Comments Add Comment

हेलिकोप्टरमा चढाउन नसक्दा गर्भवतीको ज्यान गयो

आकाशमा हेलिकोप्टर घुमिरह्यो, धर्तीमा पेमा छटपटाइरहिन्

helicoptar taplejung 2
२८ असोज, ताप्लेजुङ । विहीबार दिउँसो ताप्लेजुङको पापुङकी ४० वर्षीया पेमा शेर्पालाई सुत्केरी व्यथाले च्याप्यो । त्यहाँका बासिन्दाको नियति नै यस्तै हो, सुत्केरी गराउने स्वास्थ्य संस्थासम्म पुग्न हेलिकोप्टर मगाउनैपर्छ । पेमालाई अस्पताल लैजान मनाङ एयरको हेलिकोप्टर भाडामा झिकाइयो ।

प्रशव पीडामा छटपटाइरहेकी गर्भवती महिलालाई लिन आएको हेलिकोप्टर दुईपटक पापुङमा अवतरणको प्रयास गरिए पनि खराब मौसमका कारण गाउँमा ओर्लन सकेन ।

एकातिर पेमा छटपटाइरहेकी थिइन्, अर्कोतिर हेलिकोप्टर आकाशमा फनफनी घुमिरहेको थियो । परिवारजनहरु चिन्ताले छटपटाइरहेका थिए ।

पापुङमा ओर्लिन नसकेको हेलिकोप्टर अर्को गाउँमा खोक्लिङस्थित विद्यालयको प्राङ्गणमा ओलिएयो । मौसम खराब थियो । पटक-पटकको प्रयासमा पापुङमा ओर्लन नसकेपछि सो हेलिकोप्टर राति ताप्लेजुङ सदरमुकाममा फर्कियो । र, रातभरि भानुजन उच्च माविको प्राङ्गणमा बास बस्यो ।

शुक्रबार बिहान त सो हेलिकोप्टर पक्कै पनि पापुङमा अवतरण हुन सक्थ्यो होला । तर, राति एक बजेतिर प्रशव वेदनामा छटपटाइरहेकी पेमाले प्राण त्यागिन् । राति नै गर्भवतीको मृत्यु भएपछि हेलीकोप्टर शुक्रबार विहान साढे १० बजे काठमाडौं फर्किएको छ ।

helicoptar taplejung
मृतकका काका नुपु शेर्पाका अनुसार पेमालाई सुत्केरी व्यथा लाग्नासाथ काठमाडौबाट मनाङ एयरको हेलीकोप्टर मगाइएको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर गाउँमा पुग्न सकेन ।

ताप्लेजुङका ओलाङ्चुङगोला, लेलेप, पापुङलगायतका विकट गाविसका वासिन्दाहरु गर्भवती भएमा सुत्केरी गराउनका लागि यसैगरी हेलीकोप्टर मगाएर अस्पताल लैजानुपर्ने बाध्यता छ ।

गाउँगाउँमा स्वास्थ्य संस्था र अहेवहरुको अभावमा गाउँमै सुत्केरी गराउने स्थिति छैन । यसले गर्दा समयमै उपचार नपाई ताप्लेजुङका दुर्गम गाविसका गर्भवतीहरुले पेमालेजस्तै अकालमै ज्यान गुमाउनु परिरहेको छ ।

प्रत्येक गाविस र ईलाकामा स्वास्थ्य चौकी भए पनि भवन, उपकरण र स्वास्थ्यकर्मीको अभावमा स्थानीयले उपचार सेवा पाउन सकेका छैनन् । स्वास्थ्यमन्त्री गगन थापाले महत्वाकांक्षी योजनाहरु पस्किइरहेका बेला सर्वसाधारणको पीडा भने यस्तो कहालीलाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment