर्दा आफू सुरक्षित छैन भन्ने लाग्छ भने छोड्नुस् काम । सम्भव भए काम परिवर्तन गर्नुस् । नभए फर्कनुस् आफ्नो देश । तपाईंसँग आफ्नो परिवार छ, समाज छ, देश छ । जिन्दगी त्यहाँ सुन्दर छ, जहाँ यी सब कुरा छ । शरीरमा एक मुठी सास भएपछि र आफन्तको साथ पाएपछि तपाईंले नयाँ संसार रच्न सक्नुहुन्छ । विदेश त क्षणिक हो, जसले केही अनुभव र पैसा देला । सबैथोक दिन सक्दैन ।

विदेश जानेहरुको परिवार र आफन्तलाई मेरो अनुरोध छ, विदेश भन्नेबितिक्कै पैसा टन्न कमाउँछन् भन्ने नसोच्नुस् । एउटा कुरा सत्य हो, कडा परिश्रम गर्नेले धेरथोर कमाउँछन् । तर, कुराकानी हुँदा सधैं पैसा कहिले पठाउने भनेर नसोध्नुस् । ऋण यति पुग्यो मात्र नभन्नुस् । अनि फलानोका छोराछोरीले त कमाएर यस्तो गरे, उस्तो गरे भनेर नसुनाउनुस् । अरुले कमाएको हिसाब र विवरण सुनाएर उसलाई झन् दबाब र तनाव नदिनुस् ।

बरु सोध्नुस्, उसको काम कस्तो छ ? खाना कसरी खाएको छ ? सुत्ने समय के-कति छ ! बसाइ सहज छ कि छैन ? सधैं आफ्नो रहर र चाहना मात्र सुनाएर उसलाई बोझ नथप्नुस् । उसका रहर अनि चाहनाको बारेमा पनि सोध्ने गर्नुस् । यसरी उसको दुःखसुखमा तपाईंले विचार गर्नुभयो भने यसले उसलाई निकै आडभरोसा मिल्नेछ । पक्कै पनि ऊ तपाईंहरुकै लागि विदेशिएको हो ।

पोर्चुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment