साउदी अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कार्यरत नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको छ ।
प्रवासी नेपाली समन्वय समितिले आज यहाँ पत्रकार सम्मेलन गरी गत असारदेखि साउदीमा कार्यरत कामदार समस्या पर्ने क्रम उल्लेख्य रुपमा वृद्धि हुँदै गएको जानकारी दिएको छ ।
समितिमा असारपछि कामदार अलपत्र परेको ८४, तलब र काम फरक परेको ३४, तलब तथा अन्य सुविधा नपाएको १४, बाध्यकारी श्रममा लगाएको सात, राहदानी नवीकरणमा समस्या परेको दुई गुनासो सहितको निवेदन आएका छन् ।
समितिका अध्यक्ष कुलप्रसाद कार्कीले साउदीमा आर्थिक मन्दी यथावत् रहे यसले विकराल रुप लिन सक्ने भएकाले सरकारले बेलैमा त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने बताए । नेपाल सरकारले साउदी अरबमा करिब तीन लाख नेपाली रहेको बताए पनि त्यहाँ करिब पाँच लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।