Comments Add Comment

केपी ओलीलाई भेटेपछि गगन थापाको निश्कर्षः देश दुर्घटनामा पर्न सक्छ, शक्ति सन्तुलन बदल्न तयार होऔं

'चुनाव गर्न गाह्रो छ, कांग्रेसले उपलब्धि संस्थागत गर्न सकेन'

Gagan_Thapa

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफलपछिको निश्कर्ष सुनाउँदै भनेका छन्- निर्वाचन गर्न सजिलो छैन, हामी दुर्घटनामा जान सक्छौं । शक्ति सन्तुलन बदलेर भए पनि चुनाव गर्नुपर्छ ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेका मन्त्री थापाले देशलाई दुर्घटनामा जान नदिनका लागि अहिलेको शक्ति सन्तुलन फेरेर भए पनि चुनाव गर्नुपर्ने बताए । थापाले यसको थप व्याख्या गरेनन् । तर, उनको संकेत सरकारको नेतृत्व हेरफेर गरेरै भए पनि एमालेलाई समेत एक ठाउँमा ल्याउनुपर्छ भन्ने देखिन्थ्यो ।

शुक्रबार तीनकुनेस्थित रोयल बेेङ्क्वेटमा आयोजित कृष्णप्रसाद सिटौला समूहको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापा पनि उपस्थित थिए । कार्यक्रममा छोटो मन्तव्य दिँदै थापाले एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफल गरेको जानकारी दिए ।

‘मैले केही दिनअगाडि पूर्वप्रधानमन्त्री केपी ओलीजीसँग बसेर लामो छलफल गर्दाखेरि उहाँको पनि ठूलो चिन्ता छ’ मन्त्री थापाले भने, ‘हामी वीचमा केही भिन्नता र तिक्तताहरु होलान् । यी सबै कुरालाई टेबलमा राखेर समाधान गर्न खोजिएन भने हामी दुर्घटनामा जान्छौं । निर्वाचन गर्न सजिलो छैन ।’

मन्त्री थापाले अहिलेको शक्ति सन्तुलनलाई समेत बदलेर भए पनि देशलाई दुर्घटनाबाट जोगाउनुपर्ने बताए । उनले भने- ‘योबेलामा दलको विषय, सरकारको विषयभन्दा पनि संविधानको कार्यान्वयनको विषयमा को सरकारमा छ र को सरकारमा छैन भन्ने कुरालाई बिर्सेर एक ठाउँमा उभिनुपर्छ । बरु अहिलेको यो शक्ति सन्तुलनलाई बदलेर भएर पनि एक ठाउँमा कसरी उभिने ? कठोर निर्णय गरेर भए पनि एक ठाउँमा उभिने हो । होइन भने, हेर्दाहेर्दै निर्वाचन गर्न सकेनौं भने देश ठूलो दुर्घटनामा जान्छ ।’

मन्त्री थापाले भने- ‘मैले अहिले ०६२/०६३ को आन्दोलनलाई सम्झिइरहेको छु । त्यो यात्रा अहिले पनि टुंगिएको छैन ।…. अहिले कांग्रेसले रियलाजेसन गर्ने बेला आएको छ । अब यो यात्रालाई निश्कर्षमा पुर्‍याउनुपर्छ ।’

नेपाली कांग्रेसले सकेन

मन्त्री थापाले आफ्नै पार्टी नेपाली कांग्रेसको आलोचना गर्दै कांग्रेसले आन्दोलनका उपलब्धिहरु कहिल्यै संस्थागत गर्न नसकेको बताए । उनले भने- ‘नेपाली कांग्रेसको सदस्य भएर मञ्चहरुमा हाम्रा नेताले पहिल्यैदेखि भन्ने गरेको सुन्दै आएको छु । ००७ सालको आन्दोलनको नेतृत्व हामीले गर्‍यौं, ०४६ सालको आज्न्दोलनको नेतृत्व हामीले गर्‍यौं, ०६२/०६३ को आन्दोलनको नेतृत्व पनि हामीले गर्‍यौं । हामी जहाँ पनि यो बोल्छौं । सबैले थपडी पनि बजाउयँछन् । तर, यतिचोटि आन्दोलनको नेतृत्व गर्ने कांग्रेसले आन्दोलनका उपलब्धि कहिल्यै पनि जोगाउन सकेन ।’

मन्त्री थापाले आगामी २०८४ सालमा पनि यस्तै भन्नुपर्ने अवस्था आउन सक्ने बताए । उनले भने- ‘अहिले पनि सम्हाल्न सकेनौं भने ०८० सालतिर गइसके पछाडि चौथोपटक आन्दोलनको नेतृत्व गर्ने ? ०८४ सालतिर गइसकेपछि हाम्रोजस्तो पार्टी कसैको पनि छैन, हेर्नोस् ००७ सालको आन्दोलनको नेतृत्व पनि हामीले नै गर्‍यौं, ०८० सालमा पनि गर्‍यौं भन्ने अवस्था आउन सक्छ ।’

सिटौलाले पत्रकारलाई भने- अब म तपाईहरुको कुरा सुन्छु

कांगेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नै निमन्त्रणामा पत्रकारहरुलाई तीनकुनेमा बोलाएका थिए । सिटौलाले आफ्ना कुरा सुनाउन भन्दा पनि पत्रकारका कुरा सुन्न आफूले बोलाएको बताए । पत्रकारमार्फत जनताका कुरा सुनेर त्यही अनुसारको विचार निर्माण गर्ने र आफू अगाडि बढ्ने सिटौलाले सुनाए ।

सिटौलाका साथमा उमाकान्त चौधरी, गगन थापालगायतका नेताहरु पत्रकारका सुझावहरु टिपोट गर्न बसेका थिए ।

पत्रकारका सुझावहरु लिइसकेपछि सिटौलाले यी विषयहरु पार्टीमा पनि राख्ने र गगन थापामार्फत सरकारसम्म पुर्‍याउने बचन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment