Comments Add Comment

‘टीका रद्द भए पनि बिरामी बाँचेर फर्केको देख्दा खुशी लाग्छ’

bhagwan koirala_810

 चर्चित मुटु रोग विशेषज्ञ तथा सर्जन डा. भगवान कोइरालालाई हामीले सोध्यौं, डाक्टरहरुले दशैं कसरी मनाउँछन् ? २० वर्षदेखि मुटुका बिरामीको शल्यक्रिया गर्दै आएका डा. कोइरालाले यति मार्मिक संस्मरण सुनाए कि टीका लगाउन ठिक्क परेका बेलामा समेत टीका रद्द गरेर हिँड्नुपर्दोरहेछ चिकित्सकले ।

डा. कोइराला बिरामीको सेवामा हरपल दत्तचित्त हुन्छन् । उनी आफ्नो पुरै समय विरामीलाई दिन्छन् । चाडवाडका बेलामा पनि घर परिवार नभनी उनी अस्पतालमा व्यस्त हुन्छन् ।

यद्यपि उनलाई यसमा कुनै गुनासो छैन । आफ्नै कारणले एकजना बिरामीको ज्यान बच्यो भने त्यो नै डाक्टरका लागि खुशीको विषय बन्दोरहेछ ।

डा कोइरालासँग हामीले प्रश्न गर्‍यौं,
यस वर्षको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?

सामान्यतया, मेरो दशैं भनेको विरामीहरुको चापमा निर्भर गर्छ । हुन त दशैंमा हामीलाई ३/४ दिन औपचारिक विदा पनि हुन्छ । भर्ना भएका विरामीहरुलाई हेर्ने बाहेक दशैंमा नियमित अपरेशन खासै गरिँदैन । तर, यसबीचमा आकस्मिक शल्यकृया गर्नुपर्ने विरामीहरु आउने गर्छन् । कहिलेकाहीँ भएकै विरामीको पनि स्वास्थ्य अवस्था अचानक बिग्रिएर शल्यक्रिया नै गर्नुपर्ने भइरहेको हुन्छ । त्यसका लागि हामी तयारी अवस्थामै बस्छौं ।

धेरै वर्षपछि यसपालि चाहिँ म नवमी र दशमी गरी दुई दिनका लागि पाल्पा जाने योजनामा छु । त्यो पनि यहाँको स्थिति शान्त भयो र शल्यक्रियाका लागि अन्य तीनजना डाक्टर उपलब्ध हुनुभयो भने । उहाँहरुले यहाँको सबै अवस्था हेरिदिनुभयो भने दुई दिन पाल्पा जाने भनेको हो । दशैंमा टीका लगाउनकै लागि भनेर हामी कहिल्यै पाल्पा जान पाउँदैनौं।

साँच्चै भन्नुपर्दा दशैं र तिहार भनेर अहिलेसम्म चोखो छुट्टी मनाउन पाएको छैन । योपटक कस्तो हुन्छ, अहिले नै भन्न गार्‍हो छ ।

घरमा खसी काटिन्छ ?

खसी नै त काटिँदैन । बाबा खानुहुन्छ, आमा त मासु नै खानुहुन्न ।

दशैंलाई कसरी लिनुहुन्छ ?

ममात्रै हैन, मेरो परिवारले नै दशैंलाई भेटघाट र एकछिनको जमघटका लागि मात्रै लिने हुँदा दशैंलाई हामी खासै पीडाका रुपमा लिन्नौं । किनकि दशैं मान्न नपाउनुको कारण पनि त राम्रै हुन्छ ।

तपाईलाई मनपर्ने चाड कुन हो ?

भन्न त सबैजना तिहार भन्छन् । तर, मलाई मनपर्ने चाड दशै नै हो । दशैंमा सबैजना एकै ठाउँमा जम्मा हुने र आपसमा भेटघाट हुने गर्छ ।

यसपालि तपाईको दशैं कसरी बित्छ ?

हामी कोइरालाहरुको ठूलो परिवार छ । त्यो हुदाँ कहिले को बित्ने, कहिले कसको जूठो पर्ने भइरहन्छ । त्यसैले गर्दा धेरैजसो दशैं त यत्तिकै खेर गइरहेको हुन्छ ।

सामान्य अवस्थामा अस्पतालमा विरामीको चाप कम भएका बेला आफ्ना लागि समय भयो भने म आफैं आएर विरामी हेरिदिन्छु । मेरो घर नजिकै रहेकाले मलाई अस्पताल आउन खासै समस्या पनि हुँदैन । त्यतिबेला आउँछु, बिरामीको जाँच गर्छु र फर्कन्छु । त्यसपछि पनि समय बाँकी रह्यो भने मलाई टेनिस र गल्फ खेल्न मन लाग्छ । विशेष गरी छुट्टीमा अस्पतालको चाप कम हुने भएकाले खेलमा धेरै समय बिताउन पाइन्छजस्तो लाग्छ ।

पाल्पा जाने कि काठमाडौंमै ?

बुबाआमा हामीसँगै काठमाडौंमा बस्नुहुन्छ । त्यसबाहेक हामी तीनजना दाजुभाइ तथा तीन दिदीबहिनी छौं । म, मेरी श्रीमती र एक छोरा छन् ।

बुबाआमा पाल्पामा हुँदा दशैंमा कतिपटक जानुभयो ?

म शल्य चिकित्सक भएकै झण्डै २० वर्ष भयो । त्यसयता हामी धेरैजो दशैं काठमाडौमै मनाउँदैछौं । पुख्र्यौली घर पाल्पा भए पनि हामी दशैंकै लागि भनेर ३/४ पटकमात्र गयौं होला ।

यसपालि बुवाआमाको योजना अनुसार उता जाने कार्यक्रम बनाएका हौं । तर, त्यो पनि के हुन्छ, अहिले नै भन्न सकिँदैन । तैपनि एक दिन अगाडि वा पछाडि गइन्छ भन्ने कुरामा आशावादी छु ।

Dr Bhagwan koirala (3)

टीका लगाउन कहाँ-कहाँ जानुहुन्छ ?

मामाघर पाल्पामै छ । काठमाडौंबाट टीका लगाउनै भनेर प्रायः गइँदैनथ्यो । हाम्रो चलनअनुसार हामी टीका लगाउन जाँदैनौं । बरु एकै ठाँउमा भेला हुन्थ्यौं । सानादेखि ठूलासम्मलाई त्यहीँ टीका लगाइन्थ्यो । त्यसपछि अर्को ठाँउमा गएर टीका लगाउने हाम्रो चलन छैन ।

हामी पाल्पामा हुदाँ पनि घरको जेठोबाठोका घरमा जम्मा हुने र एकै ठाउमा टीका लगाउने गरिन्थ्यो । यसले सबैलाई सजिलो पनि बनाउँछ । यो चलन ठीक पनि हो । सबै भेला भयो । टीका लगायो । खाना खायो । सकियो । यसो गर्दा अन्त कतै जानै पर्दैन । कहिलेकाहीँ एक/दुई ठाउँमा जाने अलग कुरा हो ।

चाडबाडमा राम्रोसँग छुट्टी नपाउँदा कस्तो महसुस हुन्छ ?

मलाई छुट्टी नपाएकोमा कुनै गुनासो छैन । कहिलेकाहीँ मुटु फुटेको, रगत जमेको लगायतका जटिल समस्या लिएर बिरामी आउने गर्छन् । त्योबेला जटिल समस्या भएका बिरामी आइहाले भने शल्यक्रियाका लागि म आफैं पनि खट्नुपर्ने हुन्छ ।

तिहारकै कुरा गर्नुपर्दा टीका लगाउन ठिक्क परेका बेला एकघण्टा अगाडि फोन आएपछि त्यतिकै उठेको छु । टीकै रद्द गर्नुपरेको अवस्था पनि छ । त्यतिबेला टीका रद्द भए पनि बिरामी बाँचेर फर्केको देख्दा खुशी लाग्छ ।

त्यसैले यसबारे न कुनै दुःखमनाऊ छ । न यो हाम्रा लागि कुनै ठूलो कुरा हो । हो, अप्ठेरो भने अवश्य नै हुन्छ । भाइटीकामा बहिनी कुरेर बसिरहेका बेला ‘ल , मलाई अस्पताल जानुपर्‍यो’ भनेर उठ्दा नमज्जा त हुन्छ । त्यतिबेला, ‘ल भैगो, अहिलेलाई छोडौं, पछि टीका लगाउँला’ भनिन्छ । तर, त्यो ‘पछि’ (वर्ष दिनमा एकपटक आउने चाड ) फेरि कहिले आउँला र ?

त्यस्तो बेलामा त नरमाइलो लाग्छ होला हैन ?

हैन, हैन, हैन । त्यो भनेको हाम्रा लागि सामान्य हो । फेरि त्यस्तो अवस्था आइहाल्यो भने पनि नराम्रो मान्नुहुँदैन । त्यसलाई नराम्रो मान्ने पनि कसरीे ?

एकछिनलाई त बेमज्जा हुन्छ । योजना अनुसारको काम नहुदाँ केही क्षणका लागि बेमज्जा हुनु स्वाभाविकै पनि हो । तर, अस्पतालमा काम गरिसकेपछि आकस्मिक शल्यक्रियाले गर्दा योजना परिवर्तन भैरहन्छन् । विशेष गरी ठूल्ठूला समस्या भएका बेला म अस्पताल आइरहने भएको र आउनुपर्ने स्थिति पनि सिर्जना हुने गरेकाले बेलाबेलामा मेरो योजना अप्ठ्यारोमा परिरहन्छ ।

तर,त्यो अवस्थालाई लिएर न मलाई कुनै गुनासो छ, न त परिवारलाई नै । बरु त्यस्तो बेलामा विरामीलाई बचाएर घर पठाउन पाएदेखि नै ज्यादा खुशी लाग्छ ।

फेरि, दशैं तिहार मनाउने भन्ने क्रेज पनि मलाई कहिल्यै भएन । मनाउन पाए रमाइलो । विरामीकै कारण मनाउन पाइएन भने पनि दुःख लाग्दैन । किनकि त्यो भनेको अर्काको झन ठूलो समस्या हो । कुरा यत्ति हो कि बिरामीहरु आए, मलाई अस्पताल आउनुपर्‍यो । हैन भने आउनु परेन । म काठमाडौमै छैन, वा देशमै छैन भने त त्यो कुरा मेरो हातमा रहँदा पनि रहेन । त्यतिबेला यहाँ भएकै साथीहरुले त्यो अवस्थालाई सम्हालिदिनुहुन्छ । काठमाडौमै छु र ठूल्ठूला एवं गम्भीर अवस्था आएको खण्डमा म जहिल्यै पनि उपस्थित हुुन्छु नै । मलाई अस्पताल आउनुपर्‍यो भनेर दुःख लाग्दैन ।

यहाँले चिकित्सकका रुपमा काम गर्न थालेको झण्डै २५ वर्ष भएछ । त्यसबेला देखि अहिलेसम्म कतिवटा दशैं आफ्नो योजना अनुसार मनाउन पाउनुभएको छ ?

मैले काम सुरु गरेको सन् १९८९ देखि हो । त्यो बेलादेखि यति नै मनाइयो भन्ने रेकर्ड राखिएको छैन र सोचेको पनि छैन । यति हो, योजना अनुसारको दशैं मनाउने क्रम थोरै मात्र हुन्छ । धेरैजसो त सोचेभन्दा फरक नै भइरहेको हुन्छ । तर, त्यसो भन्दैमा विदामा पनि अस्पताल बस्ने भन्ने हुँदैन । तर, यही गर्छु र यसरी नै गर्छु भन्नेहरुका लागि यो डाक्टरी पेशा नै काम लाग्दैन ।

हामी त उपलब्ध भएसम्म हामी छौं भन्ने मन्त्र लिएरै बाँचेका मान्छे हौं । र, काम पनि त्यसरी नै गर्छौं । त्यो भनेको त काम सकिनासाथ जान पाइन्छ है, भन्नु पनि त हो । हामीले त्यो आफै बुझेर काम गर्ने हो । यो सबै अवस्थाका लागि हामी डाक्टरहरु तयार छौं । (हाँस्दै)

यतिसम्म कि हामी डाक्टरहरु दशैं लगायतका विदा मनाउन पनि तयार छौं । ढिला गएर मनाउन पनि तयार र मनाउनै पाइएन भने त्यसका लागि पनि तयार छौ ।

भनेपछि डाक्टरले दशैंमा ससुराली जान पनि समय नपाउने रहेछन्….

Dr Bhagwan koirala (1)

हेर्नाेस्, मेरा ससुराली, मेरी श्रीमती भनेका धेरै ठूला व्यक्तित्व हुन् । ससुरालीले सबै कुरा बुुझेर नै मलाई छोरी दिएका हुन् । श्रीमतीले पनि बुझरै मलाई छानेकी हुन् । त्यतिबेला नै मैले मुटुको शल्यक्रिया सुरु गरिसकेको थिएँ । त्यो हिसाबमा पनि उनीहरुले सबै कुरा बुझेका थिए । यति हो कि म यस क्षेत्रमा यसरी हराउँछु भन्ने कुराचाहि म आफैंले पनि सोचेको थिइँन ।

विशेषगरी गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मैले धेरै वर्ष काम गरेर बिताएँ । त्यो एउटा कुरा थियो । तर, सुरु सुरुमा नतिजा पनि नआउने, मान्छे पनि नआउने हुदाँ विवाह गरेका केही वर्ष केही अप्ठेरो पनि भयो । (हाँस्दै)

अर्थात गंगालाल बनेपश्चात्त त भगवान कोइराला कहाँ थियो भन्ने कुराको जवाफ सबैले त्यसैमा देखिहाले । तर, जतिबेलासम्म गंगालालले अकार लिएको थिएन, र गंगालालकै कारण मानिसले मलाई चिनेका थिएनन्, त्योबेलासम्म त यसबारे बजारमा केही पनि चर्चा थिएन त्यसबेला सबैले मलाई ‘यो कता-कता गइरहन्छ ? खाली अस्पतालमै हराइरहन्छ’ भन्ने पनि गर्थे । तर, ०६२/०६३ मा जब गंगालालले आकार लियो, त्यसपछि त सबैले म हराउनुको कारण गंगालालभित्रै लुकेको पाए ।

अचेल आफुलाई कत्तिको समय दिनुहुन्छ ?

समयको कुरा गर्दा यहाँ बढी केन्दि्रत हुुने सम्भावना बढ्दै गएको छ । यसहिसाबले अन्य कुरालाई समय कम दिए पनि हुने भएको छ । त्यो भनेको कार्यालय समय बाहेकको समय हो ।

कार्यालय समयमा त यसै पनि उपस्थित हुनु नै पर्छ । तर, त्योसँगै अहिले अन्य अध्ययन, अनुसन्धानलगायतका विभिन्न क्रियाकलापहरुमा संलग्न हुने क्रम पनि बढ्दो छ । यसले गर्दा आफ्नै लागि भनेर बचाउने समय त धेरै कम पाइन्छ । तर, पहिलेजस्तो कामको बोझचाहिँ उठाउनुपरेको छैन । यस अर्थमा कामको भार कम हुँदै गएको महसुस हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment