Comments Add Comment

कपिलवस्तुमा पशुचौपायाको चोरी बढ्यो

रातारात भारत पुर्‍याएको स्थानीयको भनाइ

१५ असोज, कपिलवस्तु । कपिलवस्तुमा पशुचौपाया चोरीका घटनामा बृद्धि भएको छ । रातको समयमा पशुचौपाय चोरीमा गिरोहनै सक्रिय बनेका छन् । धनमाल चोरी गर्ने चोरले अहिले पशुचौपाय चोरी गरेका हुन् ।

buffaloभारतबाट झण्डै आधा दर्जन चोरहरुको गिरोह यतिबेला गाउँ गाउँमा विभिन्न बहानामा प्रवेश गरेको स्थानीय बताउँछन् । चोरी गरेका पशुचौपाया रातारात भारतको सीमा कटाउने गरेको स्थानीयको भनाइ छ ।

यसैक्रममा कपिलवस्तुको विभिन्न तीन स्थानबाट गएरातति एकैसाथ ६ ओटा राँगा भैसी चोरी भएका छन् । जिल्लाको भिल्मी गाविस वडा नं. ९, डेरवाका पुजारी यादवका दुई ओटा राँगा चोरी भएका छन् । चोरले रातको मौका छोपी गोठमा बाँधिएका राँगा फुकाएर लगेको पीडित पुजारीले बताए ।

पुरुषोत्तमपुर १ पुरुषोत्तमपुर गाउँका किसान बिजुली बरईलाई पनि उस्तै चिन्ताले छोएको छ । उनकोे पनि एक लाख बढी पर्ने दुई ओटा राँगा राति नै चोरी भए । उनले  पनि दिनभर चारैतिर खोजेँ तर नभेटिएको बताए । “पशु हाटबजारमा उचित मूल्य नपाएपछि घर फर्काएर ल्याएँ । राम्रो मूल्य पाए विक्री गर्ने भनी दुई वर्षदेखि पालेर हुर्काएको राँगा अहिले चोरले चोर्‍यो” उनको गुनासो छ ।

आर्थिक अवस्था दयनीय रहेको बरई अहिले एक लाख बढी रकम गुमेपछि निकै चिन्तामा परेका छन् । यसैगरी विहीबारकै मध्यरात बहादुरगञ्जको बिजयनगरका एक किसानका समेत दुईओटा राँगा चोरी भएको स्थानीयले बताएका छन् ।

यसरी लाखौं रुपैयाँ पर्ने पशुचौपाया चोरी निकासीमा यतिबेला गिरोह सक्रिय बनेपछि स्थानीय त्रसित बनेका छन् । अहिले उनीहरु राति जाग्राम समेत बस्न थालेका छन् । चोरको विगविगीसँगै प्रहरीले सुरक्षा व्यवस्थामा कडाई बनाउन स्थानीयको माग छ ।

यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले चाडपर्वको मौका छोपी जिल्लामा हुने विभिन्न किसिमका अपराधिक घटना, चोरी, डकैतीमा कमी ल्याउन सुरक्षा व्यवस्था कडा बनाएको जानकारी दिए । रात्रिगस्तीमा समेत तिब्रता दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment