Comments Add Comment

छवि-शिल्पाको बिहेको चर्चाले मेरो क्रियशनलाई असर पार्दैनः ऋषि लामिछाने

rishi lamichane

नेपाली चलचित्र क्षेत्रमा ऋषि लामिछाने नयाँ नाम होइन । डेढ बर्ष अगाडि उनी निर्देशित चलचित्र ‘हवल्दार सुन्तली’ले राम्रो व्यापार गर्‍यो । उनै ऋषि फेरि पनि निर्माता छविराज ओझाको ब्यानरमा बनेको चलचित्र ‘किस्मत २’ मार्फत दर्शकमाँझ आउँदैछन् । यसैको सेरोफेरोमा रहेर अनलाइनखबरसँग उनले कुराकानी गरेका छन्ः

१. जब तपाई छविराज ओझाको चलचित्र गर्नुहुन्छ, उनको नामको अगाडि किन कमजोर बन्नुहुन्छ ?
त्यसो भनिहाल्न पनि मिल्दैन । छविराज प्रोडक्शन स्टाइलिस्ट प्रोडक्शन हाउस हो । मिडियामा छविराज कै ब्रान्ड चल्छ । यसैले म मात्र होइन, धेरै निर्देशक छायाँमा पर्न सक्छन् ।

२. एउटा चर्चित ब्यानर र चलेका कलाकारसँग काम गर्दा निर्देशकलाई हुने फाइदा र घाटा के हुन् ?
फाइदा भन्दा पनि निर्देशकलाई घाटा बढी हुन्छ । निर्देशकले आफ्नो श्रृजनालाई कसरी अभिव्यक्त गर्छ भन्ने पनि हो । स्टार कलाकार भएनन् भने लामो समयसम्म छलफल गर्न पाइन्छ । स्टारहरुले त समय नै दिदैनन् । तर, नेपालमा सबैले स्टार कलाकार नै खोज्छन् ।

३. ‘किस्मत २’मा शिल्पा पोख्रेल हुनुहुन्छ, किशोर खतिवडा पनि हुनुहुन्छ । काम गर्न कत्ती सजिलो भयो ?
यो चलचित्रमा नयाँ कलाकार पृथ्वीराज प्रसाँई पनि छन् । शिल्पा र किशोरसँग यस अगाडि मैले काम पनि गरिसकेको छु । यसैले त्यस्तो गाह्रो भएन ।

४. अहिले चलचित्र क्षेत्रमा कलाकार कसरी आइरहेका छन् ?
धेरै त आफ्नै खुबीका कारण पनि आएका छन् । केही नायकले पैसा लगानी गरेर आएको त हामीले पनि सुनेका छौ । तर, अहिले केही नायिका पैसा खर्च गरेर, निर्माता-निर्देशकसँग सम्बन्ध गाँसेर पनि आएका छन् । निर्देशक र निर्मातालाई प्रयोग गर्नेको संख्या बढिरहेको छ । तर, यस्ता नायिका लामो समयसम्म चलेका उदाहरण छैनन् ।

५. उसो भए, शिल्पा र छविको निकटता केका लागि हो ? यो पनि एक अर्कालाई प्रयोग त होइन ?
शिल्पा चलचित्र क्षेत्रमा आउनु भन्दा अगाडि म्यूजिक भिडियोमा चर्चित बनेकी मोडल हुन् । भिडियोमा चर्चित बनेपछि नै छविराज ओझाले उनलाई चलचित्रमा अफर गरेका हुन् । ‘लज्जा’ चल्दा छवि र शिल्पाले बिहेलाई प्रचारका लागि प्रयोग गरेकै हुन् । तर, यसपटक त्यस्तो होइन जस्तो मलाई लाग्छ ।

६. तर, किन चलचित्र चल्ने बेलामा बिहेको मात्र कुरा आइरहेको छ ?
होइन, बिहेको कुरा पत्रकारका कारण आइरहेको छ । हामीले त चलचित्रको बिषयमा पनि धेरै कुरा गरेका हुन्छौ । तर, पत्रकारले बिहेको समाचारलाई नै हाइलाइट गरिदिनुहुन्छ । मलाई बिहेको कुराले चलचित्रलाई प्लस वा माइनस हुन्छ जस्तो लाग्दैन । तर, बिहेको कुराले नै चलचित्रलाई ह्याम्पर भने हुँदैन ।

७. तपाई केका लागि चलचित्र गरिरहनु भएको छ ? जुन खालको चर्चा पाउनु पर्ने हो त्यो तपाइको छैन त ?
चलचित्र गरेर थोरै नाम भयो होला, कही कतै नराम्रो पनि भयो होला । मैले अहिले जीजीवीसाका लागि चलचित्रमा काम गरिरहेको छु । मेरो निरन्तरताका लागि मात्र मैले चलचित्र गरिरहेको छु । यत्ती मात्रले म वाँच्दिन । मैले सपना पुरा गर्ने चलचित्र पनि कुनै दिन आउँछ होला । अहिले त म, चलचित्र क्षेत्रमा बाँच्ने रहरका लागि मात्र काम गरिरहेको छु ।

७. अन्त्यमा, किस्मत २, कस्तो चलचित्र हो ? निर्देशकको नजरमा यो चलचित्र किन चल्नुपर्छ ?
चल्नुपर्छ भन्ने एउटा विश्वास हो । चलचित्रको व्यापार यस्तो नै हुनुपर्छ भन्ने छैन । यो चलचित्रलाई मनपर्ने बनाउनका लागि विभिन्न कोणबाट कोशिश गरिएको छ । यसको कथा, पटकथा राम्रो छ । उपल्लो मुस्ताङमा जन्मिएकी आरती नाम गरेकी यूवतीको चरित्रले गाउँदेखि काठमाण्डौसम्मको यात्रा कसरी तय गर्छ भन्ने चलचित्रमा देखाइएको छ । लोकेशनलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । गीतसंगीत पनि उत्कृष्ट बनेका छन् । जसकाकारण पनि यो चलचित्र छल्छ भन्नेमा ढुक्क छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment