Comments Add Comment

दशैंमा काठमाडौं छाड्ने ७ लाख यात्रुलाई सीट छैन

निजी विद्यालयका बस सञ्चालन गर्ने तयारी

Public Bus at Kathmandu (9)१५ असोज, काठमाडौं । दशैंमा काठमाडौंबाट बाहिरिनका लागि झण्डै ६ देखि ७ लाख यात्रुले सवारी चढ्दा सीट नपाउने स्थिति बनेपछि सरकारले त्यसको विकल्प खोज्ने भएको छ ।

अहिले भएका सार्वजनिक सवारीले सहज रुपमा सबै यात्रु बोक्न नसक्ने देखिएपछि सरकारले निजी विद्यालयका सवारीलाई पनि चलाउने तयारी गरेको हो ।

यातायात व्यवस्था विभागले सार्वजनिक भाडाका सवारीले सबै यात्रुलाई राजधानीबाट घर लैजान नसक्ने निश्कर्ष निकाल्दै प्याबसन र एनप्याबसन अन्तरगतका निजी विद्यालयका सवारीलाई पनि दशैंमा सञ्चालन गर्ने प्रस्ताव तयार गरेको हो ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले झण्डै ६/७ लाख यात्रुले दशैंमा घर जाने टिकट नपाएपछि यो प्रस्ताव अघि सारिएको बताए । यसविषयमा आइतबार निजी विद्यालय सञ्चालकसहित सर्वपक्षीय छलफल गरेर निर्णयमा पुगिने उनले बताए ।

विद्यालयका गाडीलाई यात्रु ओसार्न दिँदा झण्डै ३ देखि ४ लाख यत्राुले सहजै काठमाडौं छोड्न सक्ने देखिएको छ । निजी विद्यालय सञ्चालनहरुले झण्डै ५/७ सय बसहरु राजधानी बाहिर पठाए टिकट नपाए दशैंमा घर जाने योजना स्थगित गरेकाहरुलाई सहज हुनेछ ।

सात लाख यात्रुलाई सीट छैन

यातायात व्यवसायीले दशैंमा अधिकतम् दैनिक ५देखि ६ हजार गाडीले काठममाडौंबाट यात्रु ओसार्न सक्ने बताएका छन् । यसअनुसार ७ दिनसम्म यात्रु बोक्दा झण्डै १० लाख  ८० हजारले मात्रै सीट पाउने दाबी उनीहरुको छ । त्यसैअनुसार टिकट बुकिङ गरिएको व्यवसायीको दाबी छ ।

दशैंमा झण्डै २० लाख भन्दा बढी यात्रुले काठमाडौं छाड्छन् । ३ लाख यात्रुले भने निजी सवारी नै प्रयोग गर्छन् । त्यसअनुरुप झण्डै ७ लाख यात्रुलाई घर जानका लागि टिकट नमिल्ने अनुमान छ ।

व्यवसायीले सीटबाहेक मुडा, क्याबिन लगायत ‘वान थर्ड प्लेस’मा राखेर यात्रु लगे पनि अधिकतम ३ लाख यात्रु लैजान सकिने बताएका छन् । तर, सरकारले पछिल्लो समयमा लामा दुरीका सवारीमा सीट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीलाई कडाइ गरेको छ ।

व्यवसायीहरुले कडाइ हटाएर वा अन्य गाडी थपेर यात्रु ओसार्नुपर्ने बताएका छन् । सीधा रुपमा सीट क्षमताभन्दा बढी यात्रु राखेर लैजान अनुमति दिन नसकेपछि सरकारले निजी विद्यालयका बसहरु पनि सञ्चालन गर्ने विकल्प अघि सारेको हो ।

निजी विद्यालयका बसलाई सञ्चालन गर्दा घाटा नलाग्ने गरी भाडा लिन पाउने गरी दशैंभरि सञ्चालन अनुमति दिने योजना छ ।

दशैंका लागि अधिकांश विद्यालयहरुले आजैदेखि बिदा दिएका छन् । त्यसैकारण दशैंभरि थन्किएर बस्ने बसलाई चलाएर यात्रुलाई राहत दिने योजना बनाइएको महानिर्देशक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment