Comments Add Comment

माधव घिमिरे: जसले कुवेरसिंहसँगै प्रहरी निरीक्षक पास गरेका थिए

Madhav-Ghimire-antyosti

१४ असोज, काठमाडौं । त्रिशुलीमा जीप दुर्घटनामा परी हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको परिवारजनले सदगति गरेपछि अब उनी हामीवीच नरहेको निश्चित भएको छ । घिमिरे कुशल प्रशासकभन्दा बढी सफल शासकका रुपमा स्थापित भए पछिल्लो कालखण्डमा । यसको कारण थियो- खिलराज रेग्मी नेतृत्वको सरकारमा उनले गृहमन्त्रीका रुपमा सफलतापूर्वक दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउनु ।

खिलराज रेग्मीले प्रधानन्यायाधीस भइरहेका बेला मन्त्रिपरिषदको अध्यक्षता गर्नुपर्ने भएपछि तत्कालीन प्रमुख दलका शीर्ष नेताहरुसँग शर्त राखेरै माधव घिमिरेलाई गृह र परराष्ट्र मन्त्री बनाएको नेताहरु बताउँछन् ।

नदीका दुई किनाराजस्ता भएका दलहरु र संविधानसभा चुनाव बहिस्कार गर्ने मोहन वैद्यसहितका ३३ दलको मोर्चालाई सन्तुलनमा राखेर दोस्रो संविधानसभा चुनाव कसैले नसोचेको ढंगले शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने मुख्य पात्र थिए तत्कालीन गृहमन्त्री घिमिरे ।

रेग्मीले त्यसबेला चुनाव पक्षधर र बिरोधी सबै दलहरुसँग संवादमा रहने र नेताहरुलाई चुनावमा इंगेज गर्ने काममा तीनजना मन्त्रीलाई विशेष रुपमा खटाएका थिए । माधव घिमिरे, माधव पौडेल र विद्याधर मल्लिक ।

गृह तथा परराष्ट्रमन्त्रीका रुपमा घिमिरेले छिमेकी मुलुकलाई र अन्तर्राष्ट्रिय समुदायलाई पनि चुनाव सफल बनाउन हदैसम्म इंगेज गराए । प्रधानन्यायाधीसलाई कार्यकारी प्रमुख बनाएको भनेर देशभित्र र बाहिर उठेका आवाजलाई मत्थर पार्ने भूमिकामा समेत घिमिरे धेरै हदसम्म सफल भएका थिए ।

चुनावमा सत्ता र शक्ति कुनै एक दलको पक्षमा प्रयोग हुन नदिन घिमिरेको तटस्थ छविले धेरै काम गरेको सबैले स्वीकार गर्ने गरेका छन् ।

निजामति कर्मचारीका रुपमा करीव २६ वर्ष काम गर्दा घिमिरेले राजनीतिक रुपमा आफूलाई तटस्थ राख्न हरसम्भव प्रयास गरेका थिए ।

मुख्यसचिव बन्ने बेलामा ०६६ सालमा घिमिरेसँग अन्य दुई प्रतिस्पर्धी थिए । कांग्रेसको समर्थनमा प्रधानमन्त्री थिए, माधवकुमार नेपाल । तत्कालीन सचिवहरुमध्ये माधव घिमिरे, उमेश मैनाली र जनकराज जोशी मुख्यसचिवका दाबेदार थिए ।

madhav-ghimireघिमिरेले स्वाभाविक रुपमा मुख्य सचिवको जिम्मेवारी पाए । प्रतिस्पर्धी मध्येका मैनाली हाल लोकसेवा आयोगको अध्यक्ष छन् भने जोशी माओवादी केन्द्रबाट मनोनित सांसद छन् ।

मुख्य सचिवबाट अवकाश पाएको एक वर्ष नपुग्दै घिमिरेले नसोचेको जिम्मेवारी पाएका थिए गृह र परराष्ट्रमन्त्रीका रुपमा । उनलाई सफलतापूर्वक चुनाव सम्पन्न गरेको पुरस्कार स्वरुप भारतका लागि राजदूत बनाउने चर्चा पनि चलेको थियो । तर, दलको कोटामा पर्न नचाहेकाले राजदूत नबनेको उनी निकटस्थहरु बताउँछन् ।

पाल्पाको बन्दीपोखरामा ६२ वर्षअघि जन्मिएका घिमिरे ०४३ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । उनले हालका नेपाल प्रहरीका पूर्व महानिरिक्षककुवेरसिंह रानासँगै प्रहरी निरीक्षक पदमा पनि नाम निकालेका थिए ।

निजामति र प्रहरी सेवामध्ये घिमिरेले निजामति सेवा रोजे । कालान्तरमा एउटै ब्याजीमध्येका घिमिरे निजामति सेवाको सर्वोच्च पद मुख्यसचिव हुँदै प्रहरी संगठनको राजनीतिक कमाण्डर गृहमन्त्री पनि बने ।

घिमिरे खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव बनेका थिए । सहसचिवका रुपमा उनले लामो समय अर्थमन्त्रालयमा काम गरेका थिए । ०६१ भदौमा घिमिरे सचिवमा बढुवा भएका थिए ।

नेपाल सरकारको सचिवका रुपमा उनले चार वर्ष काम गर्दा शुरुमा सामान्य प्रशासन मन्त्रालय सम्हाले । त्यसपछि उनी केही समय पर्यटन र शान्ति मन्त्रालयको सचिव बनेका थिए ।

पछिल्लो समय उनी विभिन्न परियोजनाहरुमा परामर्शदाताका रुपमा काम गरिरहेका थिए । उनका छोरा अष्ट्रेलियामा थिए ।

एउटा छोराको कर्तव्य भनेको जन्म दिने आमाको सेवा गर्नु । घिमिरे पनि कर्तव्यनिष्ठ छोराको भूमिका निर्वाह गर्ने क्रममा ८० वषर्ीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर मुस्ताङबाट फर्किदै थिए ।

जीवनको उत्तरार्धमा मुक्तिनाथको दर्शन गर्ने आमाको इच्छा त उनले पूरा गराए । तर, मुक्तिनाथको प्रसाद घरमा आएर बाँड्न नपाउँदै कहिल्यै नफर्किने गरी आमाछोरा नै त्रिशुलीमा विलीन भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment