Comments Add Comment

टेलिकमका डेढ करोड सेवाग्राहीलाई सन्तुष्ट बनाउँछु

कामिनी राजभण्डारी ज्यालादारी इन्जिनियरका रुपमा ०४२ सालमा नेपाल टेलिकम प्रवेश गरेकी हुन् । उनी करिब ३१ वर्षपछि प्रमुख पद प्रवन्ध निर्देशकमा पहिलो महिला हाकिमका रुपमा नियुक्त भएकी छिन् ।

राजभण्डारीले कोलम्बो प्लानअन्तर्गतको सरकारी छात्रावृत्तिमा भारतबाट इलेक्टि्रक र इलोक्ट्रोनिक्स इन्जिनियरिङ गरेकी छिन् । टेलिकमको जागिरमा प्रवेश गरेको एक वर्षमै स्थायी हुन पुगेकी राजभण्डारीले पुनः १५ वर्षपछि बैंककबाट एमबीए पूरा गरिन् ।

कामिनीले अप्ररेशन विभाग, योजना, परियोजना र तालिम केन्द्रका साथै शाखा कार्यालय प्रमुख भएर काम गरिसकेकी छिन् । उनले तारसहितको र वायरलेस प्रविधिको योजना प्रमुख भएर साढे पाँच वर्ष काम गरिन् ।

एक वर्ष अगाडिदेखि कामिनी टेलिकमको प्रमुख प्राविधिक अधिकृत थिइन् । अहिले सूचना तथा सञ्चारमन्त्री राम कार्कीको सिफारिसमा टेलिकमको नयाँ हाकिम बनेपछि राजभण्डारीका नयाँ योजना के-के छन् ? अब टेलिफोन, मोबाइल र इन्टरनेट सेवा प्रयोगकर्ताले के कस्ता सुविधा पाउलान् ? यसबारे अनलाइनखबरले राजभण्डारीसँग गरेको कुराकानीः

kamini rajbhandari (3)

देेशकै अग्रणी दूरसञ्चार सेवाप्रदायक कम्पनीको प्रमुख हुनुभएको छ । १३ जना प्रतिस्पर्धीहरु, त्यसमा पनि आफ्नै हाकिमलाई उछिनेर यो पदमा आइपुग्दा कस्तो महसुस भयो ?

धेरै नै खुुसी लागेको छ । नेपालकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीमा पहिलोपटक खुल्ला प्रतिस्पर्धामा प्रवन्ध निर्देशक छनोट भएकी छु । खुसी लागेको छ र उत्साहित पनि भइरहेकी छु ।

तपाईहरुवीच कसरी प्रतिस्पर्धा गराइयो ?

खुल्ला प्रतिस्पर्धाका लागि चारवटा विषयमा कार्यकारी दाबी गर्नेले आफ्नो कार्ययोजना पेश गरेका थियौं । जसमा संस्थानको अवस्था, कसरी यो हालतमा आइपुग्यो, कम्पनीभित्र रहेका समस्या, सबल पक्ष र चुनौतीलगायतका विषय रहेका थिए । हामी सबैले कम्पनी सुधारको कार्ययोजना पेश गरेका थियौं । यसमा तीन वर्षको कार्यकालमा के गरेर संस्थानलाई माथि लैजान सक्नुहुन्छ भने प्रश्नहरु थिए ।

मैले टेलिकमलाई माथि लैजान धेरै अवसर देखेकी छु । कमजोरी पनि छन्, यसलाई पनि देखेकी छु । नयाँ नयाँ प्रविधिसँगै अगाडि बढ्न सहज छ भन्दै मैले आफ्नो तर्फबाट अवसर र सवल पक्षहरु औंल्याएँ । यसमा हामीसँग रहेको प्राविधिक पक्ष र नन् प्राविधिक दुबै विषयलाई बढाउँदै संस्था सुधार गर्न सकिन्छ भन्ने नै मेरो प्रमुख प्रस्तुती थियो । प्रतिस्पर्धीसँग बजारमा उपस्थित हुने सक्ने गरी मैले पेश गरेको यही योजनाले मलाई यो ठाउँमा ल्याएको मैले सोचेकी छु ।

तपाई हाकिम भएर आइसकेपछि अब टेलिकमबाट ग्राहकहरुले कस्ता-कस्ता नयाँ सेवा प्रयोग गर्न पाउने अपेक्षा गर्न सकिएला ?

टेलिकमबाट अब ग्राहकहरुले आइपी टीभी, भ्वाइस भिडियो डिमाण्ड मोबाइल मनीजस्ता नयाँ-नयाँ सेवा प्रयोग गर्न पाउनेछन् । तर, मैले बोलेका यी सबै काम र योजना पूरा गर्न थुप्रै चुनौती छन् । सबैभन्दा पहिले त नेपाल सरकारले बनाउनुपर्ने ऐन कानुन नै हो । लोडसेडिङका कारण पावर ब्याक राखे पनि समस्या सिर्जना भइरहेको छ । योसँगै सडक विस्तारले गर्दा हाम्रो संरचना धेरै नै क्षति भएको छ । मेलम्ची खानेपानीको पाइप विस्तार र टेन्डर प्रक्रिया मुख्य चुनौती छ ।

फोरजी सेवा विस्तारको तयारी कस्तो छ ? कहिलेदेखि काठमाण्डौका उपभोक्ताले फोरजी इन्टरनेट सेवा प्रयोग गर्न पाउँछन् ?

हाम्रो तर्फबाट फोरजी विस्तारका लागि तयारी गरिरहेका छौं । फोरजी सेवा विस्तारका लागि प्राधिकरणले अनुमति दिएको दुई महिनाभित्र काठमाडौंका उपभोक्ता तथा देशका मुख्य-मुख्य शहरमा फोरजी सेवा विस्तार हुन्छ ।

तर, निजी सेवाप्रदायकलाई भन्दा हामीलाई सेवा विस्तारमा ऐन कानुनले केही समय लाग्न सक्छ । कुनै एउटा निर्णय गर्न पनि म एक्लैले गर्न मिल्दैन । करिब १० जनासँग सोध्नुपर्ने हुन्छ । त्यसपछि मात्रै प्रक्रिया सुरु हुने हुँदा समय लाग्नु स्वाभाविकै हो ।

चीनसँग इन्टरनेट ब्याण्डवीथ खरिद गर्ने प्रकृया कहाँ पुग्यो ? यसले गर्दा ब्याण्डवीथको मूल्य सस्तो पर्ने र त्यसले इन्टरनेटको मूल्यमा कमी आउने सम्भावना छ कि छैन ?

चीनसँग रसुवागढी हुँदै इन्टरनेट ब्याण्डवीथ खरिद प्रक्रिया मोटामोटी सम्पन्न भइसकेको छ । बाँकी रहेको प्रक्रिया तत्कालै सुरु हुन्छ । त्यसको मूल्य भने बजार मागको आधारमा निर्धारण हुन्छ । अहिले नै भन्न सक्ने अवस्था छैन ।

बुधबारमात्रै दूरसञ्चार प्राधिरकरणसँग करिब ५ अर्ब रुपैयाँमा २ वर्ष भित्र मध्यपहाडी लोकमार्गका ३२ जिल्लामा अप्टिकल फाइबर विस्तारका लागि सम्झौता गर्नुभएको छ । अब यो प्रक्रिया कहिलेबाट सुरु गर्नुहुन्छ । यसका कस्ता चुनौती छन् ?

टेलिकमले बुधबार मात्रै दूरसञ्चार प्राधिकरणसँग प्रदेश नम्बर १, २ र ३ को मध्यपहाडी लोकमार्गका ३२ जिल्लामा अप्टिकल फाइबर विस्तार गर्ने गरी सम्झौता गरेको छ । यो नै सबैभन्दा ठूलो योजना हो । यसका लागि अबको ६ महिनामा सबै काम सुरु हुने गरी काम अगाडि बढ्छ ।

अब यसको अध्ययन सुरु गर्दै टेन्डर आह्वान हुन्छ । दुई वर्षका लागि भनेर सम्झौता भए पनि कुनै पनि असहज परिस्थिति सिर्जना नभएको अवस्थामा तोकिएको समयमा भन्दा पहिले नै काम सम्पन्न गर्ने लक्ष्य टेलिकमले राखेको छ । तर, राजमार्गका कतिपय स्थानमा पीच हुन बाँकी रहेको र कतिपय स्थानमा त ट्रर्‍याक पनि खुल्न सकेको छैन । त्यसैले यो काम अति नै चुनौतीपूर्ण छ ।

यसमा एडीडीएस मार्फत भूमिगत फाइवर विस्तार गर्ने हो । सँगै अन्डरग्राउन्ड गर्न नमिल्ने अवस्थामा विद्युत प्राधिकरणसँग सहकार्य गरेर पोलमार्फत अप्टिकल फाइवर विस्तार गरेर जिल्ला सदरमुकाम, विकासका क्रममा रहेका शहरहरु, अस्पताल र स्कुलमासमेत सेवा विस्तार गर्ने योजना छ ।

टेलिकममा कर्मचारी कटौतीका लागि स्वेच्छिक अवकाश योजना तपाईको कार्यकालमा पनि निरन्तर रहन्छ कि यसमा पूर्णविराम लाग्छ ?

स्वेच्छिक अवकाश दिँदै कर्मचारी कटौती गर्ने योजना तीन चरणमा थियो । अहिलेसम्म दुई चरण कर्मचारीहरु कटौती भइसकेका छन् । अब तेस्रो चरणको काम अध्ययनको चरणमा छ । दुई चरणमा ८ सय ६ जना कटौती भइसकेका छन् । तेस्रो चरणका लागि भने फाइनल भइसकेको छैन ।

टेलिकमले लगानी विविधिकरण पनि गरिरहेको देखिन्छ । अहिले कुन-कुन जलविद्युतमा लगानी गरिरहेको छ र अब के-केमा लगानी गर्ने तयारी छ ?

त्रिशुली बी र अपर तामाकोशीमा टेलिकमको लगानी छ । अब अन्य परियोजनामा थप गर्ने लक्ष्य छ । यसबारे अध्ययन भइरहेको छ । लगानीको विषय निर्णय भइसकेको छैन ।

नेपाल टेलिकमको पहिलो महिला प्रमुखका रुपमा तपाईंले एउटा इतिहास त बनाइहाल्नुभयो, अब उपभोक्ता, कर्मचारी र समग्र मुलुकले नै सम्झिन सक्नेगरी टेलिकममा कस्ता काम गर्ने योजनामा हुनुहुन्छ ?

म महिला भएरै यो ठाँउमा आइपुगेको जस्तो मलाई लाग्दैन । म त खुल्ला प्रतिस्पर्धाबाट टेलिकम सुधार गर्न सक्ने क्षमता देखैकै कारण यो ठाउँमा आइपुगेकी हुँ ।

मेरो पहिलो योजना भनेको १ करोड ५० लाख ग्राहकलाई उपलब्ध गराइरहेको सेवालाई गुणस्तरीय बनाउनु हो । यसका लागि हामीले अप्टिमाइजेशनको प्रक्रिया सुरु गरिसकेको छौं । टेलिकमसँग पुराना र नयाँ दुबैखालका प्रविधि छन् । यसलाई सँगसँगै प्रयोग गरिरहेका छौं । जहाँ ग्राहकको बढी माग आउँछ, त्यही ठाउँबाट समस्या समाधान गर्दै सेवा विस्तारमा फोकस हुने मेरो योजना छ ।

उदाहरणका लागि जुन लोकेशनबाट डाटा प्रयोगकर्ताको चाप बढी हुन्छ र माग बढी आउँछ, त्यो ठाउँमा नयाँ प्रविधिका समान जडान गर्न थालिसकेका छौं । यसलाई तिब्रताका साथ अगाडि बढाउने हो ।

ट्रान्समिसनको बाटो साँघुरो छ, त्यसलाई पनि ग्राहकको चाप हेरेर फराकिलो बनाउँदै लैजाने काम सुरु भइसकेको छ । अहिले हामी अप्टिमाइजेशनको चरणमा छौं ।

पावरको सम्बन्धमा कुरा गर्दा पावरकै कारण कुनै ठाँउमा सिस्टम अफ भई ग्राहक समस्यामा आउन नदिने गरी काम भइरहेको छ । यदाकदा यस्तो अवस्था आयो भने तत्काल २४ घण्टाभित्रै पावर सिस्टममा समस्या नहुने गरी काम गर्ने व्यवस्थापन गरिसकेकी छु । यसका लागि मैले हाम्रा कर्मचारीलाई पूर्णरुपमा हामीसँग रहेको उपकरणलाई समेत अफ नहुने गरी सिस्टमलाई अन राख्न र त्यसले दिनपर्ने गुणस्तरमा समेत कमी आउन नदिन मनिटर गर्ने व्यवस्था गरेकी छु र निर्देशनसमेत भएको छ ।

टेलिकम यो ठाउँमा आइपुग्नुको प्रमुख कारण डेढ करोडभन्दा बढी ग्राहक हुनु नै ठूलो र सवल पक्ष हो । टेलिकमले उपलब्ध गराइरहेको सेवाहरुलाई जसोतसो थप गर्दै गुणस्तरीय बनाउँदै ग्राहकलाई खुसी बनाउनु मेरो प्राथमिकता हो । समस्याहरु त कहिलेकाँही आइरहन्छन् । यो सेवाप्रदायक सबैमा आउने समस्या हो । तर, हामीले ग्राहकलाई जेजति सेवा र सुविधा दिएका छौं, त्यसमा उनीहरु खुसी नै छन् र हामीप्रति विश्वास छ भने मैले बुझेकी छु ।

kamini rajbhandari (5)

तपाईले यसअघि पनि टेलिकमको उच्च तहमै रहेर काम गर्नुभएको छ । प्रवन्ध निर्देशकका रुपमा चाहिँ तपाईका संस्थागत प्राथमिकताहरु अघिल्ला प्रवन्ध निर्देशकभन्दा फरक हुन्छन् कि पुरानैलाई निरन्तरता दिनुहुन्छ ?
पहिलेभन्दा मेरा योजना फरक हुन्छन् । पहिला म कम्पनीमा प्रमुख प्राविधिक अधिकृत थिएँ । हाम्रो कम्पनीभित्र योजना, आयोजना, परियोजना र मर्मतसम्भारको मैले नै रणनीति तय गर्ने गरेकी थिएँ । हामीकहाँ अलग्गै बिजनेश युनिटहरु छन् । वायरलेस युनिट, ल्याण्डलाइन युनिटलगायत छन् । यस्ता युनिटमा बेग्लै निर्देशकहरु छन् । उनीहरुले नै यसको अपरेशन तथा प्लानिङ गर्ने प्रक्रिया छ । यो ठाउँमा आइपुगेपछि मैले आफ्ना प्रतिस्पर्धीसँग सेवा विस्तार तथा गुणस्तरीय सेवाका लागि चुनौतीका रुपमा लिएकी छु ।

आर्थिक वर्ष ०७३/७४ मा कम्पनीले गर्ने योजना अनुसार परियोजना समेत पास भएर आइसकेको छ । केही जिल्लामा विस्तार गर्न बाँकी रहेको थ्रीजी र टुजी विस्तारमा थप गर्नर्े र बाँकी रहेको काम पूरा गर्ने । तर, नयाँ-नयाँ योजना आउँदै गर्दा काम सम्पन्न गर्न भने केही समय लाग्छ ।

अरु योजनाहरु के-कस्ता छन् ?

टेलिकमका विभिन्न सेवा लिने ग्राहकको संख्या यो वर्षभित्र १ करोड ७६ लाख पुर्‍याउने लक्ष्य छ । ग्राहक बढ्दै गर्दा सेवा र गुणस्तरमा म कुनै कमी आउन दिन्न । तपाईहरु ढुक्क र विश्वासका साथ सेवा लिन पाउनुहुन्छ ।

टेलिकमबाट सेवा लिनेहरुको वाषिर्क वृद्धिदर अहिले ३.३२ प्रतिशत छ, यसलाई केही थप गर्ने हो । यस्तै गरी फाइवर टु होम सर्भिस विस्तार गर्दै ग्राहकलाई उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने छौं ।

अहिले १० वटा सीटीमा रहेको फाइबर टु होम सर्भिसलाई थप गर्दै लैजाने मेरो लक्ष्य छ । योसँगै अहिले टेलिकमले ग्राहकलाई लामो दुरीबाट ट्रान्सफर गर्दै आएको सेवालाई पनि मिनिमाइजेशन गर्ने काम भइरहेको छ ।

टेलिकमले सकेजति ठाउँमा फाइवर टु होमबाटै गर्ने र नसकेको अवस्था ६ किलोमिरको दुरीमा रहेको कपरको सिस्टम मार्फत वितरण भइरहेको डाटा सेवालाई एक किलोमिटरमा झार्ने तयारी भइसकेको छ । योसँगै वाइफाइ र वाइम्याक्सलाई विस्तार गर्ने, थ्रीजी विस्तार गर्ने र कम्तिमा पनि देशका सबै ठाउँमा यो सेवा उपलब्ध गराउने मेरो लक्ष्य छ ।

यहाँलाई पनि पक्कै पनि थाहा छ कि नेपाल टेलिकमलाई शुल्कका लागि हैन, गुणस्तरका कारण उपभोक्ताले गुनासो गरिरहेका हुन्छन् । तपाईहरुको सेवामा सुधारको गति अलि सुस्त भएन र ?

गुनासो सुन्न र सुधारका लागि एकद्धार प्रणाली अनुसार कस्टमर केयर सेन्टर सञ्चालन गर्छाैं । आउने दिनमा गुणस्तर सुधारका लागि नयाँ नयाँ उपकरण थप गर्दै जाने हो । योसँगै ग्राहकको समस्या कम गर्दै लैजान ताररहित जीसस्एम, सीडीएमए र वाइम्याक्सलाई विस्तार गर्ने हो । जीएसएमको हकमा थ्रीजी विस्तार र सीडीएमएको हकमा पुरानै योजना अगाडि बढाउने तयारी छ ।

हामीसँग रहेको सेवा पुर्‍याउन नसकेको गाउँघर, अस्पताल र स्कुलहरुमा भने वाइम्याक्सलाई नै विस्तार गररे गुणस्तरीय सेवा प्रदान गर्दै समस्या समाधान गर्छौं । अहिले वाइम्याक्स ७४ जिल्लामा विस्तार भइसकेको छ । हुम्लामा पनि यसै आर्थिक वर्ष विस्तार गरेर सेवा प्रदान हुन्छ ।

टेलिफोन कम्पनीहरु अब आवाज हैन, इन्टरनेटको ब्यापारतिर केन्द्रित छन् । नेपाल टेलिकमले पनि निश्चित वर्षपछि आवाज निःशुल्क गर्ने र डाटामा केन्द्रीत हुने भनेको थियो झण्डै दुई वर्ष पहिले । आगामी दुई वर्षमा टेलिकमको डाटा बिजनेस हिस्सा बढ्ने सम्भावना देख्नुहुन्छ ? यसका लागि कस्तो योजना बनाइरहनुभएको छ ?

अवश्य पनि । नेपाल टेलिकमले आगामी दुई वर्षभित्र डाटा बिजनेसलाई बढाउन सफल हुने विश्वास गरेकी छु । बजार प्रतिस्पर्धी भएकै कारण यति नै बढ्छ भनेर अहिले नै भन्न मिल्ने अवस्था छैन । हाम्रो विशेष ध्यान डाटामा नै छ । हाम्रो नेटवर्क पनि त्यहीअनुरुप विस्तार भइरहेको छ ।

टेलिकमले सुरु गरेका धेरै परियोजनामा दुरदर्शिता र निपूर्णता नभएको जस्तो देखिन्छ । जस्तो वाइम्याक्सको विस्तार रोकिनु, सामाजिक सञ्जाल मिट पहिलो झट्कामै फ्लप खानु जस्ता असफलताको समीक्षा गर्नुभएको छ ?

परियोजनामा दुरदर्शिता र निपूर्णता नभएको जस्तो मलाई त लाग्दैन । वाइम्याक्स विस्तार रोकिएको छैन । असफल पनि भएको जस्तो लाग्दैन । गाउँगाउँमा विस्तार भइरहेको छ । अझै यसलाई गुणस्तरीय बनाउँदै विस्तार गरिनेछ । सामाजिक सञ्जाल मिटमा टेलिकमले खर्च पनि गरेको छ । हामी फ्लप भइसकेको अवस्था होइन । यसलाई हामीले हाम्रा ग्राहक माझ प्रचार गर्न भने नसकेकै हो । अब यसको विस्तार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment