Comments Add Comment

गोविन्द केसीज्यू ! चरिकोट अस्पताल प्रकरणको वास्तबिकता यस्तो छ

खबरदार ! दोलखाको बदनाम नगरौं

समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै नवौ अनसन सुरु गरेका डा. गोविन्द केसीको एउटा टिप्पणीले आश्चर्यमा पारेको छ । अनशन स्थलबाटै उनले भनिदिए- चरिकोट अस्पतालमा भएको घटनामा नीजि अस्पतालको संलग्नता छ ।

डा. केसीको यो टिप्पणीलाई म धेरै उछाल्न चाहन्न, चरिकोट अस्पतालमा भएको घट्नाको इति बृतान्त नबुझि आएको डा. केसीको टिप्पणीले उनको स्तरलाई कसरी मापन गर्ने भन्ने संकट भने म जस्ता उनका हजारौं सर्मथकलाई परेको छ ।

Chiranjivi-Maskeyहाम्रो देशमा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको पहुँच र दादागिरी कुन हदसम्म छ भन्ने कुरा त भूकम्प पछि पुनर्निर्माणका लागि सरकारले एकमुष्ट २ लाख रुपैयाँ दिन चाहेको भएपनि दाताको दादागिरीकै कारण त्यो सम्भव नभएको दृष्टान्तबाटै प्रष्ट हुन्छ । त्यसको पछिल्लो परिणाम हो चरिकोट अस्पतालमा भएको ताण्डव, जसले ‘कहि नभएको जात्रा हाडिगाउँमा’ भने जस्तो ठूला-ठूला आन्दोलनमा समेत बन्द नगरिने स्वास्थ्य सेवा ठप्प पारेर जनताको स्वास्थ्यमा खेलवाड गर्ने हिम्मत जुटाइदियो नेपाल चिकित्सक संघलाई ।

अमेरीकी सहयोगमा सञ्चालित न्याय हेल्थ नेपाल नामक संस्थाले व्यवस्थापकीय जिम्मेवारी लिएको प्रस्तावित चरिकोट अस्पतालमा केहि दिन अघि बालकको मृत्यु भएको घटनाले विवाद उत्पन्न गरिदियो । सोहि क्रममा स्वास्थ्यकर्मीहरु माथि दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थालाई बन्द गर्ने जुनखालको घृणीत काम गरेको छ त्यसले समग्र स्वास्थ्यकर्मीहरुलाई कसरी बुझ्ने भन्ने संकट समेत थपिदिएको छ ।

प्रस्तावित चरिकोट अस्पतालमा उपचार नै नपाएर बालकको मृत्यु भएको घटना जति दुःखदायी छ सोहि विषयलाई लिएर स्वास्थ्यकर्मीहरुलाई सार्वजनिक रुपमा माफी माग्न लगाउने र त्यो दृष्यलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने काम पनि स्वास्थ्यकर्मीहरुको लागि निक्कै पीडादायी छ । तर घटनाले त्यस्तो अवस्था निम्ताउन को जिम्मेवार छन् त भन्ने विषयको मूल्यांकन नै नगरी अस्पतालको सम्पूर्ण सेवा बन्द गरी संविधानले प्रदान गरेको नागरिकको अधिकार हनन् गर्ने र सिंगो दोलखा र दोलखालीकै बदनाम गर्ने नेपाल चिकित्सक संघको दुर्नियत दण्डनीय बन्नुपर्छ ।

दोलखा सदरमुकाम चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउने पहलमा दोलखाका सांसदहरु, सबै दलका नेता, पूर्वस्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल लगायतले प्रयत्न गरिरहनु भएको थियो । भूकम्पपछि न्याय हेल्थ नेपाल नामको अमेरीकी सहयोगमा सञ्चालित संस्थाले स्वास्थ्य मन्त्रालयसँग २०७२ माघ ५ गते आफू अनुकुल सम्झौता गरी प्रस्तावित चरिकोट अस्पतालको रुपमा सञ्चालन गर्न व्यवस्थापकीय जिम्मेवारी लियो । सुरुका दिनमा दोलखाली जनता निःशुल्क रुपमा गुणस्तरीय सेवा पाउने कुरामा आशावादी थिए । तर जब अस्पतालले आफ्नो सेवा अगाडि बढायो विवाद सुरु भयो बिभिन्न कोणबाट ।

नागरिकको स्वास्थ्य अधिकारमा गम्भीर खेलवाड गर्ने अभियुक्तहरुलाई अन्तराष्ट्रिय फोरमहरुमा उभ्याउनु जरुरी भएको छ

अस्पतालमा कार्यरत सरकारी स्वास्थ्यकर्मीहरुलाई सरकारी लेटरप्याडको दुरुपयोग गर्दै कार्बाही गर्ने, विरामीलाई अनुहारमात्र हेरेर दुखाई कम हुने औषधि दिएर पठाउने, निःशुल्क सेवाको नाममा औषधि बाहिर मेडिकलमा किन्न लगाउने जस्ता गतिविधिहरु सुरु भए । यस्ता गुनासोको बारेमा जिल्लास्थित नागरिक समाज, पत्रकार, अधिकारकर्मीले पटक-पटक सुझाव दिँदा समेत त्यसको सुनवाई हुन सकेन ।

२०७३ असोज ७ गते उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा राखिएको एक बालकको उपचार नै नपाएर मृत्यु भएपछि न्याय हेल्थ नेपालको व्यवस्थापकीय कमजोरी थप उजागर भएको छ ।

बालकको मृत्यु हुनुमा आफूहरुको कमजोरी रहेको अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापकले स्वीकार गरिसकेका थिए । यस्तो अवस्थामा न्याय हेल्थ नेपालका व्यवस्थापकले स्वास्थ्यकर्मीहरुलाई भीडमा लगेर माफी माग्न लगाएर जुनखालको तमासा देखायो त्यसको बचाओट गर्ने र विगतमा भएको गल्ति कम्जोरी ढाकछोप गर्न नेपाल चिकित्सक संघलाई प्रयोग गर्दै थप ताण्डव देखाइरहेको छ । आफ्नो गल्ती ढाकछोप गर्न अस्पतालको सम्पूर्ण सेवा बन्द गर्ने र दोलखाली जनता तथा स्थानीय प्रशासनलाई आरोपीत गर्ने नेपाल चिकित्सक संघ, न्याय हेल्थ नेपाल लगाएतको गतिविधिले समस्या निम्ताउने काम गरेको छ ।

साथै सदरमुकाममा रहेको सरकारी अस्पतालको सम्पूर्ण सेवा तीन दिनदेखि ठप्प हुँदा समेत बेवास्ता गर्ने सरकारको निरिहता समेत निन्दनीय छ । नागरिकको स्वास्थ्य अधिकारमा गम्भीर खेलवाड गर्ने अभियुक्तहरुलाई अन्तराष्ट्रिय फोरमहरुमा उभ्याउनु जरुरी भएको छ ।

जोसुकैले सञ्चालन गरुन्, अस्पताल विना अवरोध चल्नुपर्छ । निस्वार्थ ढंगले सेवा दिने हरेक स्वास्थ्यकर्मीहरुलाई सुरक्षा दिने काम दोलखाली नागरिकले गर्नेछन्

चरिकोट अस्पतालमा भएको घटनाको छानविनका लागि सबै पक्षको सहमतिमा समिति बनेको छ । विगतमा न्याय हेल्थ नेपालले गरेका बिभिन्न गतिविधिविरुद्ध पनि कानुन कार्यान्वयन निकायमा उजुरी परिसकेको छ । साथै स्वास्थ्यकर्मीहरु माथि भएको दुर्व्यवहारको सम्बन्धमा मृतक बालकको परिवारले समेत दुःख व्यक्त गर्दै आफूहरुले स्वास्थ्यकर्मीलाई अपमानित नगरेको र त्यस्तो नियत समेत नरहेको बताइसकेका छन् । उनीहरुले छानविनलाई प्रभावित पार्न अहिले गरिएका सबैखाले गतिविधि रोक्न र निष्पक्ष छानविन गर्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । यस्तो अवस्थामा दोलखा र दोलखाली नागरिकलाई बदनाम गर्ने तथा स्थानीय प्रशासनलाई कमजोर बनाउने हरेक खेलको विरुद्ध नागरिक संघ संस्थाले डटेर मुकाविला गर्ने कुराको सबैले हेक्का राख्नै पर्छ । अन्यथा परिस्थित थप भयावह हुन सक्छ ।

भीडको भर हुँदैन, त्यस्तै भीडमा स्वास्थ्यकर्मीलाई उभ्याउने अस्पतालको व्यवस्थापक टिमले सहजै उन्मुक्ति पाउनु हुँदैन । गल्ती गर्ने गैरसरकारी संस्थाले चाहि उन्मुक्ति पाउने, आफ्नो नाबालक बच्चा गुमाएर पनि धैर्य नगुमाई छानविन समितिलाई स्वीकार गर्ने मृतक बालकको परिवारका सदस्यहरु चाहि दोषि हुने ? यो न्यायोचित कुरा हैन । दोलखाको नागरिक समाजको खबरदारी यहि हो की जोसुकैले सञ्चालन गरुन्, अस्पताल विना अवरोध चल्नुपर्छ । निस्वार्थ ढंगले सेवा दिने हरेक स्वास्थ्यकर्मीहरुलाई सुरक्षा दिने काम दोलखाली नागरिकले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment