Comments Add Comment

हेल्लो सरकारले सुनेन, कसलाई हेल्लो भन्नु ?

हेल्लो सरकार भन्छ- दशैंमा समस्या परे ११११ मा फोन गर्नुस्

hello sarkar (1)

२६, असोज, काठमाडौं । दशैंका बेला कुनै अप्ठेरोमा पर्नुभएको छ कि ? तपाईको जस्तोसुकै समस्या पनि प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकारलाई सुनाउन सक्नुहुन्छ ।

‘११११’ मा फोन गरेर कुनै अपराधिक घटनाक्रम भएमा, झगडा परेमा वा कसैबाट ठगिएमा हेलो सरकारलाई जानकारी दिन सकिन्छ ।

लगत्तै हेलो सरकारले नजिकको प्रहरी वा सम्वन्धित कार्यालयलाई फोन गरी समस्या सल्टाउन निर्देशन दिन्छ । दशैं विदाको समयमा पनि हेलो सरकार सञ्चालनमा ल्याइएको सरकारले बताएको छ ।

‘विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म जुन सुकै माध्यमबाट हेलो सरकारमा गुनासो गर्न सकिन्छ, हेलो सरकार इकाइका उपसचिव प्रद्युम्न उपाध्यायले भने, दशैंका बेलामा गाडीले बढी यात्रु बोकेमा, बढी भाडा लिएमा वा कुनै सामाजिक अपराध वा दुर्घटना भए तत्काल हेलो सरकारलाई फोन गरेमा हामी समाधानका लागि पहल गर्छौं ।’

हेलो सरकारलाई ११११ नम्बरमा फोन गर्दा पैसा लाग्दैन । जनताको समस्या सुनेर समाधानका लागि काम गर्ने उद्देश्यले हेलो सरकार गठन भएकाले दशंै विदाको समयभरि पनि हेलो सरकार पूर्णरुपमा सञ्चालनमा आइरहेको हेलो सरकार इकाइले बताएको छ ।

कसरी चल्दैछ ?

दशैं विदाभरि बिहान ७ बजेदेखि २ बजेसम्म र दिउँसो २ बजेदेखि राति ९ बजेसम्म चार-चार जनाका दरले ८ जना कर्मचारी खटाइएको छ । यस अवधिमा नीतिगत विषयमा आएको उजूरी रेकर्ड गरेर राखिएका छन् भने नागरिकले आफु ठगिएको, दुर्घटनामा परेको वा यस्तै तत्काल समाधान गर्नुपर्ने विषयमा गुनासो गरे सम्वन्धित पक्षलाई तत्कालै निर्देशनात्मक जानकारी दिने गरिएको छ ।

जस्तै विद्युत आपूर्ति बन्द भएको गुनासो आएमा हेलो सरकारले विद्युत प्राधिकरणलाई उक्त समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिने बताइएको छ ।

कुनै जिल्लामा सडक दुर्घटना भएमा वा गाडीले क्षमताभन्दा बढी यात्रु बोकेको गुनासो आएमा त्यहाँबाट नजिक रहेको प्रहरी चौकीलाई त्यसबारे जानकारी र आवश्यक निर्देशन दिने गरेको छ । यस्तै जिल्लाका सन्दर्भमा ठूलो दुर्घटना भएमा सिडियो मार्फत निर्देशन दिने गरी हेलो सरकारले काम गरिरहेको छ ।

अनलाइनखबरसँग कुरा गर्दै उपसचिव प्रद्युम्न उपाध्यायले भने, दुई बर्षदेखि मैले हेलो सरकारलाई एक दिन पनि बन्द हुन दिएको छैन, दशैंको विदाको समयमा अस्पतालमा चिकित्सक नभेटिएमा वा यस्तै समस्या परे सिधै हामीलाई सम्झनुस् ।’

राति नौ बजेपछि भने कुनै पनि गुनासो सम्बोधन गर्न नसकिने हेलो सरकारले बताएको छ । त्यस्तो समयमा प्रहरीलाई उजूरी वा गुनासो गर्न पनि हेलो सरकारले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

हेल्लो सरकारले सुनेन, कसलाई हेल्लो भन्नु ?

सरकारका अंगहरुले काम नगरेको वा अपराधिक घटना भएको जानकारी दिनुपर्ने हेल्लो सरकारको डेस्कमै बसेका कर्मचारीले आफूहरुलाई रेस्पोन्स नगरेको गुनासो पनि कतिपय उपभोक्ताले गरेका छन् ।

चितवनबाट एक नागरिकले अनलाइनखबरमा फोन गरेर भने- ‘मैले आफ्नो गुनासो सुनाउन ११११ नम्बरमा फोन गर्दा कर्मचारीहरु फोन होल्डमा राखेर हाँसेर बसे, मेरो गुनासोको कुनै सुनुवाइ नै गरिएन । हेल्लो सरकारले नै काम नगरेपछि कसलाई हेल्लो भन्नु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment